निर्णायक बन्दै सुजाता


प्रकाशित मिति :2016-02-29 12:35:54

संस्थापन र देउवा प्यानलको प्रतिस्पर्धा देखिएको कांग्रेस नेतृत्वमा कोइराला परिवारको लिगेसीसहित नेता सुजाता कोइरालाको दावी निर्णायक बन्दै छ ।

सइन्द्र राई

SAendra raiपार्टी सभापति सुशील कोइरालाको निधनपछि कार्यबाहक चलाइरहेका रामचन्द्र पौडेललाई संस्थापनबाट सभापति पदको उम्मेदवार बनाइएपछि १३औं महाधिवेशनबाट नेपाली कांग्रेस नेतृत्वमा कोइराला परिवार रहने छैन । १२ औं महाधिवेशनसम्म संस्थापन पराजित नभएको नजिर तोड्ने दाबीका साथ असन्तुष्ट पक्षबाट बरिष्ठ नेता शेरबहादुर देउवाको उम्मेदवारी छ भने संस्थापनबाट पौडेलको । यी दुईको बलियो प्रतिस्पर्धा देखिएका बेला नेता सुजाता कोइरालाको अडानले २०–२३ फागुनमा हुँदै गरेको महाधिवेशन थप चर्चा योग्य बनाएको छ । सुजाताको दावी पुरानै भएपनि उम्मेदवारी फिर्ता हुनसक्ने धेरैको आँकलन थियो । तर, सुजाताको अडान कायमै रहँदा संस्थापन अप्ठ्यारोमा परेको देखिन्छ ।

२६ माघमा सुशील कोइरालाको निधन भएपछि महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय नेताहरू शशांक कोइराला, शेखर कोइराला र रामशरण महतले पनि सभापति पदमा दावी गरेका थिए । यी मध्ये छुट्टै प्यानल बनाएर सिटौला चुनावी तयारीमा जुटेका बेला बाँकीले पौडेललाई साथ दिने अनुमान र प्रयास कांग्रेसभित्र भइरहेको छ । बीपी पुत्र शशांक कोइरालालाई महामन्त्रीको उम्मेदवार बनाउँदै संस्थापन चुनावी मैदानमा होमिने निर्णयमा सुजाताको भने सहमति छैन । उनी भन्छिन्, ‘धेरै अगाडि बढिसके, अव पछाडि फर्कन सक्दिनँ ।’

कोइराला परिवारबाट शशांक महामन्त्रीको उम्मेदवार भएकाले सुजाताको उम्मेदवारी फिर्ता गराउन संस्थापन पक्षका नेताहरू लागि परेका छन् । संस्थापन मिलाउने अभियानमा खटिरहेका केन्द्रीय सदस्य नारायण खड्का पौडेललाई साझा उम्मेदवार बनाइने बताउँछन् । पार्टी स्थापनादेखि कोइराला परिवारको दबदवा र नेतृत्व चल्दै आएको कांग्रेसमा शशांक दोस्रो स्थानका नेता बन्ने र अरू कोइरालाहरू बाहिरिने अवस्था बन्ने संभावना भइरहँदा सुजाताको उम्मेदवारी अर्थपूर्ण देखिन्छ ।

प्रमुख नेतामा महिला
sujata-koiralaसुशील जिवित रहँदा समेत उनी बाहेक अन्य नेताहरूको दावी संस्थापनमा बलियो थिएन । प्रभाव बढाउँदै गएका देउवासँग प्रतिस्पर्धा गर्न सुशील अन्य नेताहरूको तुलनामा सशक्त पनि थिए । तर, महाधिवेशनको सम्मुखमा उनको निधन भएपछि संस्थापनबाट आधा दर्जन नेताले सभापति पदमै दावी गर्न पुगे, जसले संस्थापन अप्ठ्यारो अवस्थामा परेको छ । सीमित पदाधिकारी रहेको कांग्रेसमा संस्थापनका सवै आकांक्षीलाई व्यवस्थापन गर्न सहज नभएपछि विधान संशोधनमार्फत पदाधिकारी बढाउने प्रयत्न देउवाको असहयोगले संभव हुन सकेन । कांग्रेसका एक नेता भन्छन्, ‘सुशीलको ठाउँ कसले लिने भन्ने लडाईँले अहिलेको अवस्था आएको हो ।’ बीपीको निधनपछि ‘त्रयनेता’का आधारमा चल्दै आएको कांग्रेसमा सुशील जिवित रहँदा समेत आरएसएस (रामचन्द्र पौडेल, सुशील कोइराला र शेरबहादुर देउवा)ले पार्टी चलाउँदै आएका थिए । अहिले उक्त स्थान लिने दौडमा आधा दर्जन नेता लागि परेका छन्, सुजातासहित ।

यो दौडमा सवैभन्दा अगाडि अहिलेका महामन्त्री कृष्णप्रसाद सिटौला छन् । उनले युवा नेता गगन थापालाई महामन्त्री बनाएर चुनाव लड्ने तयारी गरेपनि नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र रामशरण महतले पछि हट्ने संकेत गरिसकेका छन् ।  यो समीकरणले त्रयनेताका रुपमा पौडेल, देउवा र सिटौला बन्नसक्ने संभावना बढी छ । त्रय नेताका रुपमा स्थापित हुन सुजाताको उम्मेदवारी फिर्ता भए सिटौलालाई थप सहज पर्नेछ । सिटौला निकट एक नेता भन्छन्, ‘सुजाताको उम्मेदवारीले सिटौलाको रणनीति अप्ठ्यारो परेको छ ।’ कांग्रेस विधान अनुसार प्रमुख पदमा निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक छ । संस्थापनबाट पौडेल, सिटौला र कोइरालाको उम्मेदवारी परे त्यो संभव छैन । देउवा पक्षमा असन्तुष्टि कम रहेको, तर ५१ प्रतिशत पुग्न नसक्ने प्रारम्भिक अनुमान छ । यसले दोस्रो चरणमा पहिलो र दोस्रो मत प्राप्त गर्नेहरूबीच निर्वाचन गराउनुपर्दा तेस्रो उम्मेदवार निर्णायक हुन्छ । त्यो ठाउँ लिने दाउमा रहेका सिटौलालाई सुजाताको उम्मेदवारीले अप्ठ्यारो पार्ने देखिन्छ ।

उसो त सिटौला नभई सुजाता नै त्रय नेताका रुपमा स्थापित हुने संभावना पनि उत्तिकै बलियो छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्व सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेकी सुजाता देशभरका कार्यकर्ताबीच पुगिसकेकी छन् । गिरिजाप्रसाद कोइरालाकी पुत्री हुनुको अलवा सभापति पदमा दावी गर्ने महिला भएकीले पनि मत तान्न सक्ने आँकलन छ । नेपालको संविधानले व्यवस्था गरेको अनिवार्यता पूरा गर्न मात्रै महिला उम्मेदवार बनाउने प्रवृत्ति चिर्नेगरी कोइरालाको उम्मेवादरी पर्नुले पनि उनी त्रय नेताका रुपमा उभिन सक्ने बलियो आधार देखिन्छ । झण्डै ६० प्रतिशत नयाँ अनुहार महाधिवेशन प्रतिनिधि आएका मध्ये महिला संख्या उल्लेख्य छ । प्रत्येक निर्वाचन क्षेत्रबाट २ जना अनिवार्यसहित खुल्ला प्रतिस्पर्धाबाट समेत उल्लेख्य महिला प्रतिनिधि आएका छन् । खोटाङ–१, बाट प्रतिनिधि आएकी विमला राई सुजाताको उम्मेदवारी संविधान कार्यान्वयनको थालनीका रुपमा मान्छिन् ।

विधान पुरानै

१६ फागुनमा सकिएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले पुरानै विधानअनुसार महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । प्रत्येक प्रदेशबाट कम्तिमा एक महिलासहित ३ जना केन्द्रीय सदस्य हुनुपर्ने प्रस्ताव पेश भएपनि पारित हुन सकेन । विधान संशोधन मस्यौदा समिति सदस्य रहेकी पुष्पा भुसाल सहमति जुट्न नसक्दा पुरानै विधानअनुसार महाविधेशन हुन लागेको बताउँछिन् । विधान संशोधनमार्फत महिला उपसभापति राख्ने प्रस्ताव समितिमा राखिएको थियो । यो पदका लागि धेरैले सुजातातिर आँखा लगाएका थिए । विधान संशोधन नभएकाले अव सुजातासँग पुरानै विधानअनुसार चुनाव लड्नुको विकल्प छैन । कांग्रेसको विधानले एक सभापति, एक उपसभापति, दुई महामन्त्री र एक कोषाध्यक्षसहित ८५ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरेको छ ।

प्रकाशित मिति:  २०७२ फागुन १८ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: