बालविवाह :महिलाका लागि अभिसाप


प्रकाशित मिति :2016-03-30 14:21:52

२०६८ को जनगणनाका अनुसार  सुदूरपश्चिमका ४८ प्रतिशत मानिसको बिबाह बालकैमा गरिदिइन्छ । केही ठाउँमा त बालबिबाह योभन्दा बढी हुनेगर्छ ।  बालबिबाह र कम उमेरमा बच्चा जन्माउँदा  महिलाको प्रजनन्देखि समग्र स्वास्थ्य र उसको आर्थिक र सामाजिक जीवनमै गम्भीर नकारात्मक असर परिरहेको छ ।

निर्मला भट्ट
डडेल्धुरा ।  बगरकोटकी पुष्पा टमटा  १६ वर्षकी हुँदा उनको बिहे भयो । त्यसपछिका दुई वर्षमा उनको गर्भ दुई पटक खेर गईसक्यो ।
स्वास्थ्य चौकी जाँदा कलिलो उमेरमै गर्भ रहेका कारण समस्या आएको भन्छन् । तर घरका मानिसले चाहिँ यसको कारण अर्कै ठानेका छन् । उनलाई गर्भ तुहाएको भनेर घरकाले अलिच्छिना भनेर सराप्न थालिसके ।

सुदूरपश्चिम नेपालमा धेरै किसिमका अन्धविश्वास अहिले पनि ब्याप्त छन् । यसले गर्दा यहाँका धेरै महिलाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या भोग्नु परेको छ ।

सुदूरपश्चिममा बालकैमा बिहे गरिदिने चलन बढी छ । २०६८ को जनगणनाका अनुसार यहाँका ४८ प्रतिशत मानिसको बिबाह बालकैमा गरिदिइन्छ । केही ठाउँमा त बालबिबाह योभन्दा बढी हुनेगर्छ । बालिका दुलही होइनन नामक सञ्जालले बैतडीका ५ वटा गाविसमा गरेको सर्वेक्षणले यहाँ हुने ५९ प्रतिशत मानिसको बिहे बालकैमा हुने गरेको देखाएको छ । यसरी बालबिबाह हुँदा महिलाले धेरै समस्या भोग्नुपर्छ ।

भद्रपुर गाविस की सावित्री पन्त १९ बर्षकी भइन् । उनको २ वर्षको बच्चा छ । जन्मदा बच्चा स्वस्थ भएपनि ४ महिनापछि कुपोषण देखियो । “सुकेनास लागेको भनेर झारफुक पनि गर्‍यौँ । डाक्टरले आमाको दुध पर्याप्त नभएर तौल नबढेको बतायो,” उनले भनिन् । दुई वर्ष हुँदापनि बच्चाको तौल हुनुपर्ने भन्दा कम छ ।

उपक्षेत्रीय अस्पताल डडेल्धुराका डा. सन्तोषकुमार गुप्ताका अनुसार पहाडी जिल्लाका आमा र बच्चामा कुपोषणको समस्या बढी देखिएको छ । आमामा सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघर खस्ने समस्या छन् भने बच्चाको तौल नबढ्ने समस्या बढी देखिएको छ । गुप्ताका अनुसार, कलिलैमा बच्चा जन्माउँदा, जन्मान्तर कम हुँदा, पोषणयुक्त खानेकुरा नखाँदाा यस्तो समस्या हुन्छ ।

बालकैमा बच्चा जन्माउँदा बच्चालाई आमाको दुधले पुग्दैन । त्यसमाथि सुत्केरी हुँदा माछामासु खानुहुँदैन, दही–फलफूलले चिसो लाग्छ, हरियो साग खानुहुँदैन भन्ने अन्धविश्वास अझै रहेको स्वास्थ्य स्वयंसेविका माया भट्ट बताउँछिन ।

सुदूरपश्चिमका महिलामा पाठेघर खस्ने समस्या चर्काे छ । महिलाले कम उमेरमै बढी बच्चा पाउने, जन्मान्तर कम राख्ने, भारी बोक्ने  गरेकाले पाठेघर खस्ने समस्या विकराल भएको क्षेत्रीय स्वास्थ्य निर्देशक परशुराम श्रेष्ठ बताउँछन । अझै कलिलै उमेरमा पाठेघर खस्ने समस्या बढेको छ ।

बैतडी विशालपुरकी सुमित्रा विष्टले २७ वर्षको उमेरमै पाठेघरको शल्यक्रिया गराउनुपर्‍यो । पाँचवर्ष पहिलेदेखि उनले यो समस्या भोगेकी थिइन् । बेलैमा उपचार नगराएकाले उनको शल्यक्रिया गर्नुर्‍यो ।

कम उमेरमा हुने विवाहलाई रोक्न सकेमा महिला स्वास्थ्यमा सुधार आउँछ, क्षेत्रीय स्वास्थ्य निर्देशक श्रेष्ठ भन्छन् ।सुदूरपश्चिममा जरो गाडेर रहेको छाउपडी प्रथाले पनि महिला स्वास्थ्यलाई जटिल बनाएको छ । महिनावारीभएको समयमा ४ दिन सम्म नुहाँउन नपाईने, पोषणयुक्त खानेकुरा नदिईने, घरबाट टाढा फोहर ठाउँमा  बस्नुपर्नेलगायतका सामाजिक अन्धविश्वासले गर्दा पनि स्वास्थ्यमा समस्या थपेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक बन्दना भट्ट बताउँछिन । छुट्टै बस्नुपर्ने (छाउपडी गोठ, घरको तल्लो तलाको अलग्गै कोठा) कारणले महिलाहरू असुरक्षित पनि रहन्छन् । बलात्कृत हुने, किराले  टोक्ने समस्या  आउने गरेको पनि बेलावखत सुनिने गरेको छ । अझै सुत्केरी हुँदा ११ दिनसम्म नुहाउन दिईदैन, महिनावारी भएको समयमा दुधदही खान दिईदैन ।

स्वास्थ्य निर्देशक बन्दना भट्टका अनुसार सुदूरपश्चिमका महिलामाथि पारिवारिक र सामाजिक दवाव छन । ‘छोरा पाउनकै लागि धेरै छोरी पाउने र जन्मान्तर कम राख्ने, असुरक्षित र महिलाले नचाँहदा नँचाहँदै पनि गर्भपतन गराउन  बाध्य छन् । यसले मानसिक रोगी हुने डर धेरै हुन्छ’  उनी भन्छिन् ।

उपक्षेत्रीय अस्पतालका डा गुप्ता भन्छन, ‘कम उमेरमै गर्भवती वा आमा बन्दा मानसिक र शारिरीक पीडा बढ्ने र कलिलो उमेरका महिलाले त्यो तनाव सहन नसक्ने भएकाले पछि गएर मानसिक रोगी हुने सम्भावना धेरै हुन्छ ।’

यहाँका स्वास्थ्य संस्थाहरूमा दक्ष जनशक्ति, भौतिक संरचना कम छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा १३ वटा अस्पताल, ३७४ वटा स्वास्थ्यचौकी र १६ वटा प्राथमिक स्वास्थ्य चौकी छन् । यिनमा २ हजार ६ सय १९ जना स्वास्थ्यकर्मीको दरवन्दीमा २ हजार २ सय ८४ जना काम गरिरहेका छन् । उच्च तहका स्वास्थ्यकर्मीहरूको अभाव बढी छ । उपक्षेत्रीयअस्पताल डडेल्धुरामा २० जना विशेषज्ञको दरवन्दीमा  एकजना पनि विशेषज्ञ छैनन् ।

महाकाली अञ्चल अस्पतालमा १०  जनाको विशेषज्ञको दरवन्दी छ, तर नौ वटा खाली छन् । सेती अञ्चल अस्पतालमा ११ जनाको दरवन्दी भएकोमा ६ वटा दरबन्दी खाली छन् । सुदूरपश्चिममा ३ जना महिला रोग विशेषज्ञ हुनुपर्नेमा एक जना मात्रै रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । एमविविएस डाक्टर ३२ जना हुनुपर्नेमा २१ वटा दरवन्दी खाली छन् । हेल्थ असिस्टेन्टका ३७ वटा दरवन्दी खाली छन् ।  स्टाफ नर्स ५५ जना हुनु पर्नेमा  ३५ जना मात्र छन् । ३ सय ५६ एएनएमको दरवन्दीमा २ सय ७७ जना मात्रै छन् ।

उपकरणको  पनि अभाव छ ।  भएकै कतिपय उपकरण पनि प्रयोग भएका  छैनन । राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोलीले निरीक्षण गर्दा सुदूरपश्चिमका अस्पतालहरूमा चिकित्सक अभाव रहेको, नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने भनि घोषणा गरेका औषधी जिल्ला अस्पतालमा उपलब्ध नभएको, एक्सरे मेसिनलगायत आवश्यक उपकरण नभएको पाएको थियो ।

यहाँका मानिसमा स्वास्थ्य सेवा लिने वानी पनि कम छ ।   यहाँका आधा महिलाले मात्रै पहिलो पटक गर्भ जाँच गराउँछन । क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दिपायलका अनुसार सुदूरपश्चिममा वर्षेनी ७४ हजार महिला सुत्केरी हुन्छन् तीमध्ये ४० हजारले मात्रै सुत्केरी हुन स्वास्थ्य संस्थाको सेवा लिन्छन् । बाँकीले घरमै बच्चा जन्माउँछन । यसो गर्दा आमा र बच्चाको ज्यान जोखिममा पर्छ । सुत्केरी जाँच गराउने चलन पनि कम छ । सुत्केरी हुँदा ज्यान गुमाउने मध्ये ७० प्रतिशत को मृत्यु बच्चा जन्माई सकेपछि हुन्छ, । तर सुत्केरी जाँच निकै कम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन ।

गलत परम्परा, मान्यता, सन्तुलित आहारको कमी, सुत्केरी र गर्भवती जाँचको समस्यालगायत विभिन्न कारणले महिला स्वास्थ्यमा गम्भीर असर पारिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

पाठेघर खस्ने, फिस्टुला (असुरक्षित रुपमा बच्चा जन्माउदा पिसाव थैली फुट्नु), सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनाबारी भएका बेला  असामान्य रुपमा धेरै रगत बग्ने समस्या सुदूरपश्चिमका महिलाले बेहोरिरहेका  प्रमुख समस्या हुन् । उनीहरू यस्ता समस्या पुरुष  स्वाथ्यकर्मी लाई खुलेर बताउँन सक्दैनन् ।  महिला स्वास्थ्यकर्मी तथा विशेषज्ञ साह्रैँ थोरै छन् । सामाजिक अपहेलनाको डर र लोकलाजले गर्दा उनीहरू यस्ता समस्या लुकाएर बस्छन् ।  स्वास्थ्यकर्मीहरूका अनुसार, यसो गर्दा गएर पछि ठूलो समस्या आउँछ ।
सुत्केरी नतंग्रिदै  भारी बोक्ने सरसफाईमा ध्यान नदिने चलनले पनि स्वास्थ्य समस्या थपिएका छन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुभवमा हाल आएर  सुदूरपश्चिमको स्वास्थ्य अवस्था केही सुध्रिएको छ । सुदूरपश्चिमको नौवटै जिल्लामा स्वास्थ्यसम्बन्धी चेतना बढाउने कार्यक्रम गरिएका छन् । “अनमी र स्टाफ नर्स गाँउगाउँमा पुगेका छन् ।  सबै स्वास्थ्य संस्थामा सुत्केरी गराउने सुविधा राख्ने प्रयास भईराखेको छ । जिल्ला अस्पतालमा पनि अपरेशन गर्न सक्ने  डाक्टर बसेका छन,’ जनस्वास्थ्य अधिकृत बन्दना भट्ट भन्छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: