आस्था केसी
काठमाडौं। काठमाडौंमा चार दिनदेखि चलिरहेको विश्व महिला सम्मेलन जारी छ। सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिले विश्वको महिला मुक्ति आन्दोलनलाई कसरी एक ढिक्का बनाउने भनेर विचारविमर्श गरिरहेका छन्। त्योसँगै आ—आफ्नो देशको कला र संस्कृति पनि प्रस्तुत गरिरहेका छन्।
सम्मेलनस्थल कमलादीको प्रज्ञाभवन यतिबेला महिलामय भएको छ। विश्व महिला सम्मेलन भब्यताका साथ सफल पारौैं, महिला हिंसा अन्त्य गर, यौनबजार बन्द गर जस्ता नारा लेखिएका तुल, ब्यानर, प्लेकार्ड र पोष्टरहरू जताततै देख्न पाईन्छ।
प्रज्ञाभवन परिसरमा विभिन्न देशका महिला र पुरुषहरु एकआपसमा गफिईरहेका भेटिन्छन्। सम्मेलनमा केही कुरा सिक्न पाएपनि भाषाको कारणले सम्बाद गर्न केही अप्ठेरो भएको सम्मेलनकी एक सहभागी बिमला केसीले बताइन्।
सम्मेलनमा सहभागी हुन पाँउदा आफूलाई धेरै कुरा ज्ञान भएको सभासद आशा खनाल बताउँछिन्। विश्वका महिला के कस्तो अवस्थामा बाँचिरहेका रहेछन् भन्ने कुराको सग्लो चित्र पाउन सकेको उहाँको भनाई छ।
नामिबियाबाट सम्मेलनमा सहभागी हुन आएकी इमलिनले भाषाको कारण समस्या भएको बताइन्। नेदरल्याण्डबाट आफ्नी आमासँगै सम्मेलनमा सहभागी हुन आएका चार्ल्स बाण्डर म्यूलेनले नेपाली महिलाबाट आफ्नो देशका महिलाले धेरै कुरा सिक्नुपर्ने बताए।दाइजो प्रथा कलंक भएको र यस्ता खाले सामाजिक कुप्रथाहरू मेटाउन महिला नै अगाडि बढ्नुपर्ने चार्ल्सको सुझाब थियो।
जर्मनीकी मोनिकाले नेपाली महिलासँग यस्तो कार्यक्रम आयोजना गर्न पाउनु अवसर भएको बताईन्। खासगरी विनाशकारी भूकम्प र नाकावन्दीका वावजुद नेपाली महिलाले सम्मेलन आयोजना र त्यसको सफल व्यवस्थापन गर्न सकेकोमा उनले नेपाली महिलाको खुलेरै प्रशंसा गरिन्।
अफ्रिकाकी संयोजक बुलेल्वा चार्लीले अफ्रिकाका महिला अन्त भन्दा धेरै पीडित रहेको बताईन्। त्यहाँका महिलाको घरेलु काममा कुनै मुल्यांकन नहुने र बाहिर गएर काम गर्ने अनुमति पनि नभएको उनको जिकिर थियो। खासगरी स्वास्थ्य सेवालाई त्यहाँको सरकारले निजीकरण गरिदिएपछि अफ्रिकाका ग्रामिण भेगमा बस्ने गरिव महिलाको स्वास्थ्य धरापमा परेको चार्लीले बताईन्।
भारतबाट सम्मेलनमा सहभागी भएकी शमिष्ठाले यस्ताखाले प्लेटफर्महरूलाई जतिसक्दो धेरै प्रयोग गर्न विश्व महिला सम्मेलनका अगुवाहरूलाई सुझाव दिइन्।
नेपालबाट सम्मेलनमा प्रतिनिधित्व गरेकी कमला रोकाले विश्वकै महिला अधिकारविहिन भएर दोश्रो दर्जाको नागरिक सरह बाँच्नुपरेको र पुरुष सरह समान हक पाउन महिला आफैँले नै निरन्तर संघर्ष गर्नुपर्ने बताईन्।
नेपालमा १० बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनलगायतका आन्दोलनले महिलाका लागि केही आधारभुत अधिकारहरू संविधानमा सुनिश्चित गर्न सकिएको रोकाले बताईन्। जनसंख्याको अनुपातमा अधिकार स्थापित गर्न नसकिएको उनको भनाई थियो।
विश्व महिला सम्मेलनकी नेपाल संयोजक शीला हमाल महिला आन्दोलनलाई एकीकरण गर्दै भविष्यमा कसरी लैजाने भन्ने विषयमा एउटा साझा अवधारणा बनाउन सम्मेलन केन्द्रित हुने बताउछिन्।
सम्मेलनमा २ दिने कार्यशाला सम्पन्न भईसकेको छ बुधवार र विहीवार बन्द सत्र भैरहेको छ। काठमाडौं घोषणापत्र र दोश्रो विश्व महिला सम्मेलन घोषणापत्र जारी गर्दै शुक्रवार सम्मेलन सकिने छ।
Comment Here!