महिला खबर
काठमाडौं। यहि चैत १९ गतेदेखि ३ दिनसम्म काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमीहरूद्वारा उत्पादित बस्तुहरूको अन्तर्राष्ट्रिय प्रर्दशनी नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको महिला उद्यमी महासंघले जनाएको छ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने मेलाको राष्ट्रपति बिद्या भण्डारीले उद्घाटन गर्नुहुने महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकाश तथा निर्यात व्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो। व्यापार मेलामा नेपालका साना तथा मझौला महिला उद्यमी,महिला निकायकर्ताका साथै अन्तराष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको समेत सहभागिता रहने छ। महिला उद्यमी महासंघ नेपाल, वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार निर्यात प्रबर्द्धन केन्द्रको संयोजन र अन्तर्राष्ट्रिय श्रम संगठन ILO को सहयोगमा मेला आयोजना गर्न लागिएको हो।
अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा थान्का बुनाई , रत्न पत्थर कटाइ , हस्तकला ,पहिरनका सामानहरू , कृषि उत्पादन , जैविक उत्पादन र सूचना प्रविधिसम्बन्धि लगायत सामग्रीका ७० वटा स्टल राखिने छ। मेलाले महिला उद्यमीको श्रम र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उनीहरूको पहिचान बनाउन सघाउ पुर्याउनुका साथै अगाडि बढ्न प्रोत्साहित गर्ने विश्वास आयोजकको रहेको छ।
मेलामा सार्क राष्ट्र , जापान र युरोपलगायतबाट ५० जना भन्दा बढी विदेशी आयातकर्ता आउने अपेक्षा राखिएको छ। करिव १ लाखले अवलोकन गर्ने अनुमान गरीएका मेलामा कुल कारोवार ५ करोड भन्दा बढी हुने अपेक्षा राखिएको छ ।
Comment Here!