महिला खबर
काठमाडौं । सञ्चारिका समूहले सञ्चालन गरेको चार महिने पत्रकार प्रशिक्षण तालिम आज सकिएको छ । सञ्चारिका समूहले आयोजना गरेको समापन कार्यक्रममा सहभागी सम्पादकहरूले क्षमता बढाउन आफ्नो दायरा पनि फराकिलो बनाउनुपर्ने सुझाव दिए । उनीहरूले तालिमसँगै अध्ययन र जनसम्पर्क पत्रकारका लागि अति आवश्यक भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै नागरिक दैनिकका सम्पादन गुणराज लुईटेलले प्रशिक्षण कार्यक्रमले महिला पत्रकारको क्षमता अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । समाचार आफ्नो वरिपरी हुने भएकाले समाचार खोज्ने आफ्नो दृष्टिकोणको विकास गर्न सम्पादक लुईटेलले सुझाव दिनुभयो ।
त्यस्तै हिमाल खवरपत्रिकाका सम्पादक किरण नेपालले तालिम सँगसँगै आफ्नो क्षमता अभिवृद्धि गर्नका लागि समसामयिक पुस्तक पढ्दै बौद्धिक व्यक्तित्वसँगको भेटघाटलाई बढाउन महिला पत्रकारलाई सुझाव दिनुभयो ।
राजधानी दैनिकका सहायक सम्पादक गणेश बस्नेतले मोफसलमा बसेर काम गरेका महिला पत्रकारलाई काठमाडौंका मुलधारका पत्रिकामा अवसर दिँदा उनीहरूको क्षमता वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मंसिर १५ देखि सुरू भएको कार्यक्रम आज समापन भएको हो । चार महिने प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाको पाँच जना महिला पत्रकार सहभागी थिए । मोफसलमा बसेर काम गर्ने महिला पत्रकारलाई मुलधारका सञ्चारमाध्यममा काम गराई उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । काठमाडौंबाट प्रकाशित हुने मुलधारका पत्रिकाहरू कान्तिपुर, नागरिक, राजधानी र नयाँ पत्रिका दैनिकका साथै हिमाल खवरपत्रिका र महिला खवर डटकममा रहेर पत्रकार महिलाले पत्रकारिताको अभ्यास गरेका छन् ।
समापन कार्यक्रममा नयाँ पत्रिका दैनिकका समाचार प्रमुख खगेन्द्र पन्त र वरिष्ठ पत्रकार तथा प्रशिक्षक मोहन मैनालीलगायतका व्यक्तिहरू बोल्नु भएको थियो । सञ्चारिका समूहले तीन चरणमा गरेर अहिलेसम्म १५ जना पत्रकार महिलालाई यस्तै प्रशिक्षणको अवसर दिएको छ ।
Comment Here!