अर्कै संसारमा आएजस्तो भएको छ


प्रकाशित मिति :2016-03-10 11:03:15

कृष्ण पोखरेल

पाल्पाको फोक्सिङकोट गाविसका काम गर्ने मानिसमध्ये ८० प्रतिशत महिला छन्। रक्सी बनाउने, बेच्ने र खाने यहाँको खानदानी पेसा थियो। ‘हामी रातदिन गरेर रक्सी बनाउँथ्यौँ। पुरुषहरू चौतारामा गफ गर्दै रक्सी खान्थे। साँझ घर आएर हामीलाई नै बेस्सरी कुट्थे,’ महिला समूहकी पुष्पा घर्तीले बताइन्।

यस पेसामा काम पनि धेरै गर्नुपर्थ्याे। रक्सी बनाइसकेपछि महिला बिहान पाँच बजे नै जनही २० लिटर रक्सी बोकेर गल्याङ जान्थे, दिनभरि बजारमा रक्सी बेच्थे र चार पाथी कनिका बोकेर साँझ सात बजे घर आउँथे।

यस्तो दुःख भोग्नु परेन

यस्तो दुःख भोग्नु परेन

इजाजत नलिईकन रक्सी बनाउनुलाई गैरकानुनी मानिन्छ। ‘कति पटक त बाटोमा पुलिस आएको छ भनेर रक्सी छोडेर भाग्नुपर्थ्याे। रक्सी बेचेर ल्याएको अन्न रक्सी बनाएरै सकिन्थ्यो, घरमा एक दिन पनि बजारबाट ल्याएको चालम खाने दिन आएन,’ पुष्षाले भनिन्।

‘मगर समुदायमा पितृलाई समेत रक्सी चढाउनुपर्छ। पाहुनालाई रक्सी दिनैपर्छ। नदिए इज्जत जान्छ। त्यसमाथि पुर्खादेखि रक्सी बेचेर गुजारा चलेको घरपरिवारका मानिस अब रक्सी बनाउन बेच्न छोड्नुपर्छ भनेर समूहमा छलफल गर्दा विश्वास लागेको थिएन,’ सुनौलो बेलम्जा समूहकी भवानी सारूले भनिन्।

आजभोलि फोक्सिङकोट पहिलेको जस्तो छैन। महिलाले गर्दा धेरै कुरा फेरिएको छ। पहिले रक्सी पार्ने, बेच्ने काममा लागेका महिलाले नयाँ काम थालेका छन्। यसले गर्दा गाउँ धानेर बसेका महिलामा अहिले नसोचेको परिवर्तन आएको छ।महिलाले समूहमा आबद्ध भएर रक्सीबाहेकका आम्दानीका उपायबारे छलफल गरे। त्यसपछि उनीहरूले पशु पाल्ने, तरकारी, अदुवा, बेसार खेती गर्ने र बाख्रा र पशु पाल्ने विचार गरे। यी कामका लागि यो ठाउँ उपयुक्त मानिन्छ।

यसो गर्दा उनीहरूले रक्सी बनाउँदा र बेच्दाजस्तो अवगाल खानुपरेको छैन, सरकारी नजरमा गैरकानुनी काम गर्नुपरेको छैन। रक्सी कम भएसँगै समाजमा झैझगडासमेत कम भएको छ।

‘अहिले चाडपर्वमा पनि धेरै खान नपाइने नियम बनएका छौँ,’ महिला समूहकी हुमीकुमारी पाण्डेमगरले बताइन्। यसले महिलाको जीवन सजिलो पारेको छ। ‘पहिला निकै दुःख थियो। दुई–चार पैसा कमाउन रक्सी बनाउने बेच्ने गर्नुपर्थ्यो। माइतमा पनि रक्सी बनाइन्थ्यो, बिहे भएर घर आएपछि पनि रक्सी बनाउने एकहोरो काम थियो। रक्सी बनाउनेदेखि लिएर बेच्ने सबै काम महिलाले नै गर्नुपर्थ्यो। तर, रक्सी बनाउन छोडेपछि सुखका दिन आएका छन्। तरकारी खेती गरेका छौँ, बाख्रा पालेका छौँ, रक्सीबाट भन्दा बढी कमाएका छौँ,’ बिन्दुमाया घर्तीमगरले भनिन्।

पहिले एक–आपसमा नबोल्ने महिला अहिले आफूलाई परेका समस्या, घरमा भइरहेका हिंसाका विषयमा समूहमा छलफल गर्छन् र तिनको समाधान खोज्छन्। निरक्षर महिला अहिले आफ्नो नाम, उमेर, ठेगाना लेख्न, सही गर्न र सभा–समारोहमा बोल्न सक्ने भएका छन्।

यस काममा महिलालाई गाउँ विकास समिति, हेफर इन्टरनेसनल नेपाल र स्काई समाज नेपालले चलाएको ‘साना किसान उद्यमी सबलीकरण परियोजना’ले मद्दत गरेको छ। यसले यस गाविसका नौ सय नौ घरधुरीलाई फाइदा पुर्‍याउने लक्ष्य लिएको छ।
‘गाउँमा हुने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले आयोजना गरेका कार्यक्रममा भाग लिँदा, छलफल गर्दा र सुझाव दिँदा अर्कै दुनियाँमा पुगेजस्तो हुन्छ,’ परियोजना व्यवस्थापक हुमीकुमारी पाण्डेले बताइन्। अहिले प्रत्येक घरका महिलाले बाख्रा पाल्छन्। अदुवा र तरकारी खेती गर्छन्। यसबाट राम्रो आम्दानी गर्न थालेका छन्।

‘परिवारमा खुसी छाएको छ। श्रीमान्, छोराछोरीसँगै बसेर काम गरिरहेका छौँ,’ गङ्गीसरा सिँजालीले भनिन्। उनका श्रीमान् पहिले काम गर्नका लागि ओमन गएका थिए। अहिले उनी घरमै बसेर काम गरिरहेका छन्।

‘पहिले आम्दानी गर्ने भनेकै रक्सी बनाउने, बेच्ने थियो, तर एक वर्ष पहिले रक्सी बेच्न छाड्यौँ। एउटा संसारबाट अर्काे संसारमा आएजस्तो भएको छ। इज्जत पनि बढेको छ,’ रानीवास समूहकी अध्यक्ष जयकुमारी सारूले बताइन्।

पहिले कामको खोजीमा मानिस बाहिरिएपछि गाउँ रित्तिँदै जान थालेको थियो। पोहरसाल मात्र फोक्सिङकोटमा एक सय १५ घरपरिवारले बसाइँसराइ गरेका थिए। तर, गाउँमा महिलाले राम्रो आम्दानी गर्न थालेपछि बसाइँसराइसमेत कम हुँदै गएको छ।
यस्तो कामबाट हौसला बढेपछि महिला गाउँपरिषद्, वडा, सरकारबाट निर्धारित कार्यक्रम सञ्चालन गर्नसमेत फोक्सिङकोटका महिला सक्रिय भएका छन्।

कृष्ण पोखरेल पाल्पामा बसेर पत्रकारिता गर्छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: