खेमा बस्नेत
कैलाली। धनगढी उपमहानगरपालिका २ स्थित शारदा उच्च मा.वि.की पूर्व प्राचार्य बिमला पन्त ओझाले क्षतिपूर्ति सहित प्राचार्यमा पुनर्बहाली गरिनुपर्ने माग गरेकी छन्। अहिले जिल्ला प्रशासन कार्यालयले छानविन गरी आफूलाई निर्दोष रहेको प्रमाणित गरिसकेकाले अब आफूलाई क्षतिपूर्ति सहित प्राचार्यमा पुनर्बहाली गरिनुपर्ने उनको भनाइ छ।
ओझालाई बिद्यालयमा आर्थिक अनियमितताको आरोप लगाई २०७१ वैशाख २८ गते राजिनामा गर्न लगाईएको थियो। दुई वर्षसम्म मलाई मानसिक यातनाका साथै, सामाजिक प्रतिष्ठामा समेत आँच आउने गरि आरोप लगाएको र आफू निर्दोष रहेको सरोकारवाला सबै निकायमा जानकारी गराउँदा पनि कसैले आफ्नो आवाज नसुनेको ओझाको गुनासो छ। ओझाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र केही शिक्षकले बाध्य बनाएर आफूलाई प्राचार्यबाट राजिनामा गर्न लगाएको बताईन्।
आफूलाई समितिका पदाधिकारीहरूले लगाएको आरोप गलत रहेको र जिल्ला प्रशासन कार्यालयबाट पनि सफाई पाईसकेको बताईन्। उनले भनिन्–’म माथि लगाईएका आरोपहरूको मैले गरेको खण्डनको प्रमाणहरू नै नहेरी उल्टै थप आरोप लगाएर मलाई कोठामा एक्लै घेराबन्दीमा पारेर राजिनामा दिन बाध्य पारियो।’
उनले आफूले आर्थिक अनियमितता नगर्नुका साथै विद्यालयको शैक्षिक प्रतिष्ठामा कुनै पनि आँच नआउने गरि समयको र समुदायको माग अनुसार गुणस्तर शिक्षा दिने काम गरेको पनि दाबी गरिन्। शारदा उमाबिमा अन्य धेरै अनियमितता भईरहेको ओझाले बताईन्।
उनले विद्यालयमा लेखापाल नियुक्त गर्दा विद्यालय व्यवस्थापन समितिको सदस्यमा रहेका व्यक्तिलाई पदपुर्ति समितिमा राखेर उनकै श्रीमतीलाई लेखापाल बनाईएको, कक्षा दशमा पढने विद्यार्थीबाट ट्युसन शुल्क भनेर प्रति विद्यार्थी एकहजार रुपैयाँ उठाइएको, शिक्षक राख्ने प्रकृया नै नियम विपरित रहेकोलगायत कुार अनियमितता बिद्यालयमा भइरहको पन्तको भनाइ छ।
Comment Here!