आफ्नो कमाइमा गौरव


प्रकाशित मिति :2016-03-28 10:23:39

रहर र बाध्यताले इटहरीका केही महिला विद्युतीय रिक्सा चलाउन घरबाहिर निस्किएका छन् । बजारको प्रतिस्पर्धामा आएपछि उनीहरूमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ ।

विराट अनुपम
सुनसरी । एघार वर्ष पहिले अन्तरजातीय विवाह गरेकी अञ्जु राई (खड्का) गाडीमा यात्रा गर्दा महिलाले किन गाडी नचलाएको होला, चलायो भने सकिन्छ कि सकिँदैन भनेर सोच्ने गर्थिन् । तर, समय यति बदलियो कि उनी आफैँ अहिले इटहरीमा तीनपाङ्ग्रे विद्युतीय रिक्सा चलाउँछिन् ।

बयरबना टोल इटहरीकी अञ्जुको विद्युतीय रिक्सा वर्तमानको बाध्यता हो । केही वर्ष विदेश बसेर आएका घरको एक्लो आम्दानीकर्ता श्रीमान् सवारी दुर्घटनामा घाइते भएपछि अञ्जुको बाटो मोडियो । परिवार पाल्न र श्रीमानको उपचार खर्च जोहो गर्न उनी रिक्सा चलाउँछिन् । कुदाइरहेको रिक्सा रोकेर इटहरी चोकमा कुरा गर्दै अञ्जुले भनिन्, ‘एउटा छोरा दश वर्षको छ, छोरी सत्र महिनाकी । श्रीमानको खुट्टाको स्टिल फेर्नु छ । पैसा चाहियो । त्यही भएर मैले रिक्सा कुदाउन सुरु गरेँ ।’

रिक्सा कुदाउनुअगाडि गृहिणीमा सीमित अञ्जुले परिवारको आर्थिक दायित्व आफ्नो काँधमा आएपछि पाँच सय रुपैयाँ तिरेर सिटी सफारी भनिने विद्युतीय रिक्सा चलाउन सिकिन् । उनले बीपी चोककी रीता चौहानसँग दैनिक सात सय रुपैयाँ किस्ता तिर्ने सर्तमा रिक्सा भाडामा लिएकी छिन् । अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी खुसी छिन् ।

पुरुषले मात्र सवारीसाधन चलाउन सक्छन् भन्ने सोच भएको पूर्वीतराईको समाजमा अञ्जुजस्ता धेरै महिला विद्युतीय रिक्सा चलाएर आत्मनिर्भर बनिरहेका छन् । यसबाटै राम्रै आम्दानी हुने भएपछि उनीहरूले श्रीमान् वा सासूससुराको भर पर्नुपरेको छैन ।

विसनपुर– २२ इटहरीकी शर्मिला दनुवार पनि इटहरी नगर क्षेत्रमा रिक्सा चलाउँछिन् । आफू, दुई छोरा र एक हजुरआमासँगै बस्ने दनुवारका श्रीमान् विदेशमा छन् । घरपरिवार पाल्न शर्मिलाको कमाइले पुगिरहेको छ । उनकी आमा ५० वर्षीया कमली चौधरी पनि सिटी सफारी चलाउँछिन् । आफ्नै पैसामा विद्युतीय रिक्सा किनेर चलाएकी दनुवारका भनाइमा दैनिक घटीमा हजार र बढीमा पैंतीस सय रुपैयाँसम्म कमाइ हुन्छ । उनले धरान, खनार, बेलबारी र इटहरीका हटियाहरूमा कुखुरा–हाँस बेच्ने काम छाडेर सिटी सफारी चलाउन सुरु गरेकी हुन् ।उनी भन्छिन्, ‘कसैले निःशुल्क ड्राङभिङ सिकायो भने म ठूलो गाडी पनि हाँक्न सक्छु ।’

इटहरी बसपार्कमा फलफूल बेच्ने काम छाडेर सिटी सफारी चलाउन थालेकी बज्राह– ६ इटहरीकी सीता परियार आफूलाई सिटी सफारीको आकर्षक आम्दानीले यसतर्फ तानेको बताउँछिन् । इटहरीको एउटा कलेजमा होटल म्यानेजमेन्ट पढ्ने छोरा र एक शिक्षिका छोरीकी आमा परियार र उनका श्रीमान् दुवै सिटी सफारी चलाउँछन् । उनी इटहरीकै पहिलो सिटी सफारीचालक हुन् । खुसी हुँदै उनले भनिन्, ‘मैले सिटी सफारी चलाएको वर्ष दिन भयो । नगरपालिकाले प्रमाणपत्र पनि दिएको छ ।’ फलफूल पसलमा एकै ठाउँमा बसेर व्यापार गर्नुपर्ने तर सिटी सफारीमा भने सहरभरि डुलेर काम गर्न पाइने लोभ उनीहरूमा छ । परियार थप्छिन्, ‘फेरि आफँैलाई यताउता जान र सरसामान ओसारपसार गर्न पनि सफारीले सजिलो बनाइदिएको छ ।’

पछिल्लो समय तराईका सहरहरूमा बढ्दो विद्युतीय रिक्सा (सिटी सफारी)मा महिलाको आकर्षण बढेको छ । बिजुलीबाट चार्ज गरेर कुदाउन मिल्ने सिटी सफारीमा विद्युत् खपत पनि निक्कै थोरै लाग्छ । त्यसैले पेट्रोल अभावको समयमा पनि यो राम्रो वैकल्पिक सवारी भएको र चलाउन पनि खासै समस्या नभएकाले यसमा महिलाको आकर्षण बढेको छ ।

रिक्साभन्दा धेरै यात्रु अटाउन मिल्ने तथा कार, भ्यान, जिपको विकल्पमा छोटो दूरीमा कुदाउन सकिने हुनाले सिटी सफारीको प्रयोग बढ्दै गएको सफारी आयातकर्ताहरू सुुनाउँछन् । इटहरीमा मात्रै पन्ध्र सयभन्दा बढी सिटी सफारी सञ्चालनमा छन् । सञ्चालकहरूका भनाइमा पुरुषको तुलनामा महिला चालकको सङ्ख्या न्यून भए पनि ठूला सवारीका तुलनामा सिटी सफारीका महिला चालक धेरै छन् ।

यहाँ पनि भेदभाव भने कायमै छ । दुई महिनायता सिटी सफारी चलाउँदै आएकी अञ्जु राईका अनुसार पुरुष चालकले हेयको दृष्टिले हेर्ने गर्छन् । महिलाकोमा यात्रुहरू चढे भने पुरुषहरू खिल्ली उडाउने र आरिस गर्ने गर्छन् । राई थप्छिन्, ‘सुन्नेगरी त भन्दैनन्, तर हाउभाउ देखाउँछन् । महिला हिँडेपछि हाँसो उडाउँछन् ।’

इटहरीमा सिटी सफारी भित्रिनासाथ चलाउन थालेकी सीता परियारका पनि आफ्नै नमीठा भोगाइ छन् । सफारी स्टेन्डबारे पुरुषले महिलालाई हेप्ने गरेको परियार बताउँछिन् । ‘कहिलेकाहीँ सफारी स्टेन्ड लगाउन जाँदा पुरुष चालकहरूले स्टेन्ड नलगाऊ भन्छन्,’ परियार आफ्नो पीडा पोख्दै प्रश्न गर्छिन्, ‘हामी बिहान दुई बजेबाट आएको भनेर ठाउँ दिँदैनन् । एउटी महिला कसरी बिहानै दुई बजे आउन सक्छे ? घरको काम कसले हेर्छ ?’

रात्रिबसबाट आएका यात्रुहरू ओसारपसार गर्न पाए थप आम्दानी हुन्थ्यो । तर, घरको कामले एकाबिहानै र राति सफारी कुदाउन असहज हुन्छ । १७ महिने बच्चाकी आमा अञ्जु राई बिहानै उठेर घरको काम सकेर बाहिर निस्किन्छिन् । उनी भन्छिन्, ‘सानो नानीलाई हेरचार अनि तीन कक्षा पढ्ने १० वर्षको छोरालाई स्कुल पठाएर, घरको काम सक्दा छिटोमा साढे नौ वा दश बज्छ । बिहान दश बजे निस्केर बेलुका नानी हेर्न पाँच बजे घर आउनैपर्छ ।’ राईजस्तै सीता परियार र शर्मिला दनुवार पनि सीमित समय मात्रै सफारी चलाउँछन् । दनुवार भन्छिन्, ‘बिहानै र बेलुका दुई–चार घन्टा बढी चलाउन पाए थप कमाउन सकिन्छ, तर घर र बच्चाहरूलाई पनि समय दिनैपर्‍यो ।’

सिटी सफारीका यात्रु भने सहयोगी हुने महिला चालकहरूको अनुभव छ । अञ्जु राईका प्यासेन्जर प्रायः महिला नै हुन्छन । सबै महिला आफ्नो सफारी चढ्नासाथ महिलाले पनि सबै काम पुरुषले जस्तै गर्न सक्छन् भनेर आफूलाई हौसला दिने गरेको राई बताउँछिन् । महिला चालकले नचाइँदो भाडा नलिने भन्दै आफ्नो सफारीमा सबैखाले यात्रु चढ्ने महिला चालक बताउँछन् । अञ्जुलाई छिमेकी र चिनेजानेका साथीभाइहरूले समेत हौसला दिन्छन् । उनी भन्छिन्, ‘आफ्नो कामलाई अरूले हौसला दिँदा खुसी लाग्छ ।’

(सञ्चारिका फिचर सेवा)
(विराट, इटहरीका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: