बदलिए कृषक महिलाका प्राथमिकता


प्रकाशित मिति :2016-02-24 11:34:32

कृषक महिलाका प्राथमिकता बदलिएका छन्। उनीहरूलाई अब उत्पादित सामग्री बजारसम्म लाने र बिक्री वितरण गर्ने ज्ञान चाहिएको छ। यातायातमा पहुँच, प्रविधि तथा बजार प्रर्वद्धनको जानकारी लिएर उनीहरू आफ्ना उत्पादन सजिलै बजारसम्म लैजान र बिक्री गर्न चाहन्छन्।

सुशिला बुढाथोकी

Sushila budhathokiकाठमाडौं। टोखा नगरपालिका– १ की शान्ता अधिकारी (३६) केही वर्ष अघिसम्म अरुको अगाडी बोल्न र आफ्नो कुरा राख्न धक मान्थिन्। अहिले उनी आफ्ना कुरा स्पष्ट राख्न मात्र हैन स्थानीय महिलालाई समेत भेला गर्ने, बहसमा सहभागी गराउने र सामूहिक काम गर्न प्रोत्साहन गर्छिन्। यस्तो परिवर्तन उनमा त्यसै आएको होइन। स्थानीय महिला मिलेर समूह बनाएर काम गर्न थालेपछि उनको नेतृत्व क्षमता बढेको हो। हाल शिवमन्दिर महिला कृषक समूहकी अध्यक्ष समेत रहेकी अधिकारी परिवारले समेत सहयोग गरेकोले काम गर्न आत्मविश्वास र हौंसला मिलेको बताउँछिन्।

समूहबाट गतबर्ष एक लाख पचास हजार रुपैयाँ मुल्य बराबरको रायोको साग बिक्री गरेकी अधिकारी समूहका अन्य सदस्य जस्तै व्यक्तिगत रुपमा पनि आलु, सागलगायतका तरकारी खेती गर्ने र स्थानीय बजारमा बिक्री गर्ने गर्छिन्। उनी भन्छिन्, ‘सदस्य संख्या २० बाट ५० पुगिसक्यो। धेरै महिला काम गर्न इच्छुक छन्। समूहमा काम गर्दा धेरै कुरा सिक्न र सिकाउन पाईंदो रहेछ।’

Samuha

बुढानीलकण्ठ– ७ की सामान्य किसान नानु खड्का श्रेष्ठ (४३) लाई अहिले वडामा नचिन्ने कोही छैनन्। स्थानीय किसान महिला मिलेर स्थापना गरेको मेहनती महिला कृषक समूह नै उनको परिचय बनेको छ। सुरुमा लघुवित्त समूहको रुपमा पैसा जम्मा गर्ने, झिक्ने वा व्याजमा लगाउने कार्य गरेको यो समूहका सदस्यहरू हाल माछापालन, गाइपालन, कुखुरापालन, बाख्रापालन, तरकारी खेतीलगायतमा पनि लागेका छन्। श्रेष्ठ आफैँले घरछेउ १० रोपनी जग्गा भाडामा लिएर गोलभेंडा खेती, मौसमी तरकारी खेती गरिरहेकी छन्। हाल मेहनती महिला कृषक समूहकी अध्यक्ष समेत रहेकी श्रेष्ठ भन्छिन्, ‘समूहमा लागेपछि सानोतिनो खर्च धान्न सक्षम भएका छौं। समूहले मासिक बचत पनि गर्ने भएकोले सस्तो व्याजमा सरसापट लिन र दिन सजिलो भएको छ।’

टोखा नगरपालिका–१ पिंडारी गाउँकी रीता विडारी भने (४४) समूहमा लागेर व्यावसायिक रुपमा समेत कृषि गर्न पाएकोमा दंग छन्। उनी अध्यक्ष रहेको आत्मेश्वर महिला कृषक समूहले यो वर्ष ३ लाख रुपैयाँको बचत रकम सदस्यहरूलाई बाँड्यो। घरव्यवहार चलाउन आवश्यक रकम बचत गर्न शुरु गरिएको यो समूहका सदस्यहरू व्यावसायिक रुपमा कागती, सुन्तला, हलुवावेद जस्ता फलफूल खेती गर्न इच्छुक रहेको उनको भनाई छ। ‘समूहमा लागेपछि हामीलाई आफैँले केहि गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ। यसैले बढी भन्दा बढी तालिममा सहभागी हुने, सिक्ने र त्यसलाई व्यवहारमा लागु गर्ने गरेका छौं।’

टोखा नगरपालिका २ की सुशीला लामिछाने (५५) महिला समूहबाटै सहकारी स्थापना सक्षम भएकी छन्। उनी अध्यक्ष रहेको मनकामना देवी महिला कृषि समूह सहकारीमा परिणत भएको हो। महिला समूहबाटै १० लाख रुपैयाँ जम्मा गरेर स्थापना गरिएको यो सहकारीले समूहमा आवद्ध महिलालाई मात्र होइन स्थानीयलाई समेत ऋण दिन थालेको छ। समूहमा आवद्ध महिला तरकारी बाली उत्पादनमा सक्रिय छन् भने लामिछाने आफैँले पनि डेढ रोपनी जग्गामा गोलभेंडा खेती गरेकी छन्। उनी भन्छिन्, ‘समूहमा आवद्ध भएपछि धेरै महिला अगाडि आएका छन्, अगाडि बढ्न खोज्ने महिलालाई यस्ता समूहले फाइदा पुर्‍याएको छ।’

समूहमा आवद्ध भएपछि भेला हुनैपर्ने, बचत गर्नैपर्ने, आयमुलक कार्यमा लाग्नैपर्ने जस्ता नियमले महिला समूहका सदस्यको नियमित सहभागिता सुनिश्चित गरेको देखिन्छ। स्थानीय तवरमा गठित यस्ता किसान समूहलाई व्यवस्थित गर्ने, आयमुलक कार्यमा लगाउने र उत्पादनदेखि बिक्री वितरणमा किसानलाई ज्ञान दिन जिल्लास्थित कृषक समन्वय समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्दछ। टोखा नगरपालिकाका विभिन्न वडाका कृषक र कृषक सम्मिलित लालीगुराँस प्राङ्गारिक कृषक समन्वय समितिका अध्यक्ष हिराकाजी श्रेष्ठ महिलालाई चुलोचौको छोडेर विभिन्न कार्यक्रममा सहभागी हुन कठिनाई भएपनि उनीहरूको सहभागिता र क्रियाशिलता उत्साहजनक रहेको बताउँछन्। उनी भन्छन्, ‘स्थानीय कृषक समूहमा अधिकांश महिला नै छन्। व्यावसायिक रुपमा जान सके अझ धेरै महिलाले फाइदा लिन सक्छन्।’ उनका अनुसार समन्वय समितिमा महिलाका मात्रै करिब २० वटा समूह आवद्ध छन्।

उत्पादन कार्य र कार्यक्रममा बढ्दो सहभागितासँगै किसान महिलामा निर्णय गर्ने पहुँच समेत बढेको कृषि सेवा केन्द्र धापासीकी कृषि प्रसार अधिकृत शारदा ज्ञवालीको भनाई छ। उनका अनुसार निर्णय लिने तहमा पुरुषहरू नै भएपनि अहिले महिलासँग सल्लाह गर्ने परिपाटी शुरु भएको छ। शारदा भन्छिन, ‘महिलाहरू उत्पादन गर्न, बजार पुर्‍याउन र त्यसबापतको आर्थिक लाभ लिन स्वतन्त्र छन्। महिला लक्षित कार्यक्रम नभएपनि हाम्रा अधिकांश कार्यक्रममा ६० प्रतिशत सहभागिता महिलाकै देखिन्छ। अझ मेहनत गरे उनीहरू नेतृत्व तहमा समेत पुग्न सक्छन्।’
मेहनती महिला कृषक समूहकी अध्यक्ष श्रेष्ठका भनाइमा, ‘अब महिलालाई उत्पादित सामग्री बजारसम्म लाने र बिक्री वितरण गर्ने ज्ञान आवश्यक छ।’ श्रेष्ठ भन्छिन्, ‘हामीलाई अब यातायात, प्रविधि तथा बजार प्रर्वद्धनको ज्ञान आवश्यक छ जसले उत्पादन गरेका सामग्री बजारसम्म लान र बिक्री गर्न सक्षम बनाउँछ। यसले महिलाको सहभागिता अझै प्रभावकारी हुन्छ।’

प्रकाशित मितिः २०७२ फागुन १२ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: