बेलिना थापा
लमजुङ । लमजुङबाट प्रवेशिका परिक्षामा सहभागी हुने किशोरीलाई महिनावारी भएमा सहज होस् भनेर सेनेटरी प्याड उपलब्ध गराइको छ । संचारिका समूह लमजुङको सक्रियता र जिल्ला शिक्षा कार्यालय लमजुङको सहयोगमा प्रवेशिका परिक्षामा सहभागी लमजुङका १ हजार ६ सय ४२ किशोरीलाई परिक्षाका समयमा महिनावारी भएमा सेनेटरी प्याड उपलब्ध गराइने छ ।
लमजुङ जिल्लामै पहिलो पटक यस्तो काम सुरु गरिएको हो । जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले सेनेटरी प्याड उपलब्ध गराउँदा छात्रालाई मानसिक तनाव झेल्नु नपर्ने भएकाले सो कार्य सुरु गरेको बताउनुभयो । साथै नेपालले लमजुङका १८ वटै केन्द्रमा सेनेटरी प्याड पठाइसकिएको जानकारी दिनुभयो ।
‘परिक्षा दिन किशोरी टाढा टाढाबाट परिक्षा दिन आउँछन् । कपडाको व्यवस्था गरेका हुँदैनन् । खल्तीमा पैसा पनि हुँदैन । त्यसैले किशोरीको आवश्यकतालाई मध्यनजर गरी प्याडको व्यवस्था गर्न जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेका हौं’ संचारिका समूह लमजुङका सचिव शान्ता कमलीले बताउनुभयो ।
महिला शिक्षकमार्फत विद्यार्थीको हातमा पुग्ने गरी प्रत्येक केन्द्रमा प्याड पठाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साथै जिल्लामा ३३ प्रतिशत महिला केन्द्राध्यक्षको व्यवस्था गरिएको छ ।
Comment Here!