रुपा गहतराज
नेपालगन्ज । दाङको घोराहीमा एसिड आक्रमणमा परेर थप उपचारका लागि मेडिकल कलेजको शिक्षण अस्पताल मा भर्ना भएकी ३५ वर्षीया रिता चौधरीको अवस्था खतरामुक्त भएको अस्पतालले जनाएको छ । दाङको घोराहीस्थित उपक्षेत्रीय अस्पलातमा प्राथमिक उपचार पछि उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।
बिहीबार साँझ ७ बजेतिर दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसलमा मास्क लगाएका अपरिचित व्यक्तिले चौधरीमाथि एसिड प्रहार गरेर भागेका थिए ।
एसिड प्रहारबाट चौधरीको दाहिने गाला, आँखाको नजिकको भाग, घाँटी र छातीमा समेत घाउ लागेको छ।
कोहलपुरले थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरे पछि शुक्रबार साँझ उनलाई शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।
मास्क लगाएको एक व्यक्तिले चुरोट दिनु भन्यो, अर्को ब्यक्ति मोटरसाइकलमा थियो । चुरोट दिइ सकेपछि फेरि नमकिन दिनु भन्यो नमकिन दिंदै गर्दा एसीडले छ्यापेर उनीहरू मोटरसाइकलमा चढी फरार भएको घाइते चौधरीकी आमा गुधासी चौधरीले बताउनुभयो ।
एसिडले जलेकी चौधरीको प्लाष्टिक सर्जरी गरेर थप उपचार गरिने उपचारमा संलग्न प्लाष्टिक सर्जन डा. विनोद कर्णले बताउनुभयो ।
शनिबार दिउसो २ बजे पहिलो चरणको शल्यक्रिया गर्ने गरी उपचारको प्रबन्ध मिलाइएको कर्णले जानकारी दिनुभयो ।
रिताको शल्यक्रियाको शुल्क अग्नी हिंसा पीडित नेपाल नामक संस्थाले ब्यहोरेको संस्थाका प्रतिनिधि सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
३५ वर्षे रिताका श्रीमान रोजगारीको सिलसिलामा भारतको गुजरातमा रहेको र उक्त घटनाको अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
किराना पसलमा काम गरिरहेका बेला चुरोट किन्ने बहानामा आएका अपरिचित ब्यक्तिले एसिड आक्रमण गरेको घटनाप्रति विभिन्न संघसंस्थाहरुले भत्सर्ना गरेका छन् । दोषीहरुलाई कडा कारबाहीको माग गर्दै पीडितलाई क्षतिपुर्ति दिलाउन सम्बद्ध निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
कस्ले के कारणले चौधरी माथि एसिड आक्रमण गरेको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको दाङका प्रहरी उपरिक्षक कुबेर कडायतले बताए । एसिड आक्रमणमा संलग्न भएको ब्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङले बिशेष टोली परिचालन गरेको छ ।
आर्थिक लेनदेन ,जग्गा लगायत अन्य बिबाद भएका ब्यक्तिले नै एसिड आक्रमण गराएको भन्दै घाइतेका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
Comment Here!