रुपा गहतराज
नेपालगञ्ज । समयमा अस्पताल पुग्न नसक्दा र अस्पताल पुगे पनि गर्भावस्थामा देखिएको जतिलताका कारण बाँकेमा यो आर्थिक वर्षमा ५ जना महिलाले ज्यान गुमाएका छन् । गतवर्ष २१ जना सुत्केरी महिलाले ज्यान गुमाएको बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. बिनोद गिरीले बताउनुभयो ।
गिरीले अझैपनि घरमै सुत्केरी गराउन खोज्दा गर्भवती महिला जोखिममा हुने गरेको बताउनुभयो । उहाँले यस्तो समस्या मधेशी र मुस्लिम समुदायमा बढी देखिएको बताउँदै भन्नुभयो ‘गत वर्षको मात्र तथ्याङ्क हेर्ने हो भने पनि मृत्यु हुने २१ जनामा ८५ प्रतिशत मधेशी मुस्लिम समुदायका महिला रहेका छन् ।’
बाँकेका बिभिन्न गाविस र नगरहरूमा गरेर ३४ वटा बर्थिङ सेन्टर रहेका छन् । त्यस्तै भेरी अञ्चल अस्पताल नेपालगञ्ज प्रसूति गराउनेको संख्या बढे पनि सेवा सुविधा पर्याप्त नभएको गुनासो छ । तर, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्यामसुन्दर यादवले सेवा लिनेको संख्या बढ्दो भएपनि राज्यले तोकेको सुविधा अस्पतालले सबैलाई दिँदै आएको दावी गर्नुभयो ।
उहाँले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म सो अस्पतालमा १ हजार ६ सय २१ जना महिला सुत्केरी भएको जानकारी दिनुभयो । यसमा जटिलता मुक्त १ सय ६९ जना सुत्केरी भएका छन् भने प्रसूति तथा सुत्केरी अवस्थामा हुने जटिलता ९५ जनामा देखिएको छ ।
शल्यक्रिया ४ सय ५० जनाले बच्चा जन्माएका छन् । अस्पतालमा गम्भीर प्रकृतिका रेफरल बिरामी आउने हुँदा समस्या देखिएको मेडिकल सुपरिटेण्डेण्ट डा. यादवले बताउनुभयो । बाँकेमा रहेका सबै गाबिसमा स्वास्थ्य केन्द्र तथा उपस्वास्थ्य चौकी स्थापना गरिएको छ ।
स्वास्थ्य संस्थामार्फत् गर्भावस्थामा नियमित चार पटक गरिने स्वास्थ्य चेकजाँच तथा हुन सक्ने खतराका बिषयमा जानकारी पनि गराईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बताउनुभयो ।
आफ्नो र बच्चाको अवस्था नियमित चेकजाँच नगर्दा पनि प्रसूतिमा जटिलता उत्पन्न हुने र मृत्यु समेत हुने गरेको भेरी अञ्चल अस्पतालका बरिष्ठ नर्स सावित्री श्रेष्ठ बताउनुहुन्छ । सरकारले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराए बापत् ५ सय रुपैयाँ भत्ता पनि दिँदै आएको छ भने सुत्केरी सेवा पनि निःशुल्क प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति २०७२ फागुन १७ गते सोमवार
Comment Here!