जमुना वर्षा शर्मा
पोखरा । कहीँ कतै हरियो दुबो देख्यो कि मिराका आँखा टक्क रोकिन्छन् । अरुले बगैँचाका रंगीचंगी फूलतिर आँखा दौडाइरहेका बेला मिराका आँखालाई भने हरियो दुबाेले तान्छ ।
२०६५ सालमा पोखरा उद्योग बाणिज्य संघले दिएको ५ दिने दुबोको माला बनाउने तालिम लिएपछि पोखरा बैदामकी ४१ वर्षीया मिराको जिवन नै फेरियो । तालिम लिनका लागि लिएर हराउनेको भीडमा मिरा एक त्यस्तो पात्र हुन, जसले तालिमको भरपुर सदुपयोग गरी आफ्नो जिवनस्तर सुधारेकी छन् । घरको सम्पूर्ण कामको गरेर उनले दुवोको माला बुनेर दिनको पाँचसय देखि २५ सयसम्म आम्दानी गर्छिन् ।
विवाह ब्रतबन्ध एवम् विभिन्न अवसरमा प्रयोग हुने दुबोको माला बुनेर मिरा आर्थिक रुपमा सशक्त भएँ भनेर मात्रै रमाएकी छैनन्, उनका कमजोर आँखा समेत दुवोले उपचार गरिदिएको छ । दुवोको काम गर्न थालेपछि उनले राम्रोसँग आँखा देख्न थालेकी छन् । उनी भन्छिन् ‘ यसकारण दुबोसँग झन प्रेम भएको छ ।’
दिनदिनै हरियो दुबो केलाउँदा उनको आँखा नदेख्ने समस्या हटेको छ ‘झण्डै दुईवर्षदेखि उपचार गर्दा पनि सुधार नभएका आँखा दुबोकै कारणले राम्रोसँग देख्न भएकी छु, त्यसैले दुबोले मेरो जीवनमा खुशीको बहार ल्याएको छ ’ प्रसन्न मुद्रामा मिराले भनिन् ।
मिराका श्रीमान ४ वर्षदेखि रोजगारको शिलशिलामा दुवइमा छन् । श्रीमानको आम्दानीले छोरा छोरीको पढाइ खर्च देखि घर खर्च चलाउनु पर्ने बाध्यतामा अहिले मिराको आम्दानीले निकै सहयोग पुगेको छ । मिराको कामलाई छोरा छोरीले पनि सहयोग गर्दै आएका छन् । पोखरा आसपासका ठाउँमा गएर मिरा दुबो संकलन गर्छिन् । घरमा ल्याएर केलाएर फ्रिज वा पानीमा राख्छिन्, जुन १५ दिनसम्म ताजै रहन्छ । ‘आजभोली गाउँघरतिरबाट आउने साथीभाई इष्टमित्रले समेत भेट्न आउदा हरियो दुबो बोकेर आउने गर्छन् । साथीभाइ यो सहयोगले निकै ऊर्जा थप्ने गरेको छ’ मिरा भन्छिन् ।
तालिम लिन र तालिमपछि सीपको सदुपयोग गर्नुस भनेर बारम्बार झक्झकाइरहने महिला उद्यमी हिरा भट्टराइलाई प्रेरणाको स्रोत मान्छिन् उनी । ‘हिरा दिदीले मलाई यो अवसर र हौंसला नदिएको भए म पनि तालिम लिएर प्रमाण पत्र थन्काएर मात्रै बस्थें होला, तर उहाँले मलाई बारम्बार माला बुन्न र सीपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो, आजको यो सफलताको श्रेय म महिला उद्यमी हिरा भट्टराइलाई दिन चाहान्छु,’ मिराले भनिन् ।
आर्थिक परनिर्भरताले महिलालाई कमजोर बनाउने मिराको भनाइ छ । ‘आवश्यकताकै लागि खर्च गर्दा पनि श्रीमानले केही भन्नुहुन्छ कि भन्ने चिन्ताबाट मुक्ति मिलेको छ’ उनी भन्छिन् ।
Comment Here!