महिला खबर
महोत्तरी । अरुसँग होली खेलेको भन्दै श्रीमानको कुटाइ खाएकी बिजलपुराकी कौशिलादेवी महतो इनारमा हाम फालिन् र घाइते भइन् ।
श्रीमान घनश्याम महतोले आफ्नी ३० वर्षीया श्रीमती कौशिलादेवी महतोलाई बुधबार अरुसँग हाेली खेलेको भन्दै कुटपिट गरे । कौशिलाले सहन सकिनन् र मर्छु भन्दै ६० फिट गहिरो इनारमा हाम फालिन् ।
घर नजिकै सौदागर पासमानको इनारमा उनले हाम फालेकी हुन् । इनारमा हाम फालेकी उनलाई गाउँलेले डोरीको सहरामा १५ मिनेटभित्रै उद्धार गरेर बचाएका थिए ।
हात्तीलेट चौकीका प्रहरी नायब निरीक्षक दीपबहादुर बस्नेतसहित गएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि बर्दिवासस्थित शुभस्वस्ति अस्पताल पठाएको छ । प्रहरीका अनुसार उनको शरीरमा चोट छ ।
रक्सी खाएर मातेका घनश्यामले आफूसँग होली नखेली अरुसँग खेलेको भन्दै श्रीमती कुटेको स्थानीयले बताए । बिजलपुरा कै छठु महतो र दिलीप महतोले कौशिलालाई रङ लगाई दिएका थिए । दिलीप महतोले भाउजुसँग सोधेरै रङ लगाएको बताए ।
श्रीमती कुट्ने घनश्यामलाई हात्तीलेट प्रहरी चौकीले नियन्त्रणमा लिएर छाडेको छ ।
कौशिलालाई रङ लगाई दिने दिलीप र छठुलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएर छाडेको छ। । घनश्यामले सामान्य कुरामा पनि कौशिलालाई दुर्व्यवहार र कुटपिट गर्ने गरेको गाउँलेले बताएका छन् ।
Comment Here!