रुपा गहतराज
नेपालगन्ज । खराव संगत, मानसिक तनाव र असफल बैवाहिक सम्बन्धका कारण दुर्व्यसनीमा किशोरीको संख्या बढदै गएको छ ।
दुर्व्यसनी पुनर्स्थापना क्षेत्रमा काम गर्दै आएका संघ–संस्थाहरूका अनुसार, नेपालगन्जमा त्यस्ता किशोरीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ । खुला सिमानाका कारण नेपालगन्जमा सजिलै लागुपदार्थ भित्रिने हुँदा युवाहरू दुर्व्यसनमा फसिरहेको यसक्षेत्रमा काम गर्ने संस्थाहरूको भनाइ छ ।
दुर्व्यसनमा फसेका किशोरीहरू सामाजिक प्रतिष्ठाका कारण खुलेर बाहिर आउन नचाहेकाले उनीहरूलाई गोप्य रुपमै परामर्श दिँदै आएको असहाय सेवा केन्द्र संघका कार्यक्रम संयोजक रबिन्द्र सिहं राठोरले बताउनुभयो ।
७ देखि १२ कक्षासम्म अध्ययन गर्ने किशोरीहरू यस्तो दुर्व्यसनीमा फस्ने गरेको राठोरकोे भनाइ छ । बाँकेमा हाल दुर्व्यसनीमा फसेका ३१ जना किशोरी तथा महिलाले सुधार केन्द्रमा उपचार गराइरहेको उहाँले जानकारी दिनुभयो । लागुऔषधको कुलतमा फसेका मध्ये धेरै मध्यम वर्गीय परिवारका किशोरी र महिला रहेका छन् ।
अहिले ७ जना किशोरीलाई नेपालगन्जबाट काठमाडौं र पोखरा सुधार केन्द्रमा राखिएको राठोरले जानकारी दिनुभयो । उहाँले धेरै जना उच्च माबिमा पढने किशोरी रहेका छन् । बाँकेमा किशोरीलाई राख्ने छुट्टै सुधार केन्द्र नहुँदा पनि काठमाडाैं र पोखरा रेफर गर्नुपर्ने बाध्यता रहेको राठोरको भनाइ छ ।
नेपालगन्जमा लागुऔषधको कुलतमा फसेका किशोरीलाई राख्नको लागि पुनर्स्थापना केन्द्र भने छैन् । तर, केही सामाजिक संस्थाले भने दुर्व्यसनीमा फसेका किशोरका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गरेका छन् । यस्तै साहारा हाउस नेपालगन्जका सञ्चालक अभिराज क्षेत्रीका अनुसार,घरायसी चिन्ता, साथीभाईको संगत र कम उमेरमा विवाह गरेर छुट्टिएका महिला दुर्व्यसनीमा फस्ने गरेका छन् ।
बाँकेमा लागुऔषध प्रयोगकर्ताहरू सुधारगृहमा राखिँदा पनि १० प्रतिशत मात्रै सुध्रिने गरेको यी सामाजिक कार्यकर्ताको भनाइ छ ।
सुधारगृहमा राखेर फर्किएका मध्ये ९० प्रतिशत लागुऔषध प्रयोगकर्ता पहिलेकै जीवनमा फर्किने गरेको उनीहरूको भनाइ छ ।
सुध्रिएर गएपनि घर परिवार र समाजले विश्वास नगर्ने गरेका कारण विरक्त भएर उनीहरू पहिलेकै जीवनमा फर्किने गरेको क्षेत्री बताउनुहुन्छ ।
प्रकाशित मिति २०७२ फागुन १२ गते बुधवार
Comment Here!