घरको चुलो–चौकोमा सीमित नभई घर बाहिर निस्केर स्वास्थ्य र सरसफाईका बारेमा सचेत हुन थालेका बाजुराका महिला आमा समूह र महिला समूह मार्फत आफ्नो सक्रियता बढाउँदै छन् ।
प्रकाश सिंह
बाजुरा, बह्रमतोला –३ ताप्राकी रिठु सार्की गाँउकै सरसफाई अगुवा बनेकी छिन् । “रिठुलाई एक छाक टार्न धौ धौ भएपनि बह्रमतोला गाबिसको सरसफाई अभियानको उनले नेतृत्व गरेकी छन् । गाँउको मात्र होईन उनी जिल्लाको अभियानमा समेत प्रेरणाको स्रोत बनेकी छिन ।
श्रीमान नौले सार्कीको ६ बर्ष अघि कामको शिलशिलामा भारतमा मृत्यु भएपछि रिठुको आर्थिक अबस्था निकै कमजोर भयो । आफ्नो उब्जनीबाट जेनतेन तीन महिना कटाउने उनलाई बाँकी नौ महिनाको जोहो गर्न मजदुरी गर्नु पर्ने बाध्यता छ । सरसफाई भएन भने स्वास्थ्य समस्या हुन सक्दछ भन्ने बुझेकी रिठु आर्थिक अभाव भएपनि सरसफाईमा ध्यान दिनु पर्दछ भनेर अभियानमा लागेकी हुन् ।
गाँउका सबै महिलालाई समेटेर सरसफाई अभियानमा लागेकी उनी गाउँमा विकास गर्नु पर्दछ भन्ने अभियानमा पनि सक्रिय छिन् । उनी सँगै जिल्लाका अन्य महिला पनि सरसफाई अभियानमा लागेका छन् ।
रिठुजस्तै बाजुराका धेरै महिला घरको चुलो–चौकोमा सीमित नभई घर बाहिर निस्केर स्वास्थ्य र सरसफाईका बारेमा समेत सचेत हुन थालेका छन् । गाँउमा जथाभावी दिशापिसाब गर्दा गाँउनै दुर्गन्धित बन्नुका साथै बिभिन्न स्वास्थ्य समस्याले सताउन थालेपछि बाजुराका महिला गाँउको सरसफाई अभियानमा लागेको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाहले बताईन् ।
सामाजिक अभियानमा पुरुषको मात्र सहभागिता हुँदा समस्या समाधान नभएकाले महिलालाई सहभागी बनाउन आवश्यक रहेको शाहको तर्क छ । बाजुरा जिल्ला खुल्ला दिशमामुक्त क्षेत्र घोषणा गर्नमा महिलाको ठुलो भूमिका रहेको थियो, भने अहिले पुर्ण सरसफाई अभियानमा पनि महिलाको ठुलो भुमिका रहेको सुआहारा कार्यक्रमका संयोजक जनक भट्ट बताउँछन् ।
“बिहान घरको र मेलापातको काम सकेर दिउँसो गाउँमा सरसफाई अभियानमा लागेका महिला संस्थामा आवद्ध भएर काम गर्न सजिलो भएको बताउँछन् ।
बाह्रबिस गाबिसमा रहेको नमुना सामुदायिक संस्थामा आवद्ध भएका महिला टोल–टोलमा पुगेर सरसफाई सन्देश दिनुका साथै बाटो, घर–आगन, धारा, पधेरा सरसफाई गर्दै आएका छन् । सामुदायिक संस्था मार्फत सरसफाई कोषको समेत उनीहरूले स्थापना गरेका छन् । उनीहरूले सरसफाई कोषमा प्रत्येक सदस्यबाट हप्ताको २० रुपैयाँ जम्मा गर्ने गरेको महिला अगुवा देबिका शाहले बताईन् ।
पुरुषमात्र जागरुक हुँदा गाँउमा खासै प्रगती हुन नसकेको भन्दै महिलालाई सचेत बनाएर अघि बढेको उनको तर्क छ । गैर्सरकारी संस्था महासंघ बाजुराका अध्यक्ष काशी बिकका अनुसार जिल्लालाई खुल्ला दिशामुक्त बनाउन पनि महिलाको उल्लेखनीय योगदान गरेका थिए । ‘गाँउको विकासमा महिलाको मुख्य भुमिका पो हुने रहेछ, यो सरसफाई अभियानले प्रमाणित गर्यो’ उनले थपे ।
बाजुरा जिल्ला २०७१ साल मंसिर १२ गते देशकै १६ औं जिल्लाका रुपमा खुल्ला दिशामुक्त घोषणा भएको हो । जिल्लालाई दिशामुक्त अभियानमा सफल बनाउनमा सबै भन्दा बढि महिलाको भूमिका रहेको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बाजुराका सरसफाई अभियान कर्ता हंश बहादुर थापाले बताए । बाजुरामा २०६८ सालमा १०.५६ प्रतिशतले मात्र शौचालय निर्माण गरेको देखाएको थियो । त्यसको छोटो समयमा सतप्रतिशत परिवारले शौचालय निर्माण गरि बाजुरालाई खुल्ला दिशामुक्त बनाउन सफल बनेको छ ।
जिल्ला खुल्ला दिशामुक्त घोषणापछि अहिले पूर्ण सरसफाई अभियानमा बाजुरा लागेको छ । २०८०÷०८१ आर्थिक वर्षसम्म जिल्लालाई पुर्ण सरसफाई युक्त घोषण गर्न अभियान तिब्र पारिएको छ ।
शौचालय निर्माणपछि घरआगन सरसफाई, जुठेन निर्माण, फोहोर फाल्ने खाल्डो निर्माण गर्ने जस्ता अभियानमा महिला सक्रिय रहेका छन् । आटीचौर ५ दानी गाँउका ४० परिवार महिलाको नेतृत्वमा पुर्ण सरसफाई अभियानमा लागेको देबकी गिरी बताउँछिन् । स्वयंसेविका, महिला समूह, आमा समूह गठन गरी महिलाले सक्रियता बढाएका छन् ।
Comment Here!