महिला खबर
काठमाडौं। नयाँ संविधान जारी भएपछि प्रादेशिक संरचनाअनुसारको व्यवस्था गर्न विधान संशोधनका लागि मस्यौदा तयार गर्न नेपाली काग्रेंसले गठन गरेको समितिले केन्द्रीय समितिमा एक महिलासहित २ जना उपसभापति मनोनित गर्नुपर्ने सुझाव दिएको छ।
नेपाली काग्रेंस सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा १० सदस्यीय पार्टी विधान संशोधन समितिले एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित दुई उपसभापति मनोनीत, दुई महामन्त्री (एक मनोनीत), एक कोषाध्यक्ष मनोनीत र आवश्यकताअनुसार सहमहामन्त्रीसहितको ९७ जना कार्य समिति बनाउन सुझाव दिएको हो।
समितिले २५ खुला, एक महिलासहित तीनजनाका दरले प्रत्येक प्रदेशबाट निर्वाचित हुने २१ तथा महिला, मधेसी, जनजाति, दलित, अल्पसङ्ख्यक सदस्य गरी कुल ७४ पदाधिकारी र सदस्य निर्वाचित एवं २३ मनोनीत गरी ९७ सदस्यीय कार्यसमितिको मस्यौदा तयार गरेको जानकारी समितिका सदस्य सचिव जीवन परियारले दिनुभयो।
समितिले सो सुझाव पार्टीका शीर्षनेतालाई बुझाइसकेको छ। विधान संशोधनको सुझाव महाधिवेशन अघि नै केन्द्रीय समितिमा पेस गरिने र छलफलपछि महाधिवशेनको बन्दसत्रमा छलफल गरिने छ।
प्रकाशित मितिः २०७२ फागुन १३ गते बिहीवार
Comment Here!