आस्था केसी
काठमाडौं। ‘महिलामाथिको दमन र शोषण बिनाको संसार सम्भव छ, विश्वका महिला सर्वोच्च शिखर चढ्दैछन’ भन्ने मूलनारासहित काठमाडौंमा आईतवारबाट शुरु भएको दोश्रो विश्व महिला सम्मेलन जारी छ। सम्मेलनमा विभिन्न लैंगिक विषयका १० वटा कार्यपत्र प्रस्तुत गरिने छ।
युरोप, अमेरिका, अफ्रिका, मध्यपूर्व र एशियालगायतका ५ वटा महादेशका ४७ देशबाट सहभागी १ हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षकलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर कार्यपत्र प्रस्तुत गरिने संयोजक दुर्गा पौडेलले जानकारी दिनुभयो । ‘कार्यपत्रमाथि छलफल गरी निष्कर्षसहित थप गरेर काठमाडौं घोषणापत्र र दोश्रो विश्व महिला सम्मेलन घोषणापत्र जारी गरिने छ ‘ पौडेलले भन्नुभयो।
नेपालबाट साम्राज्यवाद, पुँजिबाद र महिलामाथिको उत्पीडनका विषयमा नेकपा एमाले नेता सुजिता शाक्यले कार्यपत्र तयार गर्नुभएको छ। त्यसैगरी महिला आन्दोलन र महिलाबाद विषयमा टर्की, कुर्दिस्तान र रोजावाले संयुक्त रुपमा कार्यपत्रको तयारी गरेका छन्। युद्धको आक्रमकता, महिला मुक्ति र स्वाधिनताको लडाँइमा महिलाको भुमिका विषयमा पाकिस्तान, फिलिपिन्स र रोजावाले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
त्यसैगरी श्रमिक वर्गीय आन्दोलन र यूनियनको संघर्षमा श्रमिक महिलाको भूमिका विषयक कार्यपत्र बंगलादेशको कारखाना मजदुर युनियनले प्रस्तुत तयार गरेको छ ।
युवा महिला काममा, अध्ययनमा, खेलकुदमा र खाली समयमा उनिहरुको अवस्था र संघर्ष, महिला आन्दोलन र राजनीतिमा उनीहरूको सहभागिता विषयको कार्यपत्र ट्यूनिशिया, जर्मनी र नेपाली यूवा संगठनको संयुक्त पहलमा तयार गरिएको छ।
धर्तीमातालाई बचाउन संघर्षरत महिला र महिला वातावरणीय आन्दोलन विषयमा जर्मनी, अमेरिका र पाकिस्तानको टोलीले कार्यपत्र बनाएको छ भने महिला मुक्तिकालागि संघर्ष विषयको कार्यपत्र जर्मनी र टर्कीले तयार पारेका छन्।
महिलामाथिको यौनहिंसा, संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ पारित भएको १५ वर्षपछि महिला शान्ति र सुरक्षा विषयमा जर्मनीको प्रस्तुती रहेको छ। ग्रामिण क्षेत्रमा महिलाको जीवन संघर्ष र किसान महिलाको संघर्षबारेको कार्यपत्र मोरोक्को र घानाले प्रस्तुत गर्ने छन् भने यौनहिंसाविरुद्ध महिला विषयक कार्यपत्र जर्मनीको रहने पनि संयोजक पौडेलले जानकारी दिनुभयो।
चैत्र ५ गतेसम्म चल्ने सम्मेलनमा हरेक साँझ बेलुका ५ देखि ७ बजेसम्म संयुक्त साँस्कृतिक कार्यक्रम गर्ने गरिएको अर्की संयोजक सरिता महर्जनले बताउनुभयो। त्यस्तै चैत्र ३ गते विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन् भन्ने भाव समेटिएको गीत प्रतियोगिता गरिने संयोजक पौडेलले बताउनुभयो।
सम्मेलनमा साम्राज्यवाद, सामन्तवाद र घरेलु पित्तृसत्ताबादविरुद्धमा महिलाको आन्दोलन केन्द्रित गर्ने गरी नीति तथा कार्यक्रम बनाईने संयोजक पौडेलले जानकारी दिनुभयो।
Comment Here!