मलाई मानिस बन्नु छ


प्रकाशित मिति :2016-03-26 10:00:12

कतै ओरालो, कतै उकालो, कतै समथर मैदान त कतै देउराली भञ्ज्याङ पार गर्दै एकदिन मञ्जिल चुम्ने आकाँक्षा पालेर म दौडिरहेकी छु, मलाई थाहा छ यो दौडाईले मलाई मान्छे बनाउँनेछ ।

आस्था केसी

Astha KC

‘युवाहरुको गीत’ उपन्यासकी लेखिका याङ्मोले भनेकी छन् —‘यदि तिमी पढ्न चाहन्छौ भने प्रत्येक मानिसको जीवन खुला पुस्तक जस्तै हो ।’मैले कैयौं पटक यो वाक्य सम्झिन्छु । जीवन रहेसम्म मान्छेले भोगेका अनेक थरी कथाहरु पढ्न र कैंयौं जीवन कथाहरु लेख्न चाहान्छु ।
कत्ति धेरै मान्छेका जीवनकथाहरु पुस्तक बनेर आएका छन् । ति मध्ये धेरै किताव त मैले पढ्नै पाएकी छैन । त्यो भन्दा पनि धेरै मानिसहरुको जीवनकथा त लेखिनै बाँकी छ । हो यो संसारका मान्छेहरु मध्येकै एक मान्छे म ।

मेरा पनि आफ्नै छन् जीवनका कथाब्याथाहरु । तिनलाई लेख्ने हुटहुटीमा म आज यो सपना नगरी काठमाडौंसम्म आईपुगेकी छु । हो म आफ्नै सपनाको त्यान्द्रोमा यहाँ आईपुगेकी थिँए । मलाई थाहा थियो अप्ठेराहरु धेरै छन् । म ति अप्ठेरा चुनौतिका पहाड चढ्ने जमर्को गरिरहेकी छु । एउटा सुनौलो क्षितिज देखिरहेकी छु जहाँसम्म पुग्नु छ मैले । त्यो  सपनाको क्षितिज फराकिलो देखिंदैछ यहाँबाट तर त्यहाँसम्म पुग्ने बाटो सहज छैन । धेरै भिमकाय पहाडहरु छन बाटोमा, धेरै तगाराहरु तेर्सिएका छन् । कैयौं ठाँउमा सिस्नुका झाङहरु छन् । कतै ओरालो, कतै उकालो, कतै समथर

मैदान त कतै देउराली भञ्ज्याङहरु पार गर्दै एकदिन मेरो मञ्जिल चुम्ने आकाँक्षा पालेर बस म दौडिरहेछु यात्रामा । दौडिंदैछु यस मानेमा कि मलाई लाग्दैछ म यो दौडमा धेरै पछाडि पारिएकी छु । मैले सामान्य तरिकाले हिंडेर त्यो मञ्जिल चुम्न सक्ने छैन । बिच बाटोमै थाकेर फर्किने अधिकार त मलाई छँदैछैन । जसरी भएपनि मलाई मेरो आकाँक्षाको क्षितिज चुम्नुछ । हो, मलाई यहीं अभिलाषाले मेरो मञ्जिलतर्फ निरन्तर तानिरहेछ त्यसरी नै जसरी कुनै चुम्बकले फलामलाई तानिरहेको हुन्छ । यो दुनियाका मान्छे मलाई बेलाबेलामा टिप्पणी गर्छन् तिमी अति नै ‘रिभ्योलसनरी’ देखिन खोज्दैछौ । टिका लगाउ, सिन्दुर र पोते लगाउ, कानमा स साना टप र आँखामा गाजल लगाउ । आफ्नो लोग्नेले कमाउँछन् तिमी थपक्क केटाकेटी हुर्काएर बस ।’ अक्सर मान्छेहरु मलाई सुझाँउछन् ।

तर मलाई थाहा छ । केही मान्छेहरु मलाई मान्छे भएको हेर्न सक्दैनन् । उनीहरु मलाई ‘डल’ बनाउन खोजिरहेछन् । ‘डल’ मतलब झुम्राको पुतली÷गुडिया । म कहिल्यै गुडिया बन्नेछैन । मलाई पुतली बन्नुछैन । मलाई दुनियाँको सर्बश्रेष्ठ सचेत प्राणी मानिस बन्नु छ ।

म बाँचिरहेको समाजले कत्ति झुठका पुलिन्दा खडा गरिरहेको छ । यो समाजका नाईकेहरुले आफूलाई महान देखाएर कसरी भित्रभित्रै भ्रमको खेती गरिरहेका छन् । त्यो पनि मलाई थाहा छ । आफ्ना प्रेमी र श्रीमानहरुबाट चोखो मिठो माया पाउने आशा र प्रलोभनमा कत्ति महिलाहरु हरेक क्षण आफ्नै मर्जीले बलात्कृत भईरहेका छन् । त्यो पनि मलाई थाहा छ ।

हरेक दिन मूलधारका मिडियाहरुले समाचार भनिरहेका छन् । सात बर्षका अवोध बालिकाहरु ६५ बर्षका हजुर वुवाको वासनाको शिकार भईरहेका छन् ।  वावु आफ्नै छोरीमाथि घोप्टीएर तृप्त भईरहेका छन्  र पनि आमाहरु मुक दर्शक भएर बलात्कृत छोरीलाई थामथुम पारिरहेछन् । किन ति आमाहरुको मनमा आक्रोशको ज्वाला बलिरहेको छैन ? किन ति छोरीहरु बलात्कारी बावुलाई मृत्युदण्डको माग गर्दै सडकहरुमा आगो ओकल्न सकिरहेका छैनन् ? किनकी मलाई लाग्छ, तिनिहरु ‘डल’ बनिसकेका छन् ।

कहाँ छन् मानवअधिकारवादीहरु ? अनि महिला अधिकारका चर्को चर्को नारा उराल्नेहरु किन मौन छन् ? के बिरोधीहरुले डलरको खेती गर्नेहरु भनेर मानवअधिकारवादी र महिलाअधिकारवादीलाई लगाउने गरेको आरोप सत्य हो ? कहाँ छौं हामी मिडियाकर्मीहरु ? कतै हामी पनि डल बनिरहेका त छैनौ ? डल मतलब गुडिया, झुम्राको पुतली । एउटा गुडियाले मात्र हेरिरहन सक्छ हरेक थोक । मान्छे त सचेत प्राणी हो । उसमा प्रतिकृया हुन्छ । तर खोई, समाजका कथित नाईकेहरुको बिरुद्धमा हामीले बिद्रोहको आवाज उठाउन किन चुकिरहेका छौं ?

काठमाडौं बसाईका यी चार महिनाहरुमा मैले आफ्नो पेशागत क्षेत्रमा विकाश त गरेकी छु नै । यो शहरका यावत कुरुप रुपसँग पनि साक्षात्कार गरिरहेकी छु । मलाई मेरो सपनाको क्षितिजमा पुग्नु छ  र त्यहाँ पुग्ने लालसा ममा कत्ति छ भने म हिंडिरहेकी छैन कुदिरहेकी छु । मलाई थाहा छ , त्यहाँ कुनै ‘डल’हरु छैनन् । केवल सचेत आत्मा भएका मान्छेमात्र छन् । लिंगको आधारमा भाषाको आधारमा र जातको आधारमा त्यहाँ कुनै बिभेद छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: