रुपा गहतराज
नेपालगञ्ज । बाँकेका मधेशी समुुदायमा कुसंस्कार, धर्मप्रतिको आस्था, परम्पराको नाममा व्याप्त रहेको बालविवाहलाई प्रयास गरे अन्त्य गर्न त्यति गाह्रो नरहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । बाँकेको राप्तीपारी रहेको महेन्द्र मावि मटेहियामा आयोजित एक कार्यक्रममा बोल्दै समाजका अगुवाले प्रहरी, सामाजिक अभियन्ता, सञ्चार माध्यम र स्थानीय बासिन्दा मिलेर काम गर्ने हो भने कुनैपनि विकृति र अपराधलाई निमिट्यान्न पार्न सकिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका सदस्य श्यामता प्रयास यादवले गौना, थौनालगायतका बेला बालिकाको उमेर कानुन बमोजिम पुगेपनि कम उमेरमा विवाह गर्दा भावनात्मक समस्या हुने गरेको बताउनुभयो । .
स्थानीय गणपति सामुदायिक बनका अध्यक्ष राजेन्द्र दीक्षितले, वालविवाहविरुद्धका मुख्य अभियन्ता विद्यार्थी रहेको बताउँदै सबै विद्यार्थीले आफ्नो घरबाटै विरोधको स्वर बलियो बनाउनु पर्ने सुझाव दिनुभयो । बालिकाहरूले कम्तिमा पनि आफ्नो विवाह गर्ने उमेर पुरा नभएसम्म विवाह नगर्नका लागि अभिभावकलाई दबाव दिनुुपर्ने बताउँदै घरभित्रैबाट अभियान सुरु गरी बाहिर आउनु पर्ने दीक्षितले बताउनुभयो ।
बालविवाह स्थगित गर्ने अगुवाललाई सम्मान गर्न संयूकत राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक पेशकार सिंहले बालविवाहका कारण कतिपय विद्यार्थीले परिक्षा छाड्ने गरेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले संचार माध्यमबाट आफूहरूले समाजका अपराध, कुसंस्कार, सामाजिक समस्यालगायतका विषयमा समाचार प्रकासन प्रसारण गर्दै आएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज किरण पोखरेलले समाजमा जरो गाडेर बसेको बालविवाहका लागि अझै प्रयास हुनुपर्ने बताउनुभयो । बालविवाहका कारण पािरवारिक समस्या शारीरिक समस्या, विकृतिलगायतको अवस्था उत्पन्न हुने गरेकोले यसकाविरुद्ध खुलेर काम गर्न सहभागीहरूलाई उहाँले अनुरोध गर्नुभयो । यसअघि प्रहरी र नागरिक समाज मिलेर चलाएको संयुक्त अभियानमा बाँकेमा ९ वटा बालविवाह हुने क्रममै रोकिएका थिए ।
यसै बालविवाहविरुद्ध प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै युएनडीपीले बाँकेको मटेहियाका दुईजनालाई सम्मान गरेको छ । बालविवाह रोक्न जन्ति समेतलाई थुनामा हालेर कारवाही गर्ने इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज किरण पोखरेल र विवाह स्थगित गर्ने अभिभावकहरू मध्ये मटेहिया गाविसका रामयश यादवलाई सम्मान गरिएको हो । यादवले आफ्नी उमेर नपुगेकी छोरीको विवाह गर्ने तर्खर गरिरहेका बेला अभियान सक्रिय हुँदा विवाह स्थगति भएको थियो ।
Comment Here!