महिला खबर
कैलाली । एमाओवादीका तत्कालीन जिल्ला जनसरकार प्रमुख थिए कैलाली, उदासीपुरकी कुष्णा चौधरीका श्रीमान विनोद चौधरी, सुरक्षा निकायले पक्राउ गरेको १४ वर्ष वितिसकेको छ । उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । उहाँलाई पक्राउ गरेपछि मैले धेरै खोजतलास गरे, कुष्णाले भनिन् ‘१४ वर्ष बितिसक्यो श्रीमानको न त सास पाइयो, न लास नै ।’
‘आफन्तहरूले काजकिरिया गर भनेर दबाब दिईरहन्छन् । छोराले हाम्रो बाबा खोई, कहिले आउनुहुन्छ ? भनेर सोधिरहन्छ । मैले नै काजकिरिया गर्न मानेकी छैन’ उनले भनिन । उनले सरकारसंग श्रीमान मारिएको भए जानकारी दिन माग गर्दै भनिन् ‘ श्रीमानलाई पक्राउ गर्ने सुरक्षा अधिकारी विरुद्ध किटानी जाहेरी दिँदा पनि सुनुवाई भएन किन ?’
कृष्णाका श्रीमान विनोदलाई २०५८ फागुन ११ गते कैलालीको रामशिखरझालाबाट नेपाली सेनाको एक टोलीले पक्राउ गरी तेघरी ब्यारेकमा राखेको थियो । त्यसको तीन महिनापछि २०५९ वैशाखदेखि उनको अवस्था जानकारी नभएको कृष्णाले बताइन् ।
कैलालीको घोडाघोडी नगरपालिकाकी राधा बिनाडी पाण्डेले १३ वर्षदेखि वेपत्ता आफ्नो दाईको बारेमा सुनाउँदै भनिन् ‘२०५९ साल पुस २६ गते तत्कालीन विद्रोही एमाओवादीले घरबाटै दाई तोयाराज पाण्डेलाई लगेर गएको थियो । यतिका वर्ष वितिसक्यो अहिलेसम्म कुनै जानकारी दिएको छ । उनले भनिन ‘मारिसकेको भए हामीलाई जानकारी गराइदिए धार्मिक विधि अनुसार अन्त्येष्टि त गथ्र्यौं ।’
कैलालीमा द्वन्द्वकालमा ३३ जना बेपत्ता भएको शान्ति मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये राज्य पक्षबाट २४ जना र विद्रोही पक्षबाट ६ जना वेपत्ता पारिएको उल्लेख छ । तर, तीन जना कुन पक्षबाट वेपत्ता पारिएको भन्ने स्पष्ट भएको छैन ।
प्रकाशित मिति २०७२ फागनु १६ गते आइतवार
Comment Here!