गाउँघर छाड्ने हतारो


प्रकाशित मिति :2016-03-25 10:10:13

गाउँगाउँमा सडक सञ्जालको विस्तार, हातहातमा मोबाइल फोन । सहरमा काम पाउने आशा र मन परेको साथी छान्ने हतारोजस्ता कारणले कलिलै उमेरका महिला गाउँबाट पलायन हुन थालेका छन् ।

प्रकाश अधिकारी
दैलेख । ५ जेठ ०७२ का दिन तोली गाविस– ५ भुर्सुकी १४ वर्षीया संगीता थापा अचानक बेखबर भइन् । परिवारले गाउँघर, आफन्त, साथीसङ्गी सबैतिर सोधीखोजी गर्‍यो । बिहे गर्ने उमेरसमेत नपुगेकी छोरी अचानक गायब भएपछि बाबुआमा चिन्ताले छट्पटाए । छोरी आउँछे कि कतैबाट, केही खबर सुनिन्छ कि भन्ने आशामै चार दिन बिताए । कुनै अत्तोपत्तो नलागेपछि अभिभावकले हुलियासहित प्रहरीमा निवेदन दिए । अहिले पनि उनको खोजी भइरहेको छ, फेलापरेकी छैनन् ।

नारायण नगरपालिका– ९ की १८ वर्षीया करिना विष्ट हराएको आउँदो माघमा एक वर्ष पुग्छ । संगीताझैँ करिनाको पनि चौतर्फी खोजी भइरहेको छ । उनी पनि बेपत्ता छिन् । करिनाका परिवार, आफन्तजन आत्तिएका छन् । ‘यदि बिहे गरेकी हो भने पनि सुन्न पाए ढुक्क भइन्थ्यो,’ उनका दाजु कृष्णबहादुर भन्छन्, कहाँ छे, के गर्छे भन्नेसम्म सुइँको पाइएन ।’

जिल्ला प्रहरी कार्यालय दैलेखको महिला तथा बालबालिका सेलको भित्तामा हराएका महिलाको हुलियासहितको विवरण टाँसिएको छ । महिला सेलका अनुसार आर्थिक वर्ष ०७०/७१ मा २० महिला हराए, तीमध्ये १२ जना मात्र फेला परे । ०७१/७२ मा हराएका १९ मध्ये १५ फेला परे । त्यस्तै ०७२/७३ को हालसम्मको अवधिमा पाँच महिला हराएको उजुरी पर्‍यो । तीन मात्रै फेला परे । पछिल्ला तीन वर्षको यो अवधिसम्म १४ महिला अझै बेपत्ता छन् । प्रहरीले खोजिरहेको बताए पनि भेटिएका छैनन् । आखिर कहाँ छन् उनीहरू ? किन सम्पर्कमा नआएका होलान् ?

हराएका केहीलाई प्रहरीले फेलापारेको पनि छ । तीन वर्षमा हराएका ४४ मध्ये ३० महिला परिवार तथा प्रहरीको सम्पर्कमा छन् । साटाखानी गाविस– २ सुर्खेतकी २८ वर्षीया कृष्णा ढकाल अघिल्लो वर्ष १८ भदौ ०७१ मा हराइन् । पति गंगाप्रसादले प्रहरीमा खोजीको निवेदन दिए । झन्डै एक वर्षपछि ती महिलाले अर्कैसँग बिहे गरेको खबर पूर्वपति र माइतीमा पठाइन् । हाल उनी दैलेखको कट्टी गाविसमा नयाँ घरजम गरेर बसेकी छिन् ।

विवाहित हुन् वा अविवाहित हराएका धेरैजसो महिला लामो समयपछि मात्र घरपरिवारको सम्पर्कमा आउँछन् । घरपरिवारदेखि भागेर बिहे गर्ने भएकाले उनीहरू सम्पर्कदेखि टाढै बस्न चाहन्छन् । आफ्नो चेलीले बिहेबारी गरेको आफन्तले धेरै ढिला थाहा पाउँछन् । ‘आफ्नी छोरी अचानक गायब हुँदा सबै बाबुआमालाई सास्ती हुन्छ । आफन्तलाई बिहे गरेकोभन्दा पनि कतै दुःखद् घटना भइहाल्यो कि भन्ने चिन्ता हुन्छ,’ महिला सेलमा कार्यरत एक प्रहरी जवान भन्छन्, ‘बिहेभन्दा पनि कतै कसैले ललाइफकाई बेच्न लग्यो कि भन्ने त्रासले आफन्त छट्पटाएका हुन्छन् । केही दिन पर्खाइमा चुपचाप बस्छन् । केही उपाय नलागेपछि हुलियासहित प्रहरीमा आइपुग्छन् ।’

भारतीय सहरसम्म पुगेर पछि आफैँ फिर्ता भएका घटना पनि छन् । कसैले जागिर लगाइदिने आश्वासन दिएर सहर पुर्‍याउने गरेको पनि पाइएको छ । समाजमा आएको परिवर्तनले यहाँका महिलालाई छुनु स्वाभाविक हो । गाउँगाउँ सडक सञ्जालले जोडिनु, हातहातमा मोबाइल फोन हुनु, सहरमा विभिन्न काम पाउने आशा जाग्नुलगायतका कारणले कलिलै उमेरका महिला गाउँबाट पलायन हुन पुग्छन् । यी सब कुराले बिहेबारीलाई सजिलो बनाइदिएको छ । ‘लभ म्यारिज’ अहिले केटाकेटीका लागि फेसनजस्तै बनेको छ । समाज पनि धेरै खुला भइसकेको छ ।
सदरमुकामस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विसी भन्छन्, उमेर नपुग्दै बिहे गर्नेहरूको सङ्ख्या बढ्दो छ । बिहे गर्नलाई भनेर धेरै किशोरी गाउँघरबाटै अचानक हराउँछन् । दुर्भाग्य भनौँ, महिनौँ बितिसक्दासमेत सम्पर्कमा आउँदैनन् ।’ प्रहरीको अभिलेखमा थुपै्र विवाहित महिलासमेत हराएको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरबहादुर वली भन्छन्, ‘कामको खोजीमा ठूला सहरमा पुग्ने र त्यहाँ सोचेजस्तो काम नपाएपछि फिर्ता हुने, अभिभावकबाट लुकेर–भागेर बिहे गर्नेजस्ता कारण उनीहरू केही समय हराउन पुग्छन् ।’ उमेर नपुग्दै गरिने विवाहमा अभिभावकको मञ्जुरी हुँदैन । त्यस्तो अवस्थामा किशोरीहरू भागीबिहे गर्न तम्तयार हुन्छन् । ‘धेरैजसो केटाकेटीलाई माध्यमिक तहको पढाइ नसक्दै बिहे गर्न हतार हुँदोरहेछ,’ डीएसपी वली भन्छन्, ‘यसमा सबैभन्दा ठूलो मद्दत मोबाइल फोनले गर्दोरहेछ ।’
‘केही उपाय नलागेपछि धेरै ढिला प्रहरीकहाँ उजुरी आइपुग्छ । त्यतिबेला चार डाँडा काटिसकेका हुन्छन् । देश छोडिसकेका हुन्छन्,’ डीएसपी वली भन्छन्, ‘सानो उमेरमा हुने विवाह रोक्न बाबुआमा, शिक्षक, सामाजिक क्षेत्रका सम्पूर्ण निकाय क्रियाशील नहुँदासम्म यस्तो समस्या रहिरहन्छ ।’

कानुनले बालविवाहलाई दण्डनीय मानेको छ । बालविवाह न्यूनीकरणका पक्षमा थुपै्र कानुनी व्यवस्था छन् । तैपनि ग्रामीण समाजमा यो अझ बढ्दो अवस्थामा छ । एक अध्ययनले दैलेखको लालीकाँडा गाविसमा दुई वर्षको अवधिमा ८० जोडीले बालविवाह गरेको देखाएको छ । कानुनी अज्ञानता र परम्परागत सामाजिक सम्बन्धका कारण उनीहरूले उमेर नपुग्दै बिहे गरेको देखिन्छ ।

०६८ को राष्ट्रिय जनगणनालाई हेर्दा दैलेखमा १० वर्ष नपुग्दै आठ सय ९४ जनाले विवाह गरेका छन् । १०–१४ वर्ष उमेरमा १३ हजार तीन सय ६४, १५–१९ वर्षको उमेरमा ७० हजार एक सय ६६ ले विवाह गरेको तथ्याङ्क छ । २० वर्ष नपुग्दै विवाह गर्नेहरूको यो सङ्ख्या जोड्दा ८४ हजार चार सय पुग्छ ।

नेपालको बिहेबारीसम्बन्धी कानुनले अभिभावकको सहमतिले १८ र केटा–केटीको आफूखुसी विवाह गर्न पाउने उमेर २० वर्ष तोकेको छ । त्यसभन्दा कम उमेरमा विवाह गरे–गराएको अवस्थालाई बालविवाह भन्ने गरिन्छ । कानुनमा बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि तीन वर्षसम्म कैद र एक हजारदेखि १० हजार रुपैयाँ, बालविवाह गराउने पुरोहित, जन्ती जानेहरू र सहमति जनाउने सबैलाई एक महिना कैद वा एक हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

कानुनी अड्चन, अभिभावकको असहमतिजस्ता कारणले आफ्नो विवाहलाई बालबालिकाले गोप्य राख्ने गरेको पाइन्छ । बिहेको खबर माइतीमा धेरै ढिला पुर्‍याउने, कामका लागि स्वदेशकै सहर–बजार मात्र नभई भारतीय सहरसम्म पुग्ने र त्यहाँ पुगेको खबर घरपरिवारलाई नदिने भएकाले प्रहरीको नजरमा उनीहरू हराएको सूचीमा पर्दछन् । महिनौँ बितिसक्दासमेत बाबुआमाको नजरमा पनि उनीहरू प्रायः बेखबर मानिन्छन् ।

प्रहरीका अनुसार हराएको भनिएकामा सबैभन्दा बढी विवाह गरी बसेका, त्यसपछि राम्रो काम पाउने आशामा सहर पसेकाहरू हुने गर्छन् । फेला नपरेका महिला बिहे गरी टाढा–टाढा अर्थात् भारतीय सहरसम्म पुगेका हुनसक्ने प्रहरीको बुझाइ छ । महिला सेलमा कार्यरत एक प्रहरीका भनाइमा जोडी नै भारत पस्ने वा कुनै काम पाउने आशामा महिला एक्लै स्वदेश–विदेशका सहरमा बसेका पनि हुनसक्छन्, जो हाम्रो हराएको सूचीमा छन् ।
(सञ्चारिका फिचर सेवा)
(प्रकाश, दैलेखका पत्रकार हुन् ।) 

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: