सञ्जिला मोक्तान
रामेछाप। महिलाको सामाजिक सुरक्षा सुनिश्चित नहुँदा महिलामाथि भएका हिँसाका घटना सार्वजनिक हुन नसकेको सरोकारवालाले बताएका छन्। राष्ट्रिय महिला आयोगले आईतबार मन्थलीमा आयोजना गरेको महिला अधिकार विषयक विद्यालयस्तरीय सचेतना कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी सदस्य भगवती घिमिरेले महिलाले हिँसा र यातना भोगिरहेका भएपनि उनीहरूको सामाजिक सुरक्षा नहुँदा त्यस्ता घटना सार्वजनिक हुन नसकेको बताउनुभयो।
महिलालाई राज्यको कानुनले प्रदान गरेको अधिकारको बारेमा जानकारी नहुँदा समेत हिँसा सहेर बस्ने गरेको उहाँको भनाई थियो। नेपालमा महिलाको अधिकारको संरक्षणको लागि धेरै नीति र कानुन बनेका भएपनि त्यसमा टेकर महिलाको अधिकार संरक्षण गर्न नसकिएको उहाँले बताउनुभयो।
कार्यक्रममा रामेछापका जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले विद्यालयमा छात्राको सहभागिता उत्साहजनक रहेको भएपनि शिक्षण पेशामा अहिले पनि महिलाको सहभागिता सन्तोषजनक नरहेको बताउनुभयो।
महिला विकास अधिकृत सुशिला वाग्लेले रामेछाप जिल्लामा ४० हजार भन्दाबढी बालिकाको उमेर नपुगि विवाह भएको जानकारी दिँदै यसैबाट महिला हिंसाको बारेमा सहजै अनुमान गर्न सकिने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, मन्थली उमाविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार श्रेष्ठ, मन्थली सहिद स्मृति क्याम्पसका प्रमुख गुञ्जबहादुर श्रेष्ठलगायतले महिला अधिकारको संरक्षणको लागि सामाजिक सुरक्षा र सचेतनाका कार्यक्रम एकैसाथ लैजानु पर्नेमा जोड दिएका थिए।
प्रकाशित मितिः २०७२ फागुन १७ गते साेमवार
Comment Here!