महिला खबर
काठमाडौं। आजदेखि काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ। महिला उद्यमीहरूद्वारा उत्पादित बस्तुहरूको अन्तर्राष्ट्रिय प्रर्दशनी नेपालमा पहिलो पटक आयोजना गरिएको हो। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको यो मेलाको राष्ट्रपति बिद्या भण्डारीले उद्घाटन गर्नुभयो।
नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकाश तथा निर्यात व्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक महिला उद्यमी महासंघले जनाएको छ। ३ दिनसम्म चल्ने व्यापार मेलामा नेपालका साना तथा मझौला महिला उद्यमी,महिला निकायकर्ताका साथै अन्तराष्ट्रिय मुलुकका उद्यमी महिलाको समेत सहभागिता छ।
महिला उद्यमी महासंघ नेपाल, वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार निर्यात प्रबर्द्धन केन्द्रको संयोजन र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)को सहयोगमा मेला आयोजना गरिएको हो।
अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा थान्का बुनाई , रत्न पत्थर कटाइ , हस्तकला ,पहिरनका सामानहरू , कृषि उत्पादन , जैविक उत्पादन र सूचना प्रविधिसम्बन्धि लगायत सामग्रीका ७० वटा स्टल राखिएको छ।
मेलाले महिला उद्यमीको श्रम र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उनीहरूको पहिचान बनाउन सघाउ पुर्याउनुका साथै अगाडि बढ्न प्रोत्साहित गर्ने विश्वास आयोजकको रहेको छ। मेलामा सार्क राष्ट्र , जापान र युरोपलगायतबाट ५० जना भन्दा बढी विदेशी आयातकर्ता सहभागी छन्। करीव १ लाखले अवलोकन गर्ने अनुमान गरिएका मेलामा कुल कारोवार ५ करोड भन्दा बढी हुने अपेक्षा आयोजकको छ ।
Comment Here!