महिला खबर
काठमाडौं । २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई शिक्षा र सशक्तीकरणमा बढी लगानी गर्नुपर्ने बताउनुभएको छ । एक सय छैटौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महिलालाई केही ठाउँ र तहसम्ममात्र आरक्षण भएकाले उनीहरूका लागि अनिवार्य शिक्षा र आर्थिक सशक्तीकरणजस्ता योजनामा बढी लगानी गर्नुपर्ने बताउनुभएको हो ।
न्याय र समानतापूर्ण समाज भएमा मात्र नेपाल समृद्ध बन्ने बताउँदै उहाँले अवशर पाएमा महिला पनि अगाडि बढ्न सक्ने र यसका लागि महिलाको योग्यता र क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री अाेलीले भन्नुभयो ‘नेपालमा राष्ट्रपति पदमा महिला पुग्नु लामो सङ्घर्षको उपलब्धि हो, संविधानसभामा गरेको सङ्घर्षका कारण नै विश्वमा कमै मात्र हुने उपलब्धि नेपालले हासिल गरेको छ ।’
कार्यक्रममा बोल्दै उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले महिलाले घरभित्र गरेको कामलाई औपचारिक मान्यता दिई सामाजिक श्रमका रुपमा स्थापित गर्न सके उनीहरूलाई आर्थिक रुपमा सशक्त बनाउन सकिने बताउनुभयो । मन्त्री मैनालीले नेपालमा महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम भएपनि आशा गरिए अनुसार ‘लैङि्गक समानता हुन नसकेको स्वीकार्नुभयो । कार्यक्रममा सचिव मधु रेग्मी, राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष मनु हुमागाईं महिला अधिकारकर्मी चाँदनी जोशीले महिलाको चौतर्फी विकासका लागि राज्यले लगानी गर्नुपर्ने र राष्ट्रिय योजना बनाएर कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो ।
‘लैङि्गक समानताका लागि पाइला हाराहारीः सन् २०३० सम्म हिस्सा बराबरी’ भन्ने नाराका साथ आज देशै भरि बिभिन्न कार्यक्रम गरि एक सय छैटौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदैछ ।
Comment Here!