एनआरएन साउदीले भन्योः महिला कामदार नपठाऊ
महिला कामदारका लागि साउदी अरब उपयुक्त गन्तव्य हाेइन
महिला खबर
काठमाडाैं । साउदीस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले घरेलु महिला कामदार साउदी नपठाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
नेपाल सरकारले साउदी अरबसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाउन प्रक्रिया थालिरहेकै बेला एनआरएन साउदीले विज्ञप्तीमार्फत यसबारे श्रम सम्झौता अघि नबढाउन समेत आग्रह गरेको हो ।
रोजगारीका लागि साउदी अरब जाने पुरुष कामदार नै विभिन्न समस्यामा परेको र महिला कामदारका लागि समस्या झन् जटिल बन्ने भन्दै सङ्घले प्रक्रिया अघि नबढाउन सरकारसँग आग्रह गरेको हो ।
सङ्घले विज्ञप्तिमा साउदी जाने घरेलु महिला कामदारमाथि शारीरिक, मानसिक तथा यौन हिंसालगायतका घटना बढीरहेको भन्दै महिला कामदार पठाउन अघि बढाइएको श्रम सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महिला कामदारका लागि साउदी अरब उपयुक्त गन्तव्य नभएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा घरेलु महिला कामदार पठाउने कार्य तत्काल रोक्न र घरेलु महिला कामदारसम्बन्धी श्रम सम्झौता नगर्न भनिएको छ । साउदी अरबमा नेपाली महिला घरेलु कामदारका रूपमा ल्याउने प्रक्रिया र सम्झौता तत्काल अघि नबढाउन सङ्घले यसअघि श्रम मन्त्रालय, नेपाल वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय तथा साउदीस्थित नेपाली राजदूतावासलाई ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको सङ्घका अध्यक्ष नारायण पासवानले बताउनुभयो ।
सरकारले साउदी अरबसँग गर्न लागेको सामान्य पुरुष कामदार (जनरल लेबर एग्रीमेन्ट) तथा घरेलु (महिला) कामदार गरी दुवै खाले श्रम सम्झौता प्रक्रिया अगाडि बढेको जनाएको थियो ।
प्रकाशित मितिः २०७२ फागुन १३ गते बिहीवार
Comment Here!