खेमा बस्नेत
कैलाली । चौमाला, राजीपुर राधाकृष्ण शिविर अहिले पुरै शोकमा डुबेको छ । सबैका आँखा रसाएका छन् । थुप्रै मान्छेले एक जना महिलालाई सम्झाइरहेका छन् । रोजगारीको सिलसिलामा मलेसिया गएका कैलाली चौमालाका जंग बहादुर विकको मलेशिया मै हत्या भयो ।
यो खबर पाएदेखि मृतक विककी ३० वर्षीया श्रीमती चन्द्राकला वि.कको होस ठेगानमा छैन । ‘मलाई र छोरालाई सुख दिने भन्दै उहाँ विदेश जानु भएको थियो,मलाई के थाहा उहाँको लास आउछ भनेर’ चन्द्रकलाले भक्कानिदै भनिन् । चन्द्रकलाका श्रीमान् जंग बहादुर विकको शव २१ दिनपछि घर ल्याइदै थियो । ‘छोराले बुुबाको मुत्यु भयो अब मलाई कस्ले पढाउछ भनेर सोध्छ, अब उसलाई राम्रो स्कुलमा पढाउने मेरो क्षमता छैन्’ उनी विलौना गर्दै थिइन् ।
जग्गा किनेर पक्कि घर बनाएर बस्ने सपना साँचेर जंग बहादुर मलेशिया गएका थिए । तर, सपना अधुरै रह्यो ।
मलेसियाको मलाका शहरमा एक कुखुरा फार्ममा कार्यरत ३५ वर्षीय जंगबहादुरको फागुन ४ गते पारिश्रमिक बुझेर पैसा पठाउन बैंक जाने क्रममा बीच बाटोमा केही नेपालीले होटलमा लगेर खानपिन गरिसकेपछि हत्या गरेको मृतकका मामा धन बहादुर विकले वताए । जंगबहादुरबाट प्रहरीले एक हजार आठ सय रिंगेट मात्र फेला पारेको मामा धनबहादुरले वताए ।
शव शुक्रबार आफन्तलाई बुझाई दाहसंस्कार गरिएको छ । उनको हत्या आरोपमा कैलाली चिसापानीका रोहित माझी र दार्चुलाका देव लोहारलाई मलेसियामा प्रहरीले नियन्त्रणमा लिएको मलेसियामै रहेका पदम बिकले आफन्तलाई बताएका थिए । जंगबहादुरको श्रीमती,आठ वर्षीय छोरा र आमा बुबा छन् ।
Comment Here!