महिला खवर
मोरङ। धामी झाँक्रीसँग मिलेर दश महिने बालककी आमालाई बोक्सीको आरोप लगाउँदै अमानवीय यातना दिएर मानव मलमुत्र खुवाउने प्रयास गर्ने मोरङ होक्लाबारीका एकैपरिवारका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५५ बर्षीय छत्रबहादुर भण्डारी, ३० वर्षीया रोशन भण्डारी, छत्रबहादुर भण्डारी, मन्दिका भण्डारी र जानुका कोइराला रहेका छन्।
आफ्नै श्रीमानको सामुन्ने बोक्सी भन्दै अमानबिय अत्याचार सहनुपरेपछि गाउँका सहयोगी मार्फत इलाका प्रहरी कार्यालय रंगेलीमा पीडित यशोदा डोटेलले सुसुरा छत्रबहादुर, श्रीमान रोशन जेठाजुजेठानी र नन्दविरुद्ध किटानी जाहेरी दिएकी हुन्।
प्रहरीले घटनामा संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। ईप्रका रंगेलीले धामीकै कारण घटना भएको पाइएकोले महिला धामीलाई पनि ईप्रका ईटहरीको सहयोगमा पक्राउ गरिसकिएको जानकारी दिनुभयो। उनीहरूले धामीले बोक्सी भनेकै कारण १० महिने बालककी आमा २३ वर्षीया यशोदा डोटेल (भण्डारी) लाई बोक्सी भन्दै अमानवीय याताना र कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरेका थिए।
दुईवर्ष अघिमात्र होक्लाबारीका रोशन भण्डारीसँग प्रेम विवाह गरेकी यशोदालाई परिवारका सदस्यले बोक्सी भन्दै शंका गर्ने गरेका थिए। यशोदा बुहारी बनेर घरमा आएपछि परिवारका सदस्य पालैपालो बिमारी पर्न थालेको भन्दै सुसुरा छत्रबहादुर लगायतले उनलाई घरमा बोक्सी भित्रिएको भन्दै शंका गर्न थालेका थिए।
परिवारका सवै सदस्यले यशोदामाथि बोक्सीको शंका गरेपछि बोक्सी हो होइन भनेर गाउँका मात्र नभएर छिमेकी जिल्लाका कहलाएका मानिने महिला धामीलाई जोखाना हेराउन लगाएका थिए। धामीले पनि बुहारी यशोदा बोक्सी नै हो भनेर किटान गर्दै आफूले बोक्सी प्रमाणित गरेर देखाइदिने विश्वास दिलाए पछि छत्रबहादुर र उनका परिवारका सदस्यले ६ फागुनमा घरमा धामी राखेर समाजका अगाडी यशोदालाई …म बोक्सी हुँ’ भनेर बकाउन लगाएको पीडितले बताइन्।
धामीले अनेक मन्त्र जपेपनि यशोदाले आफू बोक्सी हुँ भनेर नबकेपछि ती महिला धामीले मन्त्र लगाउँदा पनि यशोदाको जीउमा धामी नचढेको र काम्न पनि नथालेकोले धामीको शक्तिलाई जित्ने कडा बोक्सी भएको भ्रम फैलाइन्।
त्यसपछि घरभित्रै बोक्सी पसेको भन्दै यशोदालाई ससुरा, जेठानी, जेठाजु र नन्दले सबैका अगाडी कुटपिट गरेर मलमुत्र खुवाउने प्रयास गरेका थिए। तर, यशोदासँगै गाउँलेहरूले प्रतिकार गरेकोले मलमुत्र भने खुवाउन नपाएको यशोदाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छन।
जाहेरी अनुसार गाउँमा साँझ धामी राखेर सबैका अगाडी बोक्सी भनेर बुवा , दाजुभाउज्यु र बहिनीले दश महिने छोरा काखमा लिएकी आफ्नै श्रीमतीलाई कुटपिट गरेर मलमुत्र ख्वाउन खोज्दा समेत यशोदाका श्रीमान रोशनले धामीले तेरी श्रीमती बोक्सी नै भएको भनेकाले त्यसमा विश्वास गर्दै अमानविय अत्याचार भइरहँदा कुनै प्रतिबाद नगरि मलमुत्र खुवाउने अनुमति दिएको थिए।
प्रकाशित मितिः २०७२ फागुन ११ गते मंगलवार
Comment Here!