महिला खबर
पोखरा । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले पाठेघरको मुखको क्यान्सरबाट बचाउन आईतबारदेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गरेको छ । कास्कीका दुई नगरपालिका र ३२ गाविसमा कक्षा ६ मा अध्ययनरत १० वर्षसम्मका किशोरीलाई उक्त खोप लगाईने छ ।
पोखरा उपमहानगरपालिकाका २८ वटा वडामा आईतबारदेखि २१ गतेसम्म र लेखनाथनगरपालिकाका सबै वडा र ३२ गाविसमा फागुन २२ देखि ३० गतेसम्म सो खोप दिइने कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिनुभयो ।
एचपिभी खोप तथा पाठेघरको मुखको जाँचजस्ता कार्यक्रम एकैचोटी सञ्चालन गर्ने गरी स्वास्थ्य मन्त्रालयले यसैवर्षदेखि कास्की र चितवन जिल्लामा परीक्षणका रुपमा यो अभियान सुरु गरेको हो । कास्की जिल्लाका कक्षा ६ मा अध्ययनरत करिब छ हजार ५०० र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका करिब २०० जना गरी छ ७०० जनाकिशोरीलाई सो खोप लगाइने छ ।
सो उमेरका किशोरी प्रायःजसो विद्यालयमा अध्ययन गर्ने हुनाले जिल्लामा ३४८ विद्यालय र बाहिर रहेकालाई ५५ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको छ । दुई वटा लगाउनुपर्ने यो खोप अत्यन्तै महँगो पर्ने र एकजना किशोरीलाई खोप दिँदा करिब १० हजार रुपैयाँ खर्च हुने वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । यो खोप अभियानका लागि जिल्लाका ३ सय जना स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
प्रकाशित मितिः २०७२ फागुन १७ गते साेमवार
Comment Here!