नन्दा थापा
काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सुर्य श्रेष्ठले पछिल्लो समयमा बैदेशिक रोजगार फेसनको रुपमा आएको बताउनु भएको छ । ओरेक नेपालले काठमाडौंमा आयोजना गरेको घरेलु श्रम, सम्मानित श्रम, घरेलु महिला कामदारहरूको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालीहरू हरेक दिन हजारौं संख्यामा रोजगारीका लागि अन्य मुलुकमा जाने क्रम फेसन जस्तो भएको बताउनुभयो । उहाँले बैदेशिक रोजगारीको क्रममा सुरक्षित स्थागमन सम्वन्धि आवश्यक जानकारी नहुँदा कामदारले विभिन्न समस्या भोग्नु परेको बताउनुभयो ।
महिलालाई विभिन्न कम्पनिमा लगाईदिने भन्दै आश्वासन दिने र सम्वन्धित ठाउँमा पगेपछि घरेलु कामदारकै रुपमा काम गर्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ । पहिलो फेसन र दोस्रो पैसाका लागि बैदेशिक रोजगारीमा जाने क्रम बढेको उहाले बताउनुभयो । आफूले जान लागेको देश नेपाल सरकारले खुला गरेको छ कि छैन बुझेर मात्र जान उहाँले आग्रह गर्नुभयो । उहाँले विभिन्न देशमा जाँदा श्रम तथा रोजगार मन्त्रालयमा सम्झौता गरेर जानुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले जसरी पठाउँछ त्यसरी नै फिर्ता ल्याउने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव सुदिर भट्टराईले महिला बैदेशिक रोजगारीमा गएपछि घरेलु कामदारमा बढी काम पाउने भएकोले जानु भन्दा पहिले आफू जान लागेको देशको भौगोलिक स्थिति, हावापानी, रहन सहन, भाषा, कानुन र काम गर्ने वातावरणका बारेमा जानकारी लिन अति आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा ओरेक नेपालका कार्यक्रम संयोजक अनिता सापकोटाले बैदेशिक रोजगारमा जानेमा सिन्धुपाल्चोक, झापा, मोरङ्, मकवानपुर काभ्रेका महिलाको संख्या बढी रहेको बताउदै गतवर्षमात्रै २९ हजार १ सय ५४ जना महिला बैदेशिक रोजगारीका लागि गएको तथ्याकं प्रस्तुत गर्नुभयो ।
Comment Here!