छाउपडीले महिलाको ज्यान नै जोखिममा पारेपछि पश्चिम सुर्खेतका गाउँगाउँमा अहिले छाउगोठ भत्काउने अभियान चलेको छ । सुखद पक्ष स्थानीय धामीहरूले समेत यो अभियानमा साथ दिन थालेका छन् ।
ललितबहादुर बुढा
सुर्खेत । ०७१ साल मङ्सिर महिना, मुटु नै कमाउने चिसो रात । सुर्खेत गुटुकी निर्मला बर्तौलालाई महिनावारी भएका बेला घरमा सुताउँदा देउता रिसाउने भन्दै परिवारका सदस्यले टाढाको छाउगोठ (सानो झुप्रो)मा सुत्न पठाए । निर्मलाले परिवारको आग्रह नकार्न सकिनन् । उनी छाउगोठमा एक्लै सुतेकी थिइन् । महिनावारीको बेला भएकाले मध्यरातमा उनको पेट निकै दुख्यो, पीडा सहन नसकेर उनी बेहोस नै भइन् । कतिबेला उनी गोठबाट भुइँमा खस्न पुगिन् पत्तो भएन । परिवार र आफन्तले बिहान उज्यालो भएपछि मात्र घटनाबारे जानकारी पाए । गोठबाट खसेर घाइते भएकी निर्मलाको उपचारका क्रममा ज्यान गयो ।
केही वर्षअघि मात्र पश्चिम सुर्खेतको घाटगाउँमा महिनावारी भएको बेलामा छाउगोठमा सुतेकी सरिता कुमाल (नाम परिवर्तन) बलात्कारमा परिन् । महिनावारी भएको बेलामा छोरीलाई घरभित्र सुताउँदा देउता रिसाउने र परिवारमा अनर्थ हुने डरले सरिताको परिवारले उनलाई घरदेखि टाढा बनाइएको छाउगोठमा सुत्न पठाए । साउनको मध्यरात छाउगोठमा एक्लै सुतेकी सरितामाथि गाउँकै युवाले सामूहिक बलात्कार गरे । घरदेखि टाढा र रातको समय भएकाले कसैले थाहा पाएनन् । अहिले सरिता मानसिक रूपमा विक्षिप्त छिन् । धार्मिक अन्धविश्वास र सामाजिक कुरीतिका कारण महिनावारी भएको बेला छाउगोठमा सुत्न बाध्य पारिएकी निर्मलाले अकालमै ज्यान गुमाउनुपर्यो भने सरिताले बलात्कृत हुनुप¥यो ।
महिनावारी हुँदा छाउगोठमा सुत्नुपर्ने बाध्यताविरुद्ध पश्चिम सुर्खेतका महिला विरोधमा उत्रिएका छन् । गाउँमा निर्माण गरिएका छाउगोठहरू महिला आफैँले नै धमाधम भत्काउन थालेका छन् । जिल्लाको बाबियाचौर, विद्यापुर, तातापानी, घाटगाउँ, सालकोट, गुटु र बेतानलगायतका क्षेत्रमा स्थानीय महिला र किशोरीले सङ्गठित रूपमा नै छाउगोठहरू ज्यानमारा भएको भन्दै भत्काउन थालेका हुन् । छाउपडी प्रथाले महिलाको ज्यान नै जोखिममा परेको भन्दै उनीहरूले यो अभियान चलाउन थालेका हुन् । हुँदाहुँदा अहिले स्थानीय धामीहरूले समेत यो अभियानमा साथ दिन थालेका छन् ।
गुटुमा स्थानीय किशोरीले गाउँका छाउगोठहरू भत्काएपछि स्थानीय रत्ना गुरुङले महिनावारी भएको बेलामा पहिलोपटक घरभित्र सुत्न पाइन् । उनी भन्छिन्, ‘गाउँका सबैले घरभित्र पस्दा देउता रिसाउँछन् भने, त्यही भएर ३० वर्षसम्म महिनावारी हुँदा म घरदेखि टाढा बाख्राको खोर र गाईको गोठमा सुतेँ । गाउँका सबै छाउगोठ भत्काइदिएपछि यो वर्षबाट बल्ल घरभित्र सुत्न थालेकी छु ।’ खुसी हुँदै उनले भनिन्, ‘यो चलन गलत रहेछ, अहिलेसम्म खै देउता रिसाएका छैनन् त ?’ आफूले अब छोरी र बुहारीलाई पाखा सरेको बेलामा पनि घरभित्रै राख्ने र मीठो–मसिनो खान दिने उनको भनाइ छ ।
वर्षौंदेखि महिनावारीको समयमा छाउगोठमा सुत्दै आएकी स्थानीय महिला धुपीसरा गिरीले घरभित्र सुत्न पाएकोमा खुसी व्यक्त गरिन् । आफ्नो पीडाको बेलिबिस्तार लाउँदै उनले भनिन्, ‘नछुने भएको बेलामा कहिल्यै घरभित्र सुत्न पाइनँ । चिसो रातमा पनि गोठमै सुतेँ । वर्षात्को बेलामा पनि भिज्दै खुला आँगनमा बिताएँ । अहिले त नयाँ जीवन पाएजस्तो लागेको छ ।’
छाउपडी प्रथा कायमै रहेका ठाउँमा अहिले पनि अविवाहित महिला भए सात दिनसम्म र विवाहित महिलाले पाँच दिनसम्म महिनावारी भएको बेला छाउगोठमा बस्नुपर्ने बाध्यता छ । तर, जिल्लाको पश्चिम क्षेत्रमा भने महिला र किशोरीले छाउपडी प्रथा अन्धविश्वास भएको र छाउगोठहरू ज्यानामारा भएको भन्दै यसको विरोधमा अभियान नै सुरु गरेका छन् । गुटुनिवासी किशोरी ममता जोशी भन्छिन्, ‘छाउगोठमा सुतेकै कारण निर्मलाको ज्यान गयो, धेरै महिलाले दुःख पाए । अब ज्यानमारा छाउगोठमा किन सुत्ने ? त्यसैले हामीहरूले गाउँका सबै छाउगोठ भत्कायौँ ।’
किशोरीहरू मात्र होइन, अहिले छाउपडीको विरोधमा पुरुषहरूसमेत सक्रिय छन् । बाबियाचौरमा स्थानीय युवा र बालबालिका मिलेर गाउँमा रहेका सबै छाउगोठ भत्काइदिएका हुन् । स्थानीय युवा प्रेम सुनारले भने, ‘छाउगोठमा बस्दा हाम्रा आमाले निकै दुःख भोगे, दिदीबहिनी बलात्कृत हुनुप¥यो । यो दयनीय अवस्था हामीले हेर्न सकेनौँ, त्यही भएर नै हामीले गाउँमा रहेका सबै गोठ भत्काएका हौँ ।’ उनका भनाइमा पहिला देउता रिसाउँछन् भन्ने गाउँका धामीहरूसमेत हिजोआज छाउगोठ भत्काउन अग्रसर हुन थालेका छन् । धामीहरूले समेत साथ दिएपछि अभियान सफल भएको उनको भनाइ छ ।
गाउँमा छाउपडीविरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायले चेतनामूलक अभियान थालेपछि धामीहरूको परम्परागत सोचमा पनि परिवर्तन आएको छ । बेतान गाविसका नन्दकला सावदका श्रीमान् गाउँमा नाम चलेका धामी हुन् । तर, नन्दकला महिनावारी हुँदा पनि घरभित्र बस्छिन् । गाविसमा सञ्चालन गरिएको छाउपडी उन्मूलन अभियानको प्रभाव हो यो । नन्दकला भन्छिन्, ‘पहिला सात दिनसम्म छाउगोठमा बस्नुथ्र्यो, अहिले घरभित्रै बस्छु ।’ उनले आफ्नो घरमा रहेको छाउगोठ आफैँ भत्काएको बताइन् । ‘श्रीमान् आफैँ धामी हुनुहुन्छ,’ उनले भनिन्, ‘पहिला हामी महिनावारीको समयमा घरभित्र पसे देउता रिसाउँछन् भन्थे, अहिले त्यही घरभित्रै बस्दा पनि कोही रिसाएका छैनन् ।’
(सञ्चारिका फिचर सेवा)
(ललित, सुर्खेतका पत्रकार हुन् ।)
Comment Here!