यस वर्षको राष्ट्रपति पुरस्कार पाउने झापाकी देवीमाया दाहालको जीवनी धेरै नेपालीका लागि प्रेरणाको स्रोत हुनसक्छ । धारा–पँधेरामा समेत ‘मौरीदिदी’ भनेर चिनिने देवीमायाको जीवनमा कसरी आयो यो परिवर्तन ?
अम्बिका भण्डारी
झापा । एघार वर्षअघि शिवसतासी– ७ की देवीमाया दाहाल जीवननिर्वाहको अरू उपाय नभएपछि वैदेशिक रोजगारीमा जान तयार भइन् । मन मिल्ने छिमेकी दिदी शिवमाया थेबेले ‘मौरीपालन गर न, किन जान्छ्यौ दुःख खेप्न परदेश’ भनेर सम्झाइन् । शिवमायाकै आग्रहमा ०६१ मा अर्जुनधाराका अमरदीप भेटवालबाट एक गोला मौरी सित्तैमा लिएर घर फर्केकी देवीमायाले वैदेशिक रोजगारीमा जाने सोच त्यागेर पासपोर्ट थन्क्याइन् । त्यसपछि सुरु भयो उनको नयाँ जीवन ।
‘प्राविधिक सीप केही जानेकी थिइनँ, मौरी बेस्याहार भएर भकाभक मर्न थाले,’ व्यावसायिक जीवनको सुरुवातका कठिन दिन सम्झिँदै देवीमाया भन्छिन्, ‘व्यवहार झन् डामाडोल होलाजस्तो भयो, श्रीमान्ले पनि कि मौरी छाड् कि मलाई छाड् भन्न थाल्नुभयो ।’ विदेश नगएर गल्ती पो भयो कि भन्ने सोच उनमा फेरि नपलाएको होइन । समूह जमानीमा लिएको २० हजार रुपैयाँ ऋण तिर्न नसक्दा परिवारका अन्य सदस्यको खप्की खानुप¥यो । ‘गाउँकाले पनि अब अरू केही गरेर भएन, मौरी पाल्न थालेकी थिई’ भनेर खिसिट्युरी गर्न थाले ।
गाउँमा मौरी पाल्ने उनी पहिलो महिला उद्यमी थिइन् । उनलाई मौरीपालक सङ्घका झापा जिल्ला अध्यक्ष भेटवालले नै तालिम लिएर व्यवसाय अघि बढाउन सल्लाह दिए । देवीमायामा आत्मविश्वास बलियो भयो । उनले ऋण लिएर चार गोला मौरी पाल्न सुरु गरिन् । गाउँका अरू दुई महिलाले पनि तालिम लिए ।
केही महिनापछि नै देवीमायाले आफैँले पालेको मौरीको गोलाबाट काढेको मह बेचेर ५८ हजार रुपैयाँ कमाइन् । ‘ओहो त्यो ५८ हजार हातमा परेको दिन म बेस्सरी रोएँ छु,’ देवीमायाले आफ्नो खुसी सुनाइन् ।
एघार वर्षपछि अहिले आएर ४७ वर्षीया देवीमाया मौरीपालन व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण भएकी छिन् । वार्षिक आठ लाख रुपैयाँसम्म आर्जन गरिरहेकी देवीमायाका घरमा हाल ७० गोला मौरी भुन्भुनाइरहेका छन् । गाउँमा उनको पौरख देखेर थुप्रै महिला मौरीपालनमा लागेका छन् । आफू मात्र होइन, धेरै महिलाको जीवनलाई सुखमय बनाउन उनले दिएको योगदानको कदर धारा–पँधेरामा हुन थालेको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले उनलाई जिल्लाकै उत्कृष्ट कृषि उद्यमीको रूपमा ०७२ को ‘राष्ट्रपति कृषक पुरस्कार’ले सम्मानित गर्यो । झापाको शिवसतासीमा उनैले स्थापना गरेको सतासी महिला मौरीपालन सहकारी संस्थामा हाल दुई सय ९८ जना महिला सदस्य छन् । सहकारीका ८७ सदस्यले सफल मौरीपालन व्यवसाय गरिरहेका छन् ।
प्रशिक्षक बनिसकेकी देवीमायालाई अचेल सबैले आदरपूर्वक ‘मौरीदिदी’ भनेर सम्बोधन गर्छन् । ‘राष्ट्रपति पुरस्कार’ पाएपछि देवीमायाको चर्चाले गाउँ नै तात्यो । कुनैबेला खिसीट्युरी गर्नेहरू आजभोलि देवीमायाकहाँ व्यावसायिक परामर्श लिन धाउँछन् । उनी सतासी महिला मौरीपालक सहकारी संस्थाकी व्यवस्थापक हुन् । घरदेखि कार्यालयसम्म उनको दैनिकी सुरुका दिनमा आफूजस्तै दुःख पाएका महिलालाई सफल उद्यमी बन्न सल्लाह दिँदैमा बित्ने गर्छ ।
देवीमायाले सहकारीमार्फत सबै मौरीपालक सदस्यको मह खरिद गरेर बेचिदिने व्यवस्था मिलाएकी छिन् । संस्थाले सदस्यलाई तालिम दिने, प्राविधिक सहयोग दिने र ऋण दिने कार्य गर्र्दै आएको छ । ८७ जना मौरीपालक महिलाले देवीमायाको सहकारीबाट ऋण लिएका छन् । मौरीको गोला नै लिजमा दिने व्यवस्थासमेत संस्थाले मिलाएको छ ।
सतासी मौरीपालक सहकारीले संस्थामा आबद्ध महिलाले वार्षिक रूपमा उत्पादन गरेको २२ हजार केजी मह आफैँ बेच्दै आएको छ । ‘सतासी सहकारीको मह’ भनेपछि बजारमा शुद्धताको ब्रान्ड नै बनिसकेको देवीमाया बताउँछिन् । संस्थालाई विदेशबाट समेत मह खरिदको अर्डर आउने गरेको उनको भनाइ छ ।
शिवसतासी–७ को कुनै टोल छैन, जहाँ मौरीको गोला नदेखियोस् र मौरी नभुन्भुनाएको होस् । वर्षमा एकपटक तोरीबारी खोज्दै संस्थाले सबैका मौरी चराउन गोला बोकेरै मोरङको केराबारी, लेटाङ र सिसौनीतिर लैजाने गरेको छ । मौरी चराएबापत तोरीखेती गरेका किसानले समेत संस्थाबाट रोयल्टी पाउने गरेका छन् ।
शिवसतासी– ७ कै ३५ वर्षीया सरू दाहाल पनि मौरीपालनमा लागेकी छिन् । उनले देवीमाया नै आफ्नो प्रेरणाको स्रोत भएको बताइन् । मौरीपालन स्रोत केन्द्रबाट दुई गोला मौरी भाडामा लिएर व्यवसाय सुरु गरेकी सरू अहिले आएको परिवर्तनबारे भन्छिन्, ‘सुरुमा नानीहरूलाई स्कुलमा टिफिन खुवाउने पैसा पनि हुँदैनथ्यो । तर, आज यही व्यवसायबाट छोरालाई बेंग्लोरमा रेडियोग्राफी पढाउँदै छु ।’ सरूसँग हाल ४० गोला मौरी छन् । वार्षिक ५ देखि ६ लाख रुपैयाँ आम्दानी गर्दै आएकी सरूले सय गोलासम्म मौरी पालेको अनुभव सुनाइन् ।एक गोला मौरीबाट एकपटकमा पाँचदेखि २० केजीसम्म मह उत्पादन हुन्छ ।
शिवसताक्षी– ८ सुन्दरपुरकी ४७ वर्षीया एकल महिला फूलकुमारी चौधरी अर्को उदाहरण हुन् । ०५८ मा पति गुमाएपछि चार सन्तान स्याहार्न धौधौ परेको थियो । देवीमायाकै सल्लाहमा फूलकुमारीले ०६६ देखि मौरीपालन गर्दै आएकी छिन् । घरैमा पालेका २१ गोलाबाट वार्षिक अढाई लाख रुपैयाँभन्दा बढी आर्जन गर्न थालेकी उनले अहिले समाजमा सफल उद्यमीको परिचय बनाएकी छिन् ।
मौरीपालन व्यवसाय सिकाएर धेरैको जीवनमा परिवर्तन ल्याएकी देवीमाया गाउँकै ‘रानो’ मौरीसरह सम्मानित रहेको सतासी मौरीपालक सहकारी संस्थाकी अध्यक्ष केशमाया थेबे बताउँछिन् ।
सहकारीले कृषकबाट प्रतिकेजी तीन सय ५० रुपैयाँका दरले खरिद गरेर प्रशोधन गरी बजारमा थोकमा पाँच सय र खुद्रामा ६ सय रुपैयाँमा मह बेच्दै आएको छ । सहकारीले गरेको मुनाफासमेत संस्थाका सदस्यहरूको हितमा खर्च हुने अध्यक्ष थेबे बताउँछिन् ।
मौरीपालक जिल्ला सङ्घ झापाका अध्यक्ष विष्णु सङ्ग्रौलाले वार्षिक रूपमा जिल्लाका मौरीपालक कृषकलाई तालिम र मौरी चरण व्यवस्था गर्न सहयोग गर्दै आएको बताए । उनले शिवसतासीमा व्यावसायिक मौरीपालन नमुनाको रूपमा फस्टाएको बताए । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिना झापामा वार्षिक ६० हजार केजी मह उत्पादन हुँदै आएको बताउँछन् ।
मौरीपालन व्यवसायका लागि तोरीखेती, फापरखेती र सूर्यमुखी खेतीको समेत जरुरत हुन्छ । खाली रहेको जग्गामा त्यस्ता खेती गर्न जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्रोत्साहनस्वरूप बिउसमेत अनुदानमा प्रदान गर्दै आएको अधिकृत तिम्सिनाको भनाइ छ ।स्वादिष्ट भोजनको रूपमा उत्कृष्ट पोषकतत्व भएको महको माग र बजार अत्यन्त ठूलो छ । शिवसतासीमा मौरीपालनको जग बसाएकी देवीमायाको अबको सपना के छ ? उनी भन्छिन्, ‘ठूलो सपना छैन । आफ्नो गाउँलाई ‘मौरीपालन गाउँ’को रूपमा विदेशसम्म चिनाउने ।’
(सञ्चारिका फिचर सेवा)
(अम्बिका, झापाकी पत्रकार हुन् ।)
Comment Here!