रमला सिंगक
मोरङ। भारतको दिल्ली हुँदै कुवेत पठाउने दुईजना नेपाली दलाललाई प्रहरीले जोगबनी रेल स्टेशनबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका २३ पाचकन्याकी ३१ वर्षीया फुलमाया तामाङ र इनरुवा २ का रोहित दर्नाल रहेका छन्।
उनीहरूलाई सुराकीको आधारमा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो। नेपालबाट वैधानिक रुपमा वैदेशिक रोजगारीमा जानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमात्र प्रयोग गर्न पाइन्छ। तर, दलालहरूले प्रतिबन्धित खुल्ला सिमाना प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।
तामाङ र दर्नालले सुनसरी, चितवन, संखुवासभा र उदयपुरका २० देखि ३५ वर्ष उमेरका ६ जनामहिलालाई वैदेशिक रोजगारीमा पठाउन विराटनगरको रानी र जोगवनी सीमा प्रयोग गरी रेल चढाउन लाग्दा गएराती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार रेल चढ्न लागेका ६ महिलालाई तत्कालै उद्धार गरी सुरक्षित स्थलमा पुर्याइएको छ। …नेपाल भारत खुला सिमाना प्रयोग गरी जोगवनी रेल स्टेशनबाट दिल्ली लैजान लागेको अवस्थामा विभिन्न जिल्लाका ६ जना महिलालाई राहदानी सहित उद्धार गरिएको छ’ उहाँले भन्नुभयो।
प्रहरीले तामाङ र दर्नाल दलाल भएको हुन सक्ने र उनीहरूलाई सहयोग गर्ने दिल्ली र कुवेतमा पनि ठूलै गिरोह रहेकाले दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। उहाँले उद्धार गरिएका महिलाले तामाङ र दर्नालले दिल्ली हुँदै कुवेत पुगेपछि मासिक एक लाख रुपैयाँ भन्दा बढी कमाइने प्रलोभन देखाएको बताएको जानकारी दिनुभयो।
Comment Here!