सिर्जना अर्याल
चितवन। एस.एल.सी परिक्षा दिन लागेका चितवनका छात्रालाई महिनावारी हुँदा लागाउने सेनेटरी प्याड वितरण गरिएको छ। एस.एल.सी परिक्षाकाे समयमा महिनावारी हुँदा छात्रालाई हुने असहजतालाई मध्यनजर गर्दै सेनेटरी प्याड वितरण गरिएको हो। एस.एल.सी परिक्षा सञ्चालनको लागि चितवनका तोकिएका ३९ वटा केन्द्रका केन्द्राध्यक्षलाई हात धुने सावुन सहित सेनेटरी प्याड उपलब्ध गराइएको छ।
जिल्ला शिक्षा कार्यालय चितवनको आयोजनामा भएको कार्यक्रमलाई समृद्ध महिला विकास केन्द्रले समन्वय गरेको थियो भने भरतपुर उपमहानगरपालिकाले सहयोग गरेको थियो।
प्याड वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले छात्राको समस्यालाई सम्बोधन गर्दै कार्यक्रमको आयोजना गरिनु सकरात्मक काम भएको बताउनुभयो।
समृद्ध महिला विकास केन्द्रकी अध्यक्ष विनिता चापागाइले महिनावारीको समस्या सुन्दा सानो भएपनि यसले छात्रालाई अप्ठेरोमा पार्ने हुँदा सेनेटरी प्याड वितरण गरिएको जानकारी दिनुभयो। परिक्षाको समयमा महिनावारी भएका छात्राको सहजतालाई ध्यानमा राखिएको चापागाइको भनाई छ।
चापागाइका अनुसार चितवनका विभिन्न ३९ वटा केन्द्रमा गरी २० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड तथा हात धुने सावुन वितरण गरिएको छ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले छात्राको समस्यालाई ध्यानमा राखेर सेनेटरी प्याड वितरण गर्नु राम्रो भएको प्रतिक्रिया दिनुभयो। यसैबिच, चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले चितवनका सबै केन्द्राध्यक्षलाई मर्यादित ढंगबाट परिक्षा सञ्चालन गराउन पनि आग्रह गर्नुभयो।
Comment Here!