खेमा बस्नेत
कैलाली । कैलालीमा एक सेमिनारमा सहभागी हुन आएकी सौन्दर्य कला व्यवसाय महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले आफूहरूलाई दयामायाको खाँचो नभएको वताउनुभएको छ ।
‘समाज र धर्मले सौन्दर्य पेशालाई स्वीकार नगरेकाले यो पेशामा लागेका उद्यमी महिलालाई दयामाया नभई अवसरको खाँचो छ’ उहाँले भन्नुभयो । आएको अवसरलाई सदुपयोग गरेमा सोचेको कुरा पुरा हुने उहाँको भनाइ छ ।
‘जसरी बच्चा जन्माउदा एक आमालाई पीडा हुन्छ त्यसैगरी सुरुवातमा यो पेशामा लाग्दा मलाई त्यस्तै पिडा भएको थियो’ उहाँ भन्नुहुन्छ । आफूले यो पेशालाई सुरु गर्दा २ महिनासम्म आफूले पकाएको खाना ससुराले नखाएको स्मरण उहाँले गर्नुभयो । आफ्नो श्रीमानले बाहेक कसैको सहयोग नपाउँदा पनि आँट र प्रण गरेर यो पेशालाई समाज र राष्ट्रमा चिनाउन कटिबद्ध भएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘अहिले यो पेशामा लाग्ने महिलालाई उद्यमी महिला भनेर सम्मानका साथ सम्बोधन गर्दा खुसी लाग्छ’
अझैपनि सौन्दर्य व्यवसायले समाजमा इज्जत नपाएको र यस्ता व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेकोले यसलाई कसरी परिवर्तन गर्ने भनेर लागिरहेका उहाँको भनाइ छ ।
‘अहिले हामी यही पेशा गरेर श्रीमान् र परिवारलाई पाल्ने क्षमता बनाएका छाैं, अहिले सासुससुरा, दाई श्रीमान्ले आफ्ना घरका छोरी बुहारीलाई सौन्दर्य कला सिकाउन ल्याउनुहुन्छ’ श्रेष्ठ भन्नुहुन्छ
Comment Here!