महिला खबर
धरान। सांकेतिक भाषाको ब्रेललिपिमा लेखिएको पाठ्यक्रम पढेका दृष्टिविहीन विद्यार्थी विहीबारदेखि सुरु भएको एसएलसी परीक्षामा भने सहयोगी राख्न बाध्य भएका छन्। धरानको पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयबाट यसपटक एक छात्रसहित ६ जना छात्रा एसएलसी परीक्षामा सहभागी भए।
उनीहरू वर्षभरी सांकेतिक भाषा अन्तर्गतको ब्रेललिपिमा लेखिएको कक्षा १० को पाठ्यक्रम पढेर परीक्षाको तयारी गर्दैआएपनि प्रत्येक वर्षको एसएलसीमा एसएलसी श्रोत केन्द्रले दिएको निर्देशन अनुसार विद्यालयले व्यवस्था गरिदिएको कक्षा आठ पढ्ने विद्यार्थीको सहयोगमा परीक्षा दिन बाध्य छन्।
नेपालको एकमात्र विशेष शिक्षा अन्तर्गत ब्रेललिपिमा पठनपाठन हुने पुर्वाञ्चल ज्ञान चक्षुका विद्यार्थीले पहिलो दिनको अंग्रेजी विषयको परीक्षा ल्यावरोटरी विद्यालयबाट दिएका थिए। एसएलसी दिने दृष्टिविहीन विद्यार्थीले प्रत्येक वर्ष परीक्षा आउनु अघि ब्रेललिपिमा आफैँले लेख्न पाउनु पर्ने माग गर्दै आएपनि परीक्षा नियन्त्रण कार्यालयले उनीहरूका माग वेवास्ता गर्दै आएको छ।
उनीहरूलाई सुविधाको नाममा आधा घण्टा थप समय र कक्षा आठ पढेका सहयोगी विद्यार्थीमात्र उपलव्ध गराउने गरिएको छ। १० वर्षसम्म ब्रेलको पाठ्यक्रम पढेर सोही लिपिमा आफैँले लेख्न नपाउँदा जहिले पनि मारमा पर्ने गरेको मोरङ अमरदहकी विनिता सत्तारले बताइन्।
पाँचथर फिदिमकी भावना घिमिरे, रामेछापकी संगिता घिमिरे, इलामकी अनिषा घिमिरे, सुनसरी छिटाहाकी सरिताकुमारी साहले ब्रेललिपिमा लेख्न पाउनु पर्ने माग गरेको पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका निमित्त प्रधानध्यापक संजीव प्रधानले बताए।
आफू भन्दा तल्लो तहका विद्यार्थीलाई भनेर उसले सुनेको भरमा लेखाउँदा कतिपय उत्तरको शव्द गलत हुने भएकाले पनि परिणाम राम्रो नआउने समस्या रहेको उनीहरूले बताए।
Comment Here!