पश्चिमाञ्चलमा पनि महिला र बालबालिका नै पीडित


प्रकाशित मिति :2016-02-21 11:00:17

महिला खबर

पोखरा । मानवअधिकार उल्लघंन र ज्यादतीबाट महिला र बालबालिका सबै भन्दा बढी पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले सार्वजनिक गरेको वर्ष पुस्तक २०१६ मा उल्लेख छ ।  इन्सेकद्वारा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०१६ को क्षेत्रीय स्तरबाट सार्वजनिकिकरण कार्यक्रममा बोल्दै इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले सन् २०१५ मा  पश्चिमाञ्चल क्षेत्रको मानवअधिकार अवस्था सन्तोष जनक नरहेको र महिला र बालबालिका बढी पीडित रहेको बताउनु भयो ।

उहाँले अघिल्लो वर्षको तुलनामा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सङ्ख्यात्मक रुपमा केही कमी आएपनि उल्लङ्घनको प्रकृतिमा भने सुधार नआएको बताउनुभयो ।  यो वर्ष २४ जना महिलाको हत्या भएकोमा घर परिवारबाट मात्रै १९ जना महिलाको हत्या हुनु महिला हिंसाको चरम रुप भएको बताउनुभयो । इन्सेकको अभिलेख अनुसार पश्चिमाञ्चल क्षेत्रमा सन् २०१५ मा ४ सय ३७ जना महिला सहित ५ सय ५७ जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका छन् ।

मानवअधिकार उल्लङ्घनमा राज्यपक्षबाट ९ जना महिला सहित ७३ जना र  गैरराज्यपक्षबाट ४ सय २८ जना महिलासहित ४ सय ८४ जना पीडित भए । यस अवधिमा राज्यपक्षबाट ३ जना महिलासहित ८ जनाको गोली, लाठी प्रहारबाट हत्या भयो भने गैरराज्यपक्षबाट २१ जना महिलासहित ४१ जनाको हत्या भएको छ ।

INSEC Pokhara YB 2016 Release program (2)

यो वर्ष भएका घटनामा बालबालिका र महिला सवैभन्दा बढी पीडित भएका छन् । बालअधिकार बाट १ सय ६४ जना बालबालिका, महिला अधिकारबाट २ सय ४६ जना महिला पीडित भएका छन् । अघिल्लोवर्ष सन् २०१४ मा पश्चिमाञ्चल क्षेत्रमा ७ सय ९९ जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएकोमा  राज्यपक्षबाट १ जनाको गोली प्रहारबाट हत्या भएको थियो भने गैरराज्यपक्षबाट २५ जना महिलासहित ४० जनाको हत्या भएको अभिलेखमा उल्लेख छ ।

कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश अनन्तराज डुम्रेले नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१६ मानवअधिकार र कानुनी शासनका सवालमा महत्वपूर्ण दस्तावेज भएको भन्दै वर्ष पुस्तकलाई अझै विश्वसनीय बनाउनका लागि घटनाको सत्य, तथ्य, सुचनामा शुद्धता र निष्क्षतामा जोड दिनु पर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि सबैले आफ्नो अधिकार सहितको कर्तव्य पालना गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सेनाले  महिला हिंसाका घटना प्रहरीमा मिलापत्र हुने प्रवृतिका कारण हिंसाका घटना बढेको बताउनु भयो । उहाँले नेपालको अनुसन्धान पद्दती व्यवस्थित हुन नसक्दा मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, पुनरावेदन अदालत बार एशोसिएसन पोखराका अध्यक्ष खगेन्द्रराज आचार्य, महिला तथा बालबालिका कार्यालयकी अधिकृत विन्दु भण्डारी,शान्तिका लागि नागरिक समाजको सञ्जालकी संयोजक सरलाकुमारी पाण्डे, स्थानीय शान्ति समितिका संयोजक रामजी बराल, महिला मानवअधिकार रक्षक सञ्जालकी संयोजक सरिता थापा लगायतले हिंसाको तथ्यांक डरलाग्दो भएको भन्दै कारणको खोजी गरेर न्यूनिकरणमा पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रकाशित मिति २०७२ फागुन ९ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: