महिला खबर
काठमाडौं । सभामुख ओनसरी घर्तिमगरले नेपाली महिलाले समानताको हक प्राप्तिका लागि थप सक्रिय र चनाखो हुनुपर्ने बताउनुभएको छ ।
१०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कले आइतवार राजधानीमा आयोजना गरेको विकास, समानता र सहभागिता विषयक अन्तरसंवाद कार्यक्रममा सभामुख घर्तिमगरले संविधानसभाबाट संविधान बनिसकेको अवस्थामा समानुपातिक समाबेशीताको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न र विश्वमा उदाहरणिय देश बन्न अहिले उर्बर समय भएको बताउनुभयो ।
सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समूदायका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गराउन असन्तुष्ट रहेका विभिन्न पक्षलाई वार्ताको माध्यमबाट सहमतिमा विन्दुमा ल्याउनु जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा.बिमला राई पौडेलले दिगो विकास लक्ष्य विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै सहश्रताब्दी विकास लक्ष्यलाई हाँसिल गर्न नसकेका उपलब्धिलाई प्राप्त गर्दै त्यसलाई दिगो बनाउने उदेश्यका साथ विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य अगाडि बढाइएको बताउनुभयो ।
यो लक्ष्य आफैमा नयाँ नभए पनि महत्वपूर्ण रहेकाले महिलाको मुल प्रवाहिकरण गरियो भने त्यसलाई महिलालाई मात्र फाइदा नदिएर उनीसँग जोडिएका परिवार, आफन्त , समाज र राष्ट्रलाई समेत सबै किसिमबाट फाइदा पु¥याउने तर्क गर्नुभयो ।
यस कार्यपत्रमाथि टिप्पणी गर्दै राष्ट्रिय योजना आयोगकी सदस्य डा. सुमित्रा अमात्यले महिलाको विकासका लागि विश्वले लिएको दिगो विकासको लक्ष्य आफैमा गम्भिर र महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । असमानता हटाउन हरेक तहका महिलाको सशक्तिकरण र गरिवी हटाउन आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।
सूचनाको हक कार्यान्वयन नभएका कारणले सहश्रताब्दी लक्ष्य, दिगो विकास लक्ष्य लगायतका कुनै पनि लक्ष्यमा सफलता हात पार्न नसकिएको राष्ट्रिय सुचना आयोगकी आयुक्त यशोदा तिम्सीनाले बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले समानता र सफलताका लागि शिक्षा नै मुख्य कुरा रहेको बताउनुभयो । विश्वको महान सभ्यता मात्रै नभई वौद्धिक विकासका लागि महिलाको त्यतिकै महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले संसारका महिला एकजुट हुनुपर्ने विचार राख्नुभयो ।
दिगो विकास लक्ष्यमा निकै महत्वकांक्षी लक्ष्यहरु राखिए तापनि यो नगरी नहुने भएकाले अबको पन्ध्र वर्षमा मुलुक र विश्वको अर्थतन्त्रलाई परिवर्तन गर्न यो लक्ष्य हाशील गर्नु जरुरी रहेको यूएन वमनकी स्ट्राटिजिक पार्टनरसीप स्पेसलिष्ट शरु जोशी श्रेष्ठले बताइन् ।
सोही कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले महिला उत्थानका लागि भएका कानुनको सफल कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति २०७२ फागुन २३ गते आइतवार
Comment Here!