रुपा गहतराज
नेपालगञ्ज। बाँकेमा संविधान जारी भएयता नेपालीसँग बिहे गरेका झण्डै डेढ सय विदेशी महिलाले अंगीकृत नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क अनुसार, संविधान जारी भएको असोज तीन गतेपछि जिल्लामा १ सय ४१ जना विदेशी महिलाले नेपाली नागरिकता पाएका हुन्।
संविधानको धारा १० को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबजोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था छ।
यसरी नेपाली नागरिकता पाउने सबै नेपालीसँग विवाह गर्ने भारतीय महिला हुन्। नेपालीसँग विवाह गरेका भारतीय महिलाले वैवाहिक अंगीकृत नागरिकता धमाधम लिन थालेपछि नयाँ संविधानबारे उत्पन्न भ्रम पनि विस्तारै हट्न थालेको छ।
विवाह गरेर नेपाल आएका भारतीय महिला नागरिक हुन पाएकोमा खुसी व्यक्त गर्न थालेका छन्। नेपालगन्जकी अप्सना बेहनाले अंगीकृत नागरिकता प्राप्त गरेपछि भन्नुभयो– ‘नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउँदैनन् भनेर हल्ला चलाइएको थियो, त्यो गलत रहेछ ,संविधानले अधिकार खोसेको भए मेरो नागरिकता कसरी बन्थ्यो?’
संविधान जारी भएलगत्तै नेपालीसँग विवाह गर्ने भारतीय महिलाको नागरिकता अधिकार संविधानले खोसेको भन्दै भ्रम फैलिएपछि मधेसमा चर्को आक्रोश पोखिएको थियो।
Comment Here!