भूकम्पले सिकाएको पाठ


प्रकाशित मिति :2016-03-27 10:00:52

भूकम्पले पुर्‍याएको जनधनको क्षतिले समाजका केही क्षेत्रमा राम्रो पाठ पनि सिकायो । भूकम्प गएयता शंखरापुर नगरपालिकाका बस्तीमा समूहमा मिलेर काम गर्ने, सीप सिक्ने र आत्मनिर्भर बन्ने क्रम बढ्दै गएको छ

सविता श्रेष्ठ
काठमाडौं । वैशाख १२ को भूकम्पले चारतले घर भत्किएपछि शंखरापुर नगरपालिका (साँखु) वडा नम्बर ८ सुन्टोलकी ३७ वर्षीया पञ्चलक्ष्मी मानन्धरको तीनजनाको परिवार स्कुलको चौरमा टेन्ट बनाएर बस्यो । करिब एक महिनापछि भूकम्पको त्रासदी केही कम भएपछि उनीहरू महिनाको तीन हजार एक सय तिरेर भाडाको कोठामा सरे ।

खेतीपाती र ज्याला–मजदुरीबाट हुने आम्दानीले घर खर्च जुटाउने उनको परिवारलाई भूकम्पपछि काम नपाउँदा खर्च धान्न गाह्रो प¥यो । ‘घर भत्केको र ज्यालामा काम नपाएको बेला महँगो भाडा तिर्न गाह्रो भाथ्यो,’ आफ्नो पीडा बताउँदै पञ्चलक्ष्मी भन्छिन्, ‘समूहले बस्ने टहरा बनाइदिएपछि सजिलो भयो ।’ पञ्चलक्ष्मी सदस्य रहेको सिर्जनशील श्रमिक महिला समूहले भूकम्पका कारण घर भत्केका सदस्यका लागि टहरा बनाइदिएको हो ।

पञ्चलक्ष्मीको परिवार ३० भदौ ०७२ मा समूहले बनाइदिएको टहरामा सरेको हो । उनी खेतीपाती र मेलापातपछि हुने फुर्सदमा समूहमा आबद्ध भएर बुनाइको काम गर्छिन् । ११ वर्षको उमेरदेखि स्विटर बुन्दै आएकी पञ्चलक्ष्मी अहिले महिनामा ६ वटासम्म स्विटर बुन्न सक्छिन् । डिजाइनअनुसार एउटा स्विटर बनाएको ६ सय रुपैयाँसम्म ज्याला पाउँछिन् । खेतीपाती र ज्यालामजदुरीपछि उनको आयआर्जनको पेसा स्विटर बुनाइ हो ।

समूहले टहराको व्यवस्था नगरेको भए महँगो भाडा तिरेर बस्दा बेहाल हुन्थ्यो भन्ने पञ्चलक्ष्मीलाई थाहा छ । भूकम्प सम्झिँदा अझै उनलाई डर लाग्छ । भन्छिन्, ‘काँडा उम्रन्छ, त्यो दिन नसम्झिऊँ ।’ टहरामा बस्न थालेपछि अहिले उनको मन रमेको छ । दैनिक गरिआएको खेतीपाती र बुनाइको काम गरिरहेकै छिन् । समूहको सदस्य बनेपछि उनलाई फुर्सदिलो भएर बस्नुपरेको छैन । ‘काम पाइराखेकी छु,’ उनी भन्छिन्, ‘घर नहुँदा बस्न पाइयो, राम्रो भयो ।’

सिर्जनशील समूहले भूकम्पपीडित, आर्थिक अवस्था कमजोर भएका शंखरापुर नगरपालिकाका २० परिवारका लागि वडा नम्बर ८ मा एकै ठाउँमा टहरा निर्माण गरेको हो । महिला समूहको उत्पादन खरिद गर्ने सनराइज संस्थाको पहलमा जापानिज नागरिक यु हारा सेन्ट्रोले दुईवटा हलसहित २० वटा टहरा निर्माण गरिदिएका हुन् । टहरा निर्माण गरिएको ठाउँ अहिले सिर्जनशील टोल भनेर चिनिन्छ । ६ साउनदेखि सदस्यलाई टहरामा बस्ने व्यवस्था गरिएको हो । टहरामा बसेबापत एक परिवारले दुई वर्षका लागि तीन हजार रुपैयाँ भाडा बुझाउनुपर्ने सर्त छ ।

दुई वर्षका लागि जग्गा लिजमा लिएर पानी, शौचालय तथा विद्युत्सहितका आधारभूत सुविधा भएको टहरा निर्माण गरिएको सिर्जनशील समूहकी अध्यक्ष राज्यलक्ष्मी श्रेष्ठले बताइन् । सबै परिवारका लागि बाँसले बारेको, टिनले छाएको १८ र १५ फुट लम्बाइ र चौडाइ भएको टहरा बनाइएको हो । चार परिवारका लागि एउटा शौचालय छ । ‘हलमा महिला दिदीबहिनीहरू बसेर बुनाइको काम गर्छन्,’ राज्यलक्ष्मीले बताइन् ।

समूहकै पहलमा घर भत्किएकै ठाउँहरूमा २२ परिवारका लागि टहरा निर्माण गरिएको छ । लुमन्तीले बनाइदिएको टहरामा समूहको सदस्य नरहेका परिवार पनि बसोवास गर्छन् । समूहमा ८२ जना सदस्य छन् । सदस्यका लागि सिलाइ, बुनाइ, इम्ब्रोइडरीलगायतका सीपमूलक तालिम समूहले उपलब्ध गराएको छ ।

समूहले सीप सिकेका सदस्यलाई ऊनीका सामान बनाउने काम दिँदै आएको छ । अर्डरअनुसार स्विटर, पञ्जा, मोजा, टोपी, मफलरलगायतका ऊनका सामग्री बनाउने गरेको अध्यक्ष राज्यलक्ष्मी बताउँछिन् ।

सानु श्रेष्ठको चारजनाको परिवार पनि समूहले बनाइदिएको टहरामा बसिरहेको छ । ‘कमाएर खाने हो,’ आफ्नो जीविकोपार्जनबारे बताउँदै उनी भन्छिन्, ‘खेतमा काम हुँदा जान्छु । यो वर्ष धान गोड्ने, धान काट्ने, आलु खन्ने काम गरेर घर चलाएकी छु ।’ उनी फुर्सदको समयमा ऊनीको सामान बुन्छिन् ।

पञ्चलक्ष्मी र सानु जसरी नै समूहमा आबद्ध भएर २८ वर्षीया रिना श्रेष्ठ पनि ऊनीको बुनाइको काम गर्छिन् । समूहमा बसेर सिकेको सीप आम्दानीको बाटो भएको छ । फुर्सदको समयमा बुन्ने काम गर्दा मासिक चार हजारसम्म आम्दानी हुने उनी बताउँछिन् । समूहमा आबद्ध भएको कारणले नै भूकम्पका कारणले घर भत्किँदा बसाइको व्यवस्थापन हुन सकेको रिनाले बताइन् ।

भूकम्पका कारण धेरै धनजनको क्षति भएको नगरपालिकामा शंखरापुर पनि पर्छ । नगरपालिकाका धेरैजसो घर पूर्ण रूपमा क्षति भएका छन् । ४८०२ घरधुरी रहेको नगरपालिकामा ३२३८ घर पूर्ण र ७६९ घर आंशिक क्षति भएको नगरपालिकाका कर्मचारी न्हुछे नकर्मी बताउँछन् । यस नगरपालिकामा ९७ जनाको मृत्यु भएको थियो भने १७८ घाइते भएका थिए ।

नगरपालिकाभित्रको चारवटा प्रमुख ढोकाहरूबीचको बस्ती भनेर चिनिएको साँखुमा भूकम्पले धेरै क्षति पुर्‍यायो । नगरपालिकाको १५ वडामध्ये ८, ९, १० र ११ नंं. वडा साँखुमा पर्दछन् । साँखुका धेरैजसो परिवार टहरा बनाएर बसिरहेका छन् । नेवार समुदायको पुरानो बस्तीका रूपमा साँखुलाई चिनिन्छ । इँटा र माटोबाट बनाइएका पुराना घरहरू भएकाले साँखुमा धेरै घर भत्किएका हुन् ।

कृषकको बस्तीको रूपमा परिचित साँखुमा तरकारीसँगै धान र आलुको खेती गरिन्छ । साँखुका मानिस वर्षमा दुईपटक आलुखेती गर्छन् । मङ्सिर र चैतमा आलु खनेर बेच्छन् । साँखु इपाटोलकी ४६ वर्षीया ललिता श्रेष्ठले चार रोपनी जमिन भाडामा लिएर तरकारी खेती गरेकी छिन् । बारीमा उनी आलु र धानखेती गर्छिन् । धान काटेपछि काउली, बन्दा, लसुन, प्याज लगाउँछिन् । भूकम्पले घर भत्किएपछि उनकोपरिवार तीन महिना तरकारी खेती गर्न बनाएको प्लास्टिकको टनेलमा बसेको थियो ।

अहिले टहरा बनाएर बसेको ललिताले बताइन् । गएको वैशाखमा भूकम्प जानुअघि उनले बारीमा टमाटरको बेर्ना लगाएकी थिइन् । भूकम्पले त्यसबेला बेर्नाको हेरचाह गर्न नसकेको बताउँदै उनी भन्छिन्, ‘काम गर्न हात नै चलेन, पछि दोहोर्‍याएर बेर्ना रोपेको ।’ उनका श्रीमान् साँखुकै एक स्कुलमा पढाउँछन् । बेमौसमी र मौसमी तरकारी खेतीबाट हुने आम्दानीले पाँचजना सदस्य रहेको आफ्नो घरखर्चको जोहो हुने ललिता बताउँछिन् ।

महिला किसानलाई सहयोग गर्न साखुमा कृषक महिलाको सङ्गठन महिला किसान समूह पनि रहेको छ । ३० सदस्य रहेको समूहका सदस्यले बचत गर्ने र आवश्यक परेमा ऋण लैजाने गरेको अध्यक्ष जुलुम श्रेष्ठ बताउँछिन् ।

दुर्गाहिटी टोलकी ३७ वर्षीया शर्मिला श्रेष्ठ सारी, सलमा बुट्टा भर्ने काम (इम्ब्रोइडरी) गर्छिन् । उनी आफू सीपमूलक काम गर्छिन् भने यही सीप अरूलाई पनि सिकाउँछिन् । बुट्टा भर्नका लागि आउने अर्डरहरू पूरा गर्न गाउँका अरू दिदीबहिनीको सहयोग लिन्छिन् । समूहमा आबद्ध हुँदा सामूहिक कार्य गर्नका लागि प्रोत्साहन हुने गरेको शर्मिला बताउँछिन् । उनी भन्छिन्, ‘समूहको बसाइले सीपमूलक काम गर्न र क्षतिमा पनि महिलालाई एकजुट बनाउन सहयोग गरेको छ ।’

(सञ्चारिका फिचर सेवा)
(सविता, काठमाडौंकी पत्रकार हुन् ।)      
 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: