महिला खबर
बाजुरा । देशभरी सरसफाई अभियानको लहर चलिरहेका बेला बाजुराको बह्रमतोला, गुदुखाती र काँडा गाविसका महिलाले बिहे गर्न शौचालय अनिवार्य हुनुपर्ने निर्णय गरेका छन् । यी गाबिसका महिलाले शौचालय भएको घरमा मात्र छोरी दिने र शौचालय भएका घरबाट मात्र बुहारी ल्याउने निर्णय गरेको महिला अधिकार मञ्च बह्रमतोलाकी अध्यक्ष साधना देबी शाहले बताउनुभयो । अन्य गाविसलाई पनि चर्पी बनाउनका लागि दवाव दिन र अभियान सफल पार्न यस्तो निर्णय गरेको शाहले बताउनुभयो ।
यी गाविसमा मात्र नभई अन्य ठाँउमा पनि सरसफाई अभियानमा लाग्न प्रेरणा मिलोस भन्ने उद्देश्यले पनि यस्तो निर्णय गरेको महिला अगुवा मनकला राना बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘सरसफाई एउटा मानिसको सहपाठी हो । यदि गाँउघर सफा नभए मानिस स्वच्छ हुन सक्दैन् । गाँउमा चर्पी नहुँदा प्रत्येक वर्ष झाडापखाला, आँउ, हैजा, टाइफाइडलगायतका रोगको महामारी फैलने गर्दछ । ’
महिलाको यो निर्णयपछि गाँउमा शौचालय निर्माण र गाविसलाई पुर्ण सरसफाईयसक्त गाविस बनाउने अभियानमा निकै सघाउ पुगेको स्थानिय शिक्षक तुला थापा बताउनुहुन्छ । महिलाले खुल्ला ठाउँमा दिशा गर्नेलाई गाविसमा सर्वदलीय भेला गरी सार्वजनिक गर्ने निर्णय समेत गरेको छन् ।
Comment Here!