शान्ता श्रेष्ठ
रामेछाप। रामेछापको मन्थली नगरपालिका ७ गैराथोकका एक युवाले दलित समुदायकी युवतीसँग विवाह गरेको कारण उनको सिङ्गो परिवार नै सामाजिक वहिष्कारमा परेको छ। उनको परिवारले मृत्यु हुँदा समेत गाउँमा मलामी पाएन।
मन्थली नरपालिका ७ गैराथोकका अर्जुन आले मगरले २०६८ सालमा सोही स्थानकी उषा नेपालीसँग भागी विवाह गरेका थिए। कथित माथिल्लो जातीले दलित समुदायकी युवतीसँग विवाह गरेको भनि गाउँलेहरूले उनलाई गाउँमा बस्न समेत दिएका छैनन्। उनीहरू विवाह गरेदेखि काठमाडौँ बस्दै आएका छन्। एक छोरी समेत जन्माएका उनीहरूले विवाहपछि गाउँमा प्रवेश पाएका छैनन्।
उनीहरूको परिवार समेत सामाजिक वहिष्कारमा परेका कारण अर्जुनकी माहिली हजुरआमाको मृत्यु हुँदा २ दिनसम्म लास उठ्न सकेन। २०७२ साल पुस २७ गते उनकी माहिली हजुर आमाको मृत्यु भयो। दलितको छोरी घरमा भित्र्याएको भन्दै गाउँका दाजुभाइ लाश उठाउन नआएको मृतकका परिवारले गुनासो गरेका छन्।
२ दिनसम्म लास नउठेपछि मृतकका दुई छोरा अजय र विजयले थोरै छिमेकीका साथमा आफ्नी आमाको सद्गति गरेका थिए ।
उनीहरूको परिवारलाई त्यहाँको समाजले सार्वजनिक कार्यमा समेत वहिष्कार गर्दै आएको छ। पीडित परिवारले अन्याय सहिरहेको भए पनि कतै उजुरी समेत गर्न नसकेको बताए।
Comment Here!