नरेन्द्रसिह कार्की
दार्चुला। चैत १८ गतेबाट सञ्चालन हुने यस वर्षको एसएलसी परीक्षामा दार्चुलाबाट सहभागी विद्यार्थीमध्ये १ सय ९ जना विद्यार्थी परीक्षा दिन नपाउने भएका छन्। जसमा ५५ छात्रा र ५४ छात्र रहेका छन्।
परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनुपर्ने प्रावधान अनुसार ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक एवं परीक्षाफाट इन्चार्ज जयदेव महराले बताउनुभयो।
एसएलसी परीक्षाका लागि दार्चुलाका ७१ वटा माध्यमिक विद्यालयबाट आवेदन भरेका एक सय ९ जना विद्यार्थी हाजिरी नपुगेका, विद्यालय छाडेका कारण परीक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ। यस वर्ष नियमिततर्फ २ हजार ६ सय ९० जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन्। यस्तै आंशिकतर्फ १ हजार ७ सय ५६ विद्यार्थी सहभागि हुने महराले बताउनुभयो। यस वर्ष जिल्लामा १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
यसैगरी परीक्षाको लागि नमूना उमावि खलंगा केन्द्रमा ३ सय २० नियमित र आंशिकतर्फ १ सय ९६ गरी ५ सय १६ जना विद्यार्थी परीक्षामा सहभागि हुने भएका छन्। यसैगरी दोस्रो बढि विद्यार्थी सहभागि हुने परीक्षा केन्द्र गोकुलेश्वर उमावि गोकुले रहेको छ। गोकुलेश्वरमा नियमिततर्फ २ सय ५५ र आंशिकतर्फ २ सय २४ जना गरी ४ सय ७९ जना विद्यार्थी सहभागी हुँदैछन्।
जिल्लाको सबै भन्दा कम विद्यार्थी मावि बारबाजमा नियमिततर्फ ७८ र आंशिकतर्फ ७८ गरी १ सय ५६ विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ।
Comment Here!