रमेश रावल
कालिकोट । जिल्ला सदरमुकाम मान्मदेखि करिब १४ किलोमिटर टाढा पर्ने भर्ता गाविसको हाम्डी गाउँको दलित बस्तीका महिला तरकारी खेतीमा लागेका छन् । खान लाउन धौ धौ रहेको त्यस दलित बस्तीमा अहिले महिलाले तरकारी खेती गर्न थालेपछि जिवन सहज भएको छ । तरकारी खेतीबाट उनीहरूले मनग्य आम्दानी पनि गर्ने गरेका छन् ।
फोटोः तरकारी गोडमेल गर्दै भर्ता गाबिस हाम्डीकी महिला ।
बिगतमा त्यही जमिनमा अन्य बाली लगाउँदा ३ महिनामात्र खान पुग्ने हिले जमिनमा अहिले तरकारी खेती गर्दा राम्रो आम्दानी हुने गरेको उनीहरू बताउँछन् । तरकारी खेतीले अहिले वर्षदिन खान पुग्ने हाम्डी गाउँकी किसान नौरता बि.क.ले बताइन् । ‘बिगतमा के खाउँ के खाउँ हुन्थ्यो, अहिले तरकारी बाली लगाउँदा राम्रो आम्दानी हुने गरेको छ’ उनले भनिन् ।तरकारी खेती गर्न थालेपछि हाम्डी गाउँका दलित महिलाको निदचर्या बदलिदिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत भक्तिप्रसाद शर्मा बताए ।
‘निकै कठिन जीवन गुजारी रहेका दलितले अहिले तरकारी खेती गर्न थालेपछि निकै राम्रो आम्दानी गर्न थालेका छन्,’ उनले भने ।
दलितका २१ घरधुरी हाम्डी गाउँमा महिलाले तरकारी खेतीबाट राम्रो आम्दानी लिने गरेको नेपाली कांग्रेसका कालिकोट जिल्ला समिति सदस्य नन्दबहादुर शाहीले बताए । ‘दलितको लवाइ खवाई शारीरिक सरसफाई प्रति घृणाको दृष्टि हेर्ने र दलितहरू बढी परनिर्भर हुन्छन् सोच्ने तथाकथित उपल्लो जातकाले एकपटक हेर्नै पर्ने बस्ती हाम्डी बनेको छ, मेहनत गरे सबै सफल हुन्छन्’ उनले भने ।
हाम्डी गाउँका महिला किसानले फलाएको तरकारी नजिकको जितेगडा र हुल्म बजारमा बिक्रि हुने गरेको छ । व्यावसायिक तरकारी खेतीबाट किसानले मासिक १५, २० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
Comment Here!