जन्मदिनको शुभकामना कुर्दा


प्रकाशित मिति :2016-03-19 10:00:03

मेरो जन्मदिनमा साथीहरू, परिवारका सदस्य सवैले शुभकामना दिए, मेरा फेसवुकका भित्ता रंगिए, तर मैले एउटा शुभकामनाको पर्खाइमा सवै वेवास्ता गरें ।

निर्मला भट्ट

nirmala jiमेरो जन्मदिनमा सवै भन्दा पहिलो शुभकामना उनकै हुन्थ्यो । उनीसँग राती सधैँ कम्तिमा पनि २ घण्टा फोनमा कुरा हुन्थ्यो । जन्मदिनमा राती १२ बजे नै म्यासेज र त्यसपछि फोन आउँथ्यो । ‘ह्याप्पी बर्थ डे, प्रिन्सेस, लभ यु’  पहिलो वाक्य यस्तो हुन्थ्यो । मेरो खुशीको सिमा हुँदैनथ्यो । यसपाली यहि सुन्नका लागि आतुर म दिनभर फोन हेरिरहेँ, उनको फोन आएन, न त म्यासेज नै आयो । उनको फोन आउदैन भन्ने थाहा थियो, तर कहिलेकाँही मन ले मान्दैन । त्यसैले उनको फोनको पर्खाईमा अरुको फोनको वास्ता गरिनँ । हुन त उनले फोन गर्न छोडेको पनि ३ वर्ष भईसक्यो । सायद अब त उनलाई मेरो मोवाईल नम्वर पनि याद छैन । यसपाली पनि साथीहरू, परिवारका सदस्य सवैले शुभकामना दिए ।  एक प्रकारले मेरो जन्म सप्ताह चलिरहेको जस्तो । तर, मैले एउटा शुभकामनाको पर्खाईमा सवै वेवास्ता गरे ।

उनीसँग धेरै राम्रा पलहरू वितेकोले होला म कहिले विर्सिन सक्दिनँ उनलाई । मेरो सवैभन्दा बढी समय उनीसँगै बित्थ्यो । विहान कलेज, दिउँसो उनको पसल र राती उनको या मेरो घरमा हाँमी प्राय सँगै हुन्थ्यौँ । हामी सँगै भएनौँ भने घण्टौँ फोनमा कुरा गथ्र्यौं । मेरो घरको ल्याण्डलाईनबाट भन्दा उनकै ल्याण्डलाईनबाट कुरा बढी हुन्थ्यो, तर फोनको विल तिर्ने दिन सधैँ मैले गाली खान्थें । यो क्रम करिव ४ वर्षसम्म चल्यो । जति उनको मुहार सुन्दर थियो त्यो भन्दा धेरै मन । त्यसैले पनि होला म उनीसँग यति नजिक थिएँ । म कुन कुरामा कस्तो प्रतिक्रिया दिन्छु भन्ने कुरामा राम्रोसँग परिचित भएकाले उनलाई हँसाउन, रुवाउन, सताउन सवै कुरा मलाइ आउँथ्यो । मलाई तनावबाट निकालेर हसाँउने क्षमता उनमा थियो । उनी तनावमा हुँदा मैले हँसाउने प्रयास गर्थें । सानो कुरामा आत्तिने उनका एउटै आँखाबाट आँशुका ३ वटा धारा बग्थे मैले उनको आँशु पुछ्दै अंगालो कस्ने काम गर्थे र सव ठिक हुन्छ भन्थेँ । एकअर्काका कुरा सुन्न र भन्नका लागि हामीसँग समय सधैँ अपुग हुन्थ्यो । बजार, मेला, शुभकार्य या अरु कुनै कार्यक्रममा हाँमी सधैँ सँगै हुन्थ्यौँ । हामी सँगै हुनुमा उनको परिवार या मेरो परिवार कसैलाई कुनै समस्या हुँदैनथ्यो बरु हामी कुनै ठाँउमा एक्लै देखियौँ भने मान्छे आश्चर्य मान्थे । मलाई उनीसँग हुँदा अरु कसैको आवश्यकता कहिले पनि महशुस भएन, उनीसँग समय वितेको थाहा हुँदैनथ्यो, म घर जानै विर्सिन्थे ।

कहिलेकाँहि झगडा गरेर २/३ दिनसम्म बोल्दैनथ्यौँ । मैले उनलाई चिढ्याउन अरु साथीहरूसँग जिस्कीन्थेँ र अर्को बेन्चमा बस्थेँ । गल्ती जसको भएपनि माफी उनले माग्नु पथ्र्यो । पहिले गालामा हान्थिन् र ‘सरी’ भन्दै अंगालो हाल्थिन् । उनको बानी ब्यहोरा, सुन्दरतासँग नलोभिने कोही थिएनन् । मेरो परिवारका सदस्यले मलाई भन्दा धेरै माया उनलाई गर्थे । मलाई उ जस्तै बन भन्दै सम्झाउँथे । परिवारको जेठो छोरी, निकै समझदार थिईन् उनी ।  डडेल्धुरा बजारमा जुत्ता चप्पलको ठुलो होलसेल पसल थियो । सानै उमेरदेखि त्यो पसल उनी आफैँ चलाँउथिन् । उनलाई खानाका धेरै परिकार बनाउन आउँथ्यो । घरमा पुजा हुँदा सवै सामान ठिक ठिक र छिटै तयार गरेको देख्दा मेरी आमा भन्थिन ‘यो पागललाई पनि सिकाउ केही’ ।

तिम्रो साथी हेर कति समझदार छिन् तिमी बच्चा जस्तै घरमा सताउँछ्यौ, बाबा मलाई भन्नुहुन्थ्यो ।  उनका सवै आवश्यकता घरकाले सहजै पुरा गर्थे । म १२ कक्षा पढ्दै गर्दा जागिर सुरु गरेँ, उनको घर र मेरो अफिस नजिकै भएकाले अफिस छुट्टी हुने वित्तिकै उनको घर दौडिन हतारिन्थेँ । अफिसको खाजा खाने समय कहिले अफिसका साथीहरूसँग विताइनँ । उनलाई  महेश्वरी होटेलको मःम साह्रै मन पथ्र्याे । त्यसैले दिनदिनै मःम खान जान्थ्यौँ । हामी कलेज पढ्दै गर्दा  उनी प्रेममा परिन् । उनी क्षेत्री तर, केटा जनजाती भएकाले  उनले परिवारको स्विकृतिविना विहे गरिन् ।

विहे गरेको दुई दिनपछि उनले फोन गरिन् । एक महिनापछि मैले मःम खान जाने प्रस्ताव गरेँ । उनी आनाकानी गरिन्, मैले उनकी नन्दलाई समेत लिएर आउन आग्रह गरेपछि बल्ल आइन् । म अचम्म परे उनी तिनै थिईन् जो मैले मःम खान जान मानिनँ भने रिसाउँथिन् ।

विहे लगत्तै उनी घरगृहस्थीमा अल्झिइन् । कहिलेकाँही म उनकै घरमा भेट्न जान्थेँ । उनको परिवारका सदस्य व्यवहारिक लाग्थे ।  त्यसैले उनको घरमा जान सजिलो थियो । उनकी सासुआमा प्रत्येक भेटमा भन्नुहुन्थ्यो,‘नानु घरमा बस्न आउँदै गर्नु, तिम्रो साथी एक्लै नरमाईलो मान्छिन्, घरपरिवारको माया पनि लाग्छ होला ।’ कहिलेकाँही म उनको घरकै बाटो अफिस जान्थेँ । मलाई बाटोमा देख्ने वित्तिकै उनको परिवारका सदस्य जो सुकैले बोलाउँथे ।

 म एक पटक विरामी भएर एक साता अस्पताल बस्नु परेको थियो । त्यतिबेला पनि मेरो घरकाले भन्दा उनको घरका मान्छेले मेरो ख्याल राखेका थिए । विरामीले खान हुने खान नहुँने कुराको बारेमा उनकी सासु आमा बताउनुहुन्थ्यो र घरबाट पकाएर पनि ल्याउनुहुन्थ्यो ।  म भेट्न गईराख्थेँ उनलाई, तर पहिले विहे अघिको जस्तो सम्वन्ध त कसरी हुन सक्थ्यो ।

जुनसुकै बेला हुन सक्ने हाम्रो भेट उनको घरमा या तरकारी पसलमा मात्रै सिमित रह्यो । हरेक भुमिकामा असल उनी बुहारी र पत्नी पनि असल नै भईन् र एक वर्ष पछि आमा पनि । म उनको घर जाने क्रम पनि पातलियो । सजिलै र सवैसँग संगत नगर्ने मलाई  सुरुसुरुमा निकै गाह्रो भयो । मेरो घुमघाम र सपिङ पनि निकै कम भयो । कहिले काँही सासु वा नन्दसँगै तरकारी किन्दै गरेकी भेटिन्थिन् । आएर अंगालो हालिहाल्थिन् ।

अहिले वर्षमा मुस्किलले ४/५ पटक उनको मेरो भेट हुन्छ । त्यो पनि सन्जोगले मात्रै । उनको ढाई वर्षको छोरा बाटोमा देख्छु, माया लागेर लिन खोज्छुँ,  तर उसले चिन्दैन, त्यसैले आउन मान्दैन । उनको दुईवटा फेसवुक आईडी छ तर हामी साथी छैनौँ । उनको गृहस्थी सुरु हुँदा मैले एउटा असल साथी गुमाएकी छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: