लक्ष्मी गौतम
पाँचथर। विहीवारदेखि पाँचथरमा हात्तीपाइले रोगविरुद्ध औषधी वितरण अभियान शुरु भएको छ। नेपाल सरकाले फागुन २९ देखि चैत १ गतेसम्म यो अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेपनि पाँचथर जिल्लामा भने दुईदिन अगावै अभियान थालिएको हो।
जिल्ला अस्पतालका प्रमुख डाक्टर पवन साहले खोप अभियानलाई प्रभावकारी बनाउन विहीबारदेखि नै अभियानको सुरु गर्न लागिएको जानकारी दिनुभयो।
नेपाल सरकारले नेपालको हिमाली क्षेत्रका १२ र पहाडी क्षेत्रका २ गरी १४ वटा जिल्लालाई हात्तीपाइले रोगको संक्रमित क्षेत्रका रुपमा सुचिकृत गरेर बार्षिक रुपमा यो अभियान सञ्चालन गर्दै आएको छ। सन २०२० सम्म नेपाललाई हात्तीपाइले रोग मुक्त बनाउने उद्देश्यसहित पाँचथरमा यसअघि चारपटक अभियान चलाइसकिएको छ।
यो वर्ष पाँचथरमा तीनदेखि ७० वर्षसम्मका १ लाख १४ हजार ७ सय ७४ जनालाई औषधी खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानका लागि यो वर्ष पाँचथरका ९ सय ४३ वटा खोपकेन्द्रबाट हात्तीपाइले रोगविरुद्वको औषधी वितरण गरिँदैछ। अभियानका लागि १ सय ५५ जना कर्मचारी, ३ सय ९४ जना महिला स्वास्थ स्वयंसेविका र ४ सय ४२ जना तालिम प्राप्त स्वास्थ स्वयंसेविका गरी ९ सय ९१ स्वास्थकर्मी परिचालन गरिएको छ।
जन्मेदेखि २ वर्ष भित्रका बालबालिका, ७० वर्षमाथिका बृद्धबृद्धा, गर्भवती महिला, दम स्वासप्रश्वास र मधुमेहजस्ता दिर्घरोगको औषधी सेवन गरिरहेका व्यक्तिवाहेक सवैले यो औषधी सेवन गर्न जरुरी रहेकाले प्रचार प्रसारमा सहयोग पुर्याउन पनि जिल्ला स्वास्थ प्रमूख डाक्टर साहले आह्वान गर्नुभयो।
Comment Here!