खिमा बस्नेत
कैलाली । कैलालीका सावित्रा सुनार,मिना राजी र दुर्गा खनाल देश फर्कन चाहे पनि फर्कन नसकेको उनीहरूका परिवारले वताएका छन् ।
फूलवारी कैलालीकी सावित्री सुनारलाई एक वर्षअघि ईश्वर लामाले लेवनानको बेरुतमा रहेको नमस्ते स्माइल कम्पनीमा केयरगिभरको रुपमा पठाइ दिएका थिए ।
रोजगारदाताले दुई सय ५० अमेरिकी डलर मासिक तलव दिने भनेकोमा सुरुका पाँच महिना एक सय ७५ मात्र दिएको सावित्रीकी आमा मायादेवी सुनार बताइन् । ‘एक त तलवै कम त्यसैमा खाना पनि नदिएर मार्न लागे भनेर छोरी भागी’, मायादेवीले भनिन्, ‘अहिले बेरुत नजिकैको मुसाहमदमा फिलिपिन्सकी महिलाको शरणमा बसेर कहिलेकाँही काम गरेर खाना खर्च निकाली रहेकी छ ।’
११ वर्षको छोरा माइतमा छाडेर गएकी सावित्रीको १२ मार्च २०१६ मा एकवर्षे भिसाको म्याद पनि सकिएको छ । ‘ दलाल लामालाई फोन गर्यो भने उठाउँदैन । उठाइ हालेपनि मैले घर हेरेर पठाएको होइन, म के तिम्रो छोरीका लागि लेवनान जाउँ ? भनेर उल्टै थर्काउँछ’ सुनारले भनिन् ‘छोरी मलाई बचाउनुस भन्छे, तर मैले कसैलाई चिनेकी छैन के गरुँ ?’
एकवर्ष अघि बाँकेका मोहनलाल विकले भारतको बाटो हुँदै कुवेत पुर्याएर बन्धक बनाइएकी प्रतापपुर गाविस खरौलाकी दुर्गा कुमारी खनालको पनि उद्धार हुन सकेको छैन । ‘अब त छोरी फर्केली भन्ने आश लाग्न छाड्यो, आक्कल झुक्कल आउने फोनमा रुवाबासी मात्र हुन्छ’ दुर्गाका बुबा छविलाल खनाल भन्छन्, ‘जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७१ जेठ १५ गते उजुरी गरें, इलाका प्रहरी कार्यालय लम्की कैलाली र इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी गरें, तर केही भएन ।’
प्रहरीले यस विषयमा चासो दिएको छैन । विकले खनाललाई छोरी फर्काउने भए पैसा पठाउ भनेपछि विकको बैंक खातामा ३५ हजार रुपैयाँ पनि पठाएको बताउँछन् ।
कैलालीकै पथरैया गाविसको कटासेकी मीना राजी पनि मलेसियामा सम्पर्कविहिन छन् । पाँच वर्षअघि धनगढीकी सन्तु पौडेलले भारतको बाटो मलेसिया पठाएकी मीना ६ महिनादेखि सम्पर्कविहीन भएको उहाँकी मावल हजुरआमा साउनी राजीले बताइन् । मीनाका बाजे पाख्रे राजीले भने, ‘मीनाको खोजीनीति गर्ने कोही छैन ।’
Comment Here!