महिला खबर
पोखरा । पोखरा नयाँ गाउँकी १९ वर्षीया योरुना पुन (नेहा)का हत्या आरोपित सतीश भन्ने कृतन खड्गी आज जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासको आदेशले उनलाई जेल सजाय ताेकेकाे हाे । सोमबार सुरु भएको थुनछेक बहस सकिएपछि अाएकाे अदालतकाे आदेशअनुसार कृतन आज नै जेल चलान भएको अदालतका स्रेस्तेदार दीनवन्धु बरालले जानकारी दिनुभयो । कृतनलाई पछि ठहरे बमोजिम हुने गरी मुद्दाको किनारा नलाग्दासम्म थुनामा पठाइएको बरालले बताउनु भयो ।
कृतनविरुद्ध आइतबार कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दा दायर गरिएको थियो । कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबरजस्ती करणीमा ६ वर्षसम्म कैदको मागदाबी गरिएको छ । मुद्दामा नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता गंगा प्रसाद पौडेल जाहेरीवालाको तर्फबाट अधिवक्ता सुरेन्द्र थापा मगर एड्भोकेसी फोरमबाट अधिवक्ता सरला पाण्डे, ल्याक कास्कीको तर्फबाट शोभा पौडेल पराजुली र सरिता थापा, अधिवक्ता विनीता नेपाली, कल्पना भण्डारीले बहस गरेका थिए । प्रतिवादी सतीशको तर्फबाट अधिवक्ता दुर्गेशराज पन्तले बहस गरे ।
अदालत परिसरमा नेहाका आफन्त एवं साथीभाइले नाराबाजी गरेका थिए । वडा प्रहरी कार्यालय वैदामका प्रहरीले अदालतमा सुरक्षा दिएका थिए । हत्या र बलात्कारमा धेरै संलग्न भए पनि १ जनालाई मात्र पक्राउ गरी कारबाही गरिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले यसअघि पनि पोखरामा २ पटकसम्म विरोध प्रदर्शन गरेका थिए ।
नयाँगाउँ घर भइ न्युरोडस्थित स्माइल क्याफेमा कार्यरत १९ वर्षे नेहा पुनको शव माघ १९ गते बिहान उनकै घर नजिकै भेटिएको थियो । शव भेटिएलगत्तै सतीशलगायत युवालाई प्रहरीले पक्राउ गरेको थियो । अरुलाई छाडे पनि सतीशलाई थुनामै राखेको प्रहरीले माघ २५ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति २०७२ फागनु १८ गते मंगलवार
Comment Here!