महिला सङ्घर्षका उपलब्धि र चुनौती


प्रकाशित मिति :2016-03-08 12:32:26

ममता शर्मा नेपाल

Mamata Nepalअन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ आउना साथ हामी यसको इतिहास, पृष्ठभूमि, उपलब्धि र चुनौतीलाई सम्झन्छौँ । मानव सभ्यता र सङ्घर्षको क्रममा यी अन्तर्वस्तुले सदैव हामीलाई झकझकाइरहेका हुन्छन् । समान अधिकार स्थापित गराउन महिलाले थालेको सङ्घर्षको सचेत र योजनाबद्ध इतिहास अहिले हिसाब गर्दा चार सय वर्ष नाघिसकेको छ । कहिले जागरण फैलाउँदै, कहिले सडक–सङ्घर्षमा होमिदै समान अधिकारका निम्ति महिला सङ्गठित हुँदै आएका छन् । यस अवधिमा अवश्य पनि केही सफलता र उपलब्धि हासिल भएका छन् । यसका बाबजुद महिला मुक्ति र स्वतन्त्रताका कार्यसूचीहरू अझै धेरै बाँकी छन् । यस दृष्टिमा इतिहासको यात्रा जति नै लामो भए पनि आन्दोलन थाक्दैन, चलिरहन्छ । यो दिवसको महत्वपूर्ण अन्तर्य र सन्देश पनि यही नै हो ।

अठारौँ र उन्नाइसौँ शताब्दीतिर केही सचेत र बौद्धिक महिला वर्गीय र लिङ्गीय दुवै रूपबाट शोषित भएको निष्कर्ष निकाल्दै सङ्घर्षको मैदानमा ओर्लिएका थिए । वास्तवमा तत्कालीन समयमा उनीहरूमाथि आर्थिक तथा सामाजिक दुवै किसिमले शोषण हुने गर्दथ्यो । विशेषगरी अठारौँ शताब्दीमा औद्योगिक क्रान्ति भएपछि कलकारखानामा श्रमिकको आवश्यकता भएपछि महिलाले पनि घरको चौघेराबाट उम्केर बाहिर गई आम्दानी गर्ने नयाँ अवसर पाए । तर, त्यहाँ पनि महिलाको आशामा तुषारापात भयो । जब उनीहरूले समान काममा पुरुषभन्दा न्यून ज्याला पाउन थाले तब उनीहरू झस्किए । जब कि तुलनात्मक रूपमा उनीहरूले पुरुषभन्दा अधिक श्रम गर्दथे । यसले उनीहरूको आर्थिक तथा सामाजिक स्तर निम्न रहन पुग्यो । त्यही कुराले रन्थनिएर अब त अति भयो भन्दै अमेरिकी श्रमिक महिला सन् १८५३ मा समान काममा समान ज्यालाजस्ता नारा लगाउँदै सडकमा ओर्लिए । यो समयलाई नारीवादी आन्दोलनको इतिहासमा पहिलो धारको रूपमा लिइन्छ ।

महिला आन्दोलनको दोस्रो धार सन् १९६० देखि सुरु भयो जसले महिला समानताका साथै महिला स्वायत्ततामा जोड दियो । जसको मर्म थियो– त्यस्तो वातावरण होस् जहाँ महिलाले महिलाको रूपमा लेख्न, पढ्न र सोच्न पाओस् । उनीहरूको स्वायत्तता मागको व्याख्याले शरीर–राजनीतिसँग पनि सम्बन्ध राख्दछ । परापूर्वकालदेखि महिलाका शरीर र जीवनमाथि पुरुषले गर्दै आएको नियन्त्रण (प्रयोग, उपयोग, दुरुपयोग र शोषण) अब बन्द गर्नुपर्छ ।

त्यस्तै महिला आन्दोलनको तेस्रो धार सन् १९८० देखि सुरु भएको मानिन्छ । यसले लैङ्गिक दर्शनका साथसाथै महिला–महिलाबीचका विविधता र यसैका आधारमा हुने दमन र शोषणको व्याख्या गर्‍यो । अहिलेसम्म नारी आन्दोलनका अन्तर्वस्तु इतिहासका यिनै सन्दर्भका वरिपरि रहेका छन् ।

विश्व नारी आन्दोलनको प्रभाव नेपालमा पनि पर्‍यो । विभिन्न समयमा नेपालका महिलाले अधिकारका लागि सङ्घर्ष गरेका छन् । मुक्ति–प्राप्तिको हाम्रो आन्दोलनलाई तीनवटा चरणमा राखेर हेर्न सकिन्छ । पञ्चायतकालपूर्वको समय, पञ्चायतकाल र बहुदलीय व्यवस्था आएपछिको समय । राणाकालीन समयमा भएका महिलाका सङ्घर्षले सतीप्रथा, बालविवाह, दासप्रथाजस्ता कुरीतिमा निषेधको कानुन बनाउन पृष्ठभूमि तयार पारेका थिए । यी ठूला उपलब्धि थिए । त्यस्तै पञ्चायतकालमा विभिन्न विश्व महिला सम्मेलनमा नेपाली महिलाको सहभागिता हुनु, छैटौँ पञ्चवर्षीय योजनाबाट विकासमा महिलाको अवधारणा भित्र्याउनु महत्वपूर्ण काम थिए भने बहुदलीय व्यवस्था पुनर्वहालीपछि महिलामाथि हुने सबै प्रकारका हिंसा तथा भेदभावविरुद्धका महासन्धिमा नेपालले पनि हस्ताक्षर गर्नु अर्को महत्वपूर्ण पक्ष हो । पहिलेका केही कानुनहरू संशोधन गर्दै महिलालाई सम्पत्तिमा समान अधिकार, प्रजनन अधिकार, गर्भपतन आदिका अधिकार व्यवस्था गर्नुले महिलाको आर्थिक तथा शारीरिक पक्षलाई सशक्त बनाएको छ ।

निश्चय पनि इतिहासका विभिन्न धार वा चरणका आन्दोलनले महिलालाई सशक्त बनाउने कानुन बनाउन विश्वका हरेक सरकारलाई दबाब दिन मद्दत गर्‍यो र राम्रा कानुन पनि बनेका छन् । हाम्रै सन्दर्भमा पनि अहिलेको नयाँ संविधानले महिलाका लागि केही राम्रा व्यवस्था गरेको छ । तर, के महिलामाथि हुने भेदभाव र हिंसा कम भएका छन् ? अथवा त्यस्ता राम्रा भनिएका कानुन कार्यान्वयन हुन सकेका छन् ? वास्तवमा कानुन बनाएर मात्र राज्यले उम्किन मिल्दैन । त्यसको कार्यान्वयनको पक्षमा जिम्मेवार र उत्तरदायी हुनैपर्छ । नत्र जति राम्रो कानुन लेखिए पनि त्यो कागजको खोस्टाको रूपमा मात्र रहन्छ ।

हो, महिला आन्दोलनले महिलालाई धेरै दियो, तर पितृसत्ताले त्यो खोसिरहेको छ । आन्दोलनपछि कानुन बन्छन्, तर हिंसाका स्वरूपहरू समयअनुसार बदलिइरहेका हुन्छन् । सबभन्दा दुःखलाग्दो दृष्टान्त, अहिले भ्रुणभित्रै बालिकाको हत्या भइरहेको छ । डोल्पाजस्तो विकट ठाउँका मानिसले समेत दाइजो दिनुपर्छ भनेर लिङ्ग पहिचान गरी बालिका भ्रुण हत्या गरिरहेको खबर छ । यसले हामी धेरैलाई दुःखी बनाएको छ । छोराको मात्र चाहना राख्ने पितृप्रधान समाजले छोरीको अस्तित्वलाई नै स्वीकार नगरेको ज्वलन्त उदाहरण हो यो । त्यसैगरी अहिलेसम्म पनि पितृसत्ताले दाइजो नल्याउने महिलालाई जिउँँदै जलाइरहेछ, बोक्सीको आरोपमा यातना दिँदै छ, छाउपडीमा बसाउँदै छ र अन्य प्रकारका घरेलु हिंसा गरिरहेको छ । यस्तो भइरहँदा कानुन र संविधानका अक्षरहरू मौन छन् । अझ अर्को निकृष्ट कार्य महिलालाई यौनको साधन मान्दै छ । यतिका शताब्दीदेखि आफ्नो शरीरको अधिकारका लागि महिला लडिरहेका छन्, तर पितृसत्ताले त्यसलाई नजरअन्दाज गर्दै छ । यो कटुसत्यलाई झन्डै एक महिनाअघि पोखरामा भएको घटनाले पुष्टि गरेको छ । त्यहाँकी एक नायिकाले यौनसंसर्गको प्रस्ताव नमानेकै कारण उनको हत्या गरियो । यस्ता घटनाले समस्त नेपाली युवतीलाई झसङ्ग पार्नु स्वाभाविक हो । यी घटनाहरू समाजमा पितृतन्त्रले स्थापना गरेका विसङ्गतिका घृणित नमुना हुन् । देशको कुनाकन्दरामा घटेका, तर समाचारमा नआएका अनेकन घटना दबिएर रहेका छन् ।

अझ यसको प्रतिक्रियात्मक पाटो झनै दुःखलाग्दो छ । यही सन्दर्भमा केही समयअघि नायिका केकी अधिकारीले सामाजिक सञ्जालमार्फत आफूलाई सडकमा हिँड्दा डर लाग्ने बताएकी थिइन् । केकी अधिकारी शक्तिमा स्थापित भइसकेकी सेलिब्रेटी हुन् । उनीजस्ता महिलाको त यस्तो अवस्था छ भने लाखौँ अशिक्षित नेपाली महिलाको अवस्था कस्तो होला ? यस्ता घटनाले पितृसत्तात्मक समाजमा महिलाको दर्दनाक अवस्थाको चित्रण गरिरहेको छ । यो नै आजको नेपाली महिला आन्दोलनका लागि चुनौतीको विषय हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: