गीत लेखेर पैसा कमाएकी छैन


प्रकाशित मिति :2016-03-12 11:11:01

मैले लेखेका नौ ओटा गीत बजारमा आईसकेका छन् । केही आउने तयारीमा छन्, नढाँटेर भन्नुपर्दा गीत लेखेर अहिलेसम्म मैले एक रुपैयाँ पनि कमाएकी छैन, तर पनि लेखिरहन्छु लेख्न छोड्दिन् ।

गोमा परियार

gomaपढ्दैछु र पेशाले संचारकर्मी म । पढाईको बिषय एकातिर पेशा र रुची अर्को तिर । तालमेल नै नमिलेजस्तै पो भाको छ त ।
मलाई सानैदेखी साहित्य मन पर्ने । साहित्यिक रचना गर्नपनि निकै मन पर्छ । ७—८ कक्षा पढ्दा देखिनै म खाली समयमा गीत, गजलहरू लेखेर साथीहरूलाई सुनाउथे गर्थें । आहा १ कति राम्रो भन्थे साथीहरू, अनि म मख्ख पर्थें । गीत गजल लेखनमा यति धेरै रुचि राख्न थालें की, म बरु परिक्षाको समयमा कहिल्यै रातीको १२ बजेसम्म बसिनँ, तर गीत लेख्न बस्दा १२ बजको पत्तै पाउँदिनँ ।
त्य सोत गीत लेख्छु भनेर कपी कलम अगाडि राख्दा कहिले पनि लेखिँदैन । आफैँ—आफैँ फुर्छन् शब्दहरू । बाटोमा हिँड्दा—हिड्दै कहिलेकाही त र कहिले रुमल्लिएका बेला । मैले लोकदोहोरी, आधुनिक गीतहरू अनि गजल लेख्ने गर्दछु । गीतले भरिएका धेरै डायरी छन् मसंग । स्कुल र क्याम्पसका हरेक नोटको पछाडिको भागमा गीत र गजलमात्रै हुन्थे मेरा । गाउँघरमा हुने सांगीतिक कार्यक्रमका लागि पनि गीत लेखिदिन्थे ।
सधैँ गीत लेख्ने डायरीमै सिमित हुने । यस्तै भयो धेरैजसो । मैले रेडियोमा काम गर्ने भएकाले धेरै कलाकारसँग दोहोरो चिनजान छ । म संचारकर्मी समाचार लेख्ने र वाचन गर्नेसँगै साङगीतिक कार्यक्रम चलाउने भएकाले पनि हुन सक्छ गीत बजाईदिनु प¥यो लौन गोमाजी, मेरो अन्र्तवार्ता लिईदिनुप¥यो भनेर थुप्रै कलाकारले भन्छन् । म समय मिलाएर उनीहरूसँग रेडियोमा कुरा पनि गर्थें । अनि उनीहरूलाई म कुरैकुरामा भन्ने गर्थें म पनि गीत लेख्छु, मेरा शब्दलाई केही अवसर दिनुहोस । यसो भन्दा सबैले हुन्छ शब्द पठाईदिनुस भनेपछि मैले गीत लेखेको डायरी नै पठाईदिने गरें ।

आश्वासन धेरै पाउँथे । कति राम्रा शब्द तपाईका, अनि म खुसी हुन्थें, अब त अवसर पाउँछन् की मेरा शब्दले । तर, अहँ पछि—पछि भन्दै कुरा टारे । अहिले म नाम खुलाउन चाहन्न दुई जना गायक दाईले त मैले लेखेको गीत बजारमा ल्याउनुभयो, तर शब्दमा नाम आफ्नै राख्नुभयो । मैले फोन गर्दा फोनै उठाउँनु भएन । टिभीमा रेडियोमा राम्रा नयाँ—नयाँ गीत सुन्दा मैले लेखेका गीतहरू यसैगरी बज्ने कहिले होला भन्ने लागिरहन्थ्यो । अन्र्तवार्ता लिने क्रममा रेडियो र टिभीमा हेर्दैगर्दा मनमा सोच्थं,े म पनि कुनै दिन यस्तै गरेर अन्र्तवार्ता दिनेछु, कसैले लिनेछ ।
डाक्टर , ईन्जिनियर बन्छु भनेर मेहेनतसँग पढियो भने भईन्छ रे भन्ने सानै देखि सुनेकी हुँ मैले । तर म गितकार बन्छु भनेर कहिलेपनि बनिदैन रे, यो त ‘गड गिफ्ट हो रे’ । मेरा गीतले भरिएका ती डायरी सधँै थन्किएको देख्दा कहिलेकाही त भैगो म अब गीत लेख्दिनँ भन्थे र एक्लै रुन्थे बेस्सरी । अनि फेरी शब्द मनमा फुर्दा नलेखेर मन मान्दैनथ्यो लेख्न बसिहाल्थें । साँच्चिकै साहित्य रचना गर्ने मान्छेलाई थाहा होला की आफ्ना सिर्जनाको माया कति लाग्छ भनेर । आफैँ लगानी गरेर गीत रेकर्ड गर्ने पैसा मसँग हुदैनथ्यो । घरबाट सवै क’रामा सहयोग हुँदाहुँदै पनि गीत निकाल्ने कुरा घरमा भनिनँ ।

२०६६ सालमा ‘खोजी प्रतिभाको’ भन्ने कार्यक्रम नेपाल टेलीभिजनमा आउँदै गरेको थाहा पाए । त्यसमा गायन,अभिनय,नृत्य र गीत लेखनको पनि प्रतिष्पर्धा हुने भन्ने थाहा पाएपछि त मेरो खुसीको सिमै रहेन ।
मेरो घर बाँक,े तर अडिसन बुटवलमा हुने भन्ने थियो । बुटवल त के म नेपालको

जुन ठाउँमा पनि जान तयार थिएँ । त्यसको लागि मैले बुटवल जाने निधो गरें । दाईले फारम भरिदिनु भयो । त्यो भन्दा अगाडि मैले घर छोडेर एक्लै कतै गएकी थिइन । तरपनि मैले एक्लै जाने निधो गरें । म बुटवल धेरै आशा बोकेर गएकी थिएँ ।
गएको भोलीपल्ट अडिसन हुने स्थान बुटवलको बालमन्दिरमा पुगें । सबै साथीले आ आफ्नो पालो र बिधामा अडिशन दिदै निस्किए । म भने मेरो पालो कुरेर बसिरहें ।

बिहानदेखि कुरिरहेकी म बेलुका ५ बजेतिर प्रतिष्पर्धी थोरै भएका कारण लेखन बिधाको प्रतिष्पर्धा नहुने भन्ने कुरा सुनें । बहुत मन आत्तियो । २ जनामात्रै रहेछाैं लेखनमा प्रतिष्पर्धा गर्न आएका । अर्को नवलपरासीको दाई हुनुहुन्थयो । त्यो दाई त ह्या ठिकै छ नी त भनेर फर्किनुभयो । तर म भने निकै रोएँ । साथीहरूले सम्झाउनुभयो । तर के मन मान्थ्यो ? यति रोएँ की सायद जिन्दगीमा त्यतिका धेरै म अहिलेसम्म रोएकी छैन । तरपनि लेख्न छोडिनँ ।

म गीत लेख्छु भन्ने कुरा धेरैलाई थाहा थिएन । ४ वर्षपछि २०७० सालमा सहकर्मी साथी गोपाल नेपाल जिएमले मलाई गोमा तिमीले गीत लेख्छ्यौ रे एकजना साथीले गाउने भन्नुभएको छ भनेपछि लेखेर उहाँलाई सुनाए । उँहाले मन पराउनुभयो । त्यो गीत निस्कने पक्का भयो । रामु खड्काको लय, थेगो, सुर्खेतकी गायिका शशीकला घर्तीमगर र गोपाल नेपाल जिएमको आवाजमा ‘देउता लाहोला’ बोलको गीत २०७० बैशाखमा बजारमा आयो । मेरो पहिलो लोकदोहोरी गीत । म निकै खुसी भएँ दर्शक, स्रोताले राम्रै मन पराउनुभयो ।
देउता लाहोलापछि मेरो अर्को गीत २०७० मै ‘बिन्ती छ सान’ु बजारमा आयो । त्यस्मा पनि आवाज गोपाल नेपाल जिएमको थियो र महिला आवाजमा स्मृती शाहीको । केशब बडुको लयमा । पछि क्रमशः हे भगवान धोका नदेउ भन्छु , आत्महत्या गर्छु अबत, तिम्रो जस्तो जवानी छैन कसैको, मात्र तिम्रो कारण, तीजको गीत चुरा बजाउँदै छनछन नाडीमा, नक्कली मोरीले र बैंशालु जोवन बजारमा आए । एक गीतमा मैले थेगो मात्रै लेखे ‘पिरतीमा धोका खाएर, हरेक पल रुदैछु म, टाढा हुदैछु निस्ठुरी तिमीसँग माया लाएर’

२—३ ओटा अब छिट्टै आउने क्रममा छन् । लोक गीतसँगै आधुनिक गीत पनि । गीतसंगीतको बजार अहिले आशा गरेजस्तै राम्रो छैन । मैले लेखेका ९ ओटा गीत बजारमा आईसके कति तयारीमा छन् । तरपनि नढाँटेर भन्नुपर्दा मैले यी गीत लेखेवापत एक रुपैयाँ पनि पाएकी र लिएकी छैन ।
कति साथीले पैसा दिने कुरा गर्नुहुन्छ । अनि बिर्सनुहुन्छ । म आफैँ माग्दिन । सोच्छु पैसा भन्दापनि मेरो शब्दले ठाउँ पाउँन् । मेरो रुची पुरा होस । केही हदसम्म त मेरा शब्दहरूले स्थान पाईरहेका छन् । सोचेजति चर्चित बनेनन् । ति गीत प्रचारप्रसार र लगानी कम भएरै हो । जतिले सुन्नुभयो सबैले मन पराउनु भएको छ । गीत लेखन क्षेत्रमा धेरै चर्चित गितकार बन्ने धोको छ । गीत लेख्न कहिल्यै पनि छोड्दिनँ । बाँचुन्जेल लेखिरहन्छु र लेखिरहेकी पनि छु । पत्रकारीता मेरो पेशा हो भने गीतलेखन मेरो सपना र रुची ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: